post-slider post-slider

आँखामा लाग्ने जलविन्दुको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव

Image

चितवन। आँखामा लाग्ने जलबिन्दु (ग्लुकोमा) रोगको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन्। रोग लागेपछि जीवनभर औषधि उपचारमा लाग्नुपर्ने भएकाले समयसमयमा परीक्षण गरिरहनुपर्ने उनीहरुको भनाइ थियो।

यस रोगलाई प्रायः ‘दृश्यको मौन चोर’ भनिन्छ। जलबिन्दुले लक्षण नै नदेखाइ विस्तारै छेउ छेउबाट दृष्टि बिगार्दै जान्छ। अन्तिम अवस्थामा पुगेपछि त्यसलाई निको बनाउन सकिँदैन। भरतपुर आँखा अस्पतालमा शनिबार आयोजना गरिएको जलबिन्दुसम्बन्धी जनचेतनामूलक कार्यक्रममा चिकित्सकले जलबिन्दु रोगको नियमित परीक्षण गर्न सुझाव दिएका थिए।

उक्त अस्पतालका जलबिन्दु विभाग प्रमुख डा रञ्जित साहले जलबिन्दुको उपचार औषधि, लेजर प्रविधि र शल्यक्रियामार्फत गर्न सकिने जानकारी दिए।

शल्यक्रिया अन्तिम विकल्प रहे पनि जीवनभरको लागि नहुने उल्लेख गर्दै प्रमुख साहले भने, “शल्यक्रिया गरे पनि कुनै समयमा पुगेर पुनः काम नगर्न सक्छ। आधुनिक लेजर प्रविधि जलबिन्दुको अवस्था हेरेर अपनाउन सकिन्छ, लेजर र शल्यक्रिया गरेपनि बिरामी नियमित परीक्षणमा आउनुपर्छ। उनले थपे, “शल्यक्रिया वा लेजर गरेको छ भनेर ढुक्कसँग बस्नु हुँदैन, समयसमयमा परीक्षण गराइरहनु पर्दछ।”

जलबिन्दु लागिसकेपछि सबैभन्दा पहिलो उपचार औषधि भएको र यो रोग लागेपछि जीवनभर नियमित औषधि प्रयोग गर्नुपर्छ। अर्का डा. सन्तोषकुमार साहले आँखामा उच्च रक्तचापका कारण जलबिन्दु रोग हुने गरेको बताए। उनका अनुसार जलबिन्दु चार प्रकारका (‘प्राइमरी ओपन–एङ्गल ग्लुकोमा’, ‘एङ्गल क्लोजर–ग्लुकोमा’, ‘नर्मल–टेन्सन ग्लुकोमा’ र ‘सेकेन्डरी ग्लुकोमा’) हुन्छन्।

भर्खरै जन्मेको नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई जलबिन्दु लाग्ने भएकाले स्क्रिनिङ गरेर नै रोग पत्ता लगाउनुपर्नेमा डा. साहले जोड दिए। आँखाको दृष्टि नसाको परीक्षण गरेर यो रोगको पहिचान गर्न सकिने उनको भनाइ थियो।

जलबिन्दु वंशजका आधारमा पनि हुने हुने भएकाले परिवारमा कसैलाई यस्तो रोग लागेमा अन्य सदस्यले पनि परीक्षण गराइ हाल्नुपर्नेमा उनले सुझाव थियो।  मधुमेह, उच्च रक्तचाप, मुटुको रोग र मोतियाविन्दु भएकालाई पनि जलबिन्दु हुनसक्ने डा साहले बताए

डा. सिर्जना पराजुली, डा. प्राची दुलाल, डा. मनिषा थापा, वरिष्ठ नेत्र सहायक विनिता सापकोटाले जलबिन्दुको प्रारम्भिक पहिचान, लक्षण, रोकथाम र उपचार पद्धतिका बारेमा जानकारी गराएको थियो। जलबिन्दु  भएपछि आँखाको छेउ छेउबाट दृष्टि गुम्दै जान्छ, अन्तिममा आँखाको बीचमा क्षति पु¥याउँने, हुँदा प्रत्येक छ÷छ महिनामा आँखा परीक्षण गरेर रोग पहिचान गर्न सकिने उनीहरुको भनाइ थियो। जलबिन्दुका बिरामीले मानसिक तनाव नलिन र नियमित चस्मा प्रयोग गर्न पनि त्यसबखत सुझाव दिइएको थियो। 

रासस

Tags: