कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगमा आएनन्
काठमाडौं । कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले कोरोना भाइरसका बिरामी नभएकाले ती स्वास्थ्यका उपकरण थन्किएको बताए ।
‘अहिले कोरोना भाइरसको सङ्क्रमण छैन । त्यतिबेला दातृ निकायले नेपालका लागि कोरोना भाइरसको रोकथाम र उपचारका लागि स्वास्थ्यका उपचरण दिएका थिए,’ उनले भने, ‘अहिले बिरामी नभएर र भौतिक संरचनाको नभएकाले उपकरण त्यत्तिकै थन्किएका छन् ।’ उनका अनुसार कोरोना महामारीका बेला कतिपय उपकरणले दातृ निकायले माग नै नगरीकन उपलब्ध गराएका थिए ।
महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार दुई सय १८ वटा स्वास्थ्य उपकरण प्रयोगविहीन रहेको बताए । उनका अनुसार अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आइसीयु), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेस्थेसिया वर्क स्टेशन प्रयोग नै नभई थन्किएका छन् ।
कोरोना महामारीका बेला विभिन्न दातृ निकायले एक हजार चार सय ४५ स्वास्थ्यका उपकरण उपलब्ध गराएका थिए । महाशाखाका निर्देशक डा.शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताए । प्रयोग नै नभई थन्किएका उपकरणलाई अयन्त्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ ।
रासस