post-slider post-slider

मस्तिष्कघात भएर अपाङ्गता भएका बालबालिकालाई स्रोत कक्षा

Image

चितवन। भरतपुर महानगरपालिकाले मस्तिष्क घात भएर हिँडडुल गर्न र बोल्न नसक्ने बालबालिकाका लागि स्रोत कक्षाको सुरुवात गरेको छ।

भरतपुर–२६ दिव्य नगरमा रहेको आदर्श माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा उक्त स्रोत कक्षाको आइतबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। सो अवसरमा प्रमुख दाहालले महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पुर्‍याउन ‘अटिज्म’ विद्यालय स्थापना गरेको बताइन्।

उनका अनुसार आर्दश माविकै क्षेत्रमा रहेको भवनलाई रङरोगन गरी अन्य मस्तिष्क घात भएर अपाङ्गता भएका बालबालिकाका लागि स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो। विद्यालयमा निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकारलाई मध्यनजर गर्दै महानगरले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन लक्ष्य लिएको जनाउँदै उनले भनिन्, “यो स्रोत केन्द्रलाई आवश्यक पर्ने थप स्रोतसाधन महानगरपालिकाले आगामी दिनमा उपलब्ध गराउँदै जान्छ।”

शैक्षिक क्षेत्रमा विकास गरेकै कारण पाँच वर्षअघि विद्यार्थीको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको आदर्श माविमा अहिले विद्यार्थीको सङ्ख्या बढेर सात सयको हाराहारीमा पुगेको छ। त्यस कारण आज यस विद्यालयमा आउँदा आफूलाई विश्वविद्यालय वा क्याम्पसमै आएको सरह अनुभूति हुने उनले बताइन्।

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलले संविधानले प्रत्याभूत गरेको अपाङ्गता भएका बालबालिकाको उचित शिक्षा प्राप्त गर्ने अधिकारलाई सम्मान गर्दै महानगरले सबै बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न प्रयत्न गर्दै आएको बताए।

विगत दुई वर्षदेखि अभिभावककै पहलमा सो विद्यालय सञ्चालन हुँदै आएको जानकारी दिए। उनले विगत दुई वर्षदेखि पीडित अभिभावककै पहलमा सञ्चालन हुँदै आएको मस्तिष्क पक्षघात स्रोत कक्षाका बारेमा महानगरपालिकालाई थाहा भए पश्चात महानगरले आदर्श विद्यालयको सूचना केन्द्र रहेको उक्त भवनमा रङ्ग रोगन गरी आवश्यक पर्ने पूर्वाधार, कक्षाकोठा, शौचालय व्यवस्थापन गरेर स्रोत कक्षा सञ्चालनमा आएको पौडेलले बताए।

उनले यस स्रोत कक्षामा विशेष प्रकारको थेरापी गराउने बताए। उनले भने, “कठिन अवस्था भएको मस्तिष्क घात भएका बालबालिकालाई विशेष प्रकारको थेरापी गराउँदै दैनिक क्रियाकलापका बारेमा सिकाउँदै जानेछौँ।” मस्तिष्क घातका लागि अभिभावक स्वावलम्बन समूह भरतपुर–२६ का अध्यक्ष लक्ष्मी कान्त घिमिरेले स्रोत कक्षामा १० जना अटिजम भएका बालबालिका रहेको बताए। उनले महानगरभित्र ६५ जना मस्तिष्क पक्षघात भएका बालबालिका रहेको जानकारी दिए।

स्रोत केन्द्रकी स्रोत शिक्षिका हरिकला भुसालले आफू पनि एक पक्षघात बच्चाको अभिभावक भएकाले बच्चाको हेरचाहबारे जानकारी लिन देशका विभिन्न ठाउँमा यससम्बन्धी कार्यक्रममा सहभागी भएको बताइन्।

उनका अनुसार यस केन्द्रमा बच्चाको क्षमता अनुसार उनीहरुलाई दैनिक क्रियाकलाप गर्न लगाइन्छ। साथै पढ्न चाहने बच्चालाई पनि उनीहरुको बौद्धिक क्षमताका आधारमा गीतबाट पढ्न सिकाइन्छ। आफूहरुको लक्ष्य चितवनलगायत सबै क्षेत्रका बालबालिकालाई समेट्ने भए पनि यातायातको व्यवस्था नहुँदा निकै कठिन भएको भुसालले गुनासो गरिन्। यसअघि भरतपुर–१० बालमन्दिर रोडमा अटिजम विद्यालय सञ्चालनमा ल्याइएको थियो। 

रासस

Tags: