post-slider post-slider

सुत्केरीलाई पोषण र मृतकका परिवारलाई दाहसंस्कार खर्च

Image

इलाम। इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ।

सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रमअन्तर्गत गत आव २०७९÷८० मा नगरभित्रका तीन सय १२ जना सुत्केरीलाई रू पाँच हजारका दरले रू १५ लाख ६० हजार पोषण भत्ता वितरण गरिएको नगरपालिकाका लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए। उनका अनुसार चालु आवको पहिलो त्रैमासिकमा मात्र एक सय १० जना सुत्केरीले पोषण भत्ता लिएका छन्। 

पहिलो त्रैमासिकमा सुत्केरीले पोषण भत्ता बापत रू पाँच लाख ५० हजार खर्च भएको येक्तेनले जानकारी दिनुभयो। “पोषण भत्ता पाउनका लागि नगरभित्र स्थायी बसोबास भएका, कुनै पनि स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गरेका र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गरेको हुनुपर्ने छ”, उनले भने।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रका आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिका साथै आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए। “सुत्केरी आमा र नवजात बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवासम्बन्धी सकरात्मक सन्देश प्रवाह गर्नका लागि उक्त कार्यक्रम लागू गरिएको हो”, उनले भने।

सुत्केरी पोषण भत्ता एक महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने नगरप्रमुख पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाले चालु आवमा यस कार्यक्रमका लागि रू २० लाख विनियोजन गरेको छ।

त्यस्तै, पालिकाले कुनै पनि कारणबाट मृत्यु भएका मृतकका परिवारलाई दाहसंस्कार खर्चबापत रू पाँच हजार उपलब्ध गराउँदै आएको छ। दाहसंस्कार खर्च वितरणसम्बन्धी कार्यविधि पारित गरी मृतकका परिवारलाई दाहसंस्कार खर्च वितरण गर्दै आएको नगरप्रमुख पोख्रेलले बताए। उनका अनुसार गत आवमा नगरभित्रका एक सय ९० जना मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराइएको छ। 

दाहसंस्कार बापत गत वर्ष रू नौ लाख ५० हजार खर्च भएको लेखा अधिकृत येक्तेनले जानकारी दिनुभयो। उहाँका अनुसार दाहसंस्कार खर्च लिनका लागि मृतक नगरभित्र स्थायी बसोबासी भएको र ३५ दिनभित्र वडा कार्यालयमा मृत्यु दर्ता गरी प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको छ। 

चालु आवको पहिलो त्रैमासिकमा ८९ जना मृतकका परिवारले दाहसंस्कार खर्चबापत रू चार लाख ४५ हजार वितरण गरिएको येक्तेनले बताए। उनका अनुसार चालु आवमा दाहसंस्कार खर्चका लागि रू २० लाख विनियोजन गरिएको छ।

नगरपालिकाले ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई मासिक रू पाँच सयका दरले भत्ता उपलब्ध गराउँदै आएको छ। गत आवमा ८१ जना ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई रू पाँच हजारका दरले रू चार लाख ४६ हजार वितरण गरिएको नगर कार्यालयले जनाएको छ। चालु आवमा भने १० जना थपिएका छन्। नगरपालिकाले चालु आवमा ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई भत्ताका लागि रू पाँच लाख विनियोजन गरेको छ। 

रासस

Tags: