post-slider post-slider

डेंगु संक्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ सञ्चालन गर्न अस्पताललाई निर्देशन

Image

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगुको संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगु संक्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ। 

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेंगुका संक्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन्। 

उनले अस्पतालमा डेंगु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङ का लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताए। उनका अनुसार डेंगु संक्रमण अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा देखिएको छ। यस्तै संक्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको संक्रमणको कारणले निधन भइसकेको छ। 

सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार चार सय ९५ जनामा संक्रमण देखिएको छ। सुनसरी जिल्लामा मात्र कूल संक्रमितको ५२ दशमलव दुई प्रतिशत रहेका छन्। महाशाखाका निर्देशक डा मरासिनीले डेंगु रोगको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएका छन्।

‘दैनिक डेंगु संक्रमण बढिरहेको छ। सङ्घ अन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेंगु रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न निर्देशन दिएका छौं’, उनले भने। 

डेंगु रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेंगु रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना अुनसार कार्य गर्न र डेंगु रोगको निदानका लागि आवश्यक किटको सुनिश्चित समेत गर्न अस्पताललाई भनिएको छ।

महाशाखाले अहिलेको अवस्थामा डेंगु संक्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि संक्रमण ह्वात्तै बढिरहेको बताए। 

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ।

रासस

Tags: