post-slider post-slider

 दाँतमा पिलो (डेन्टल एब्सेस) आए के गर्ने? 

Image

काठमाडौं ।  शरीरका अन्य भागमा पिलो भए झैं गरेर दाँतको जराको वरिपरि सुन्निने र पीप भरिने समस्यालाई दाँतको पिलोका नाउँ ले जानिन्छ । यसलाई अंग्रेजीमा डेन्टल एब्सेस भन्ने गरिन्छ । दाँतको कापमा अड्केका फोहर पदार्थ राम्ररी सफा गरिएन भने ती त्यहीं कुहुने र हानिकारक ब्याक्टेरियाको बासस्थान का रुपमा विकसित हुने सम्भावना हुन्छ । तिनै ब्याक्टेरिया ले दाँत को गिजा मा क्षति पुर्याएर घाउ बनाउँछन् । त्यो घाउ दाँत मा कीरा लाग्दा झैं नै असाध्यै दुख्ने र टन्कने गर्दछ ।

यसरी बन्ने दाँतको पिलो तीन प्रकारका जिन्जिभल, पेरियोडोन्टल र पेरिएपिकल हुन्छ। दाँत कीराले खाए पछि असह्य पीडा हुने कारण नै दाँतमा हुने पिलो हो ।

लक्षण

पिलो भएको ठाउँमा दुख्नु र सुन्निनु ।

चिसो खाँदा दुख्नु तथा तातो खाँदा पोल्ने हुनु ।

खाएको कुराको स्वाद अलग लाग्नु ।

ज्वरो आउनु ।

अस्वस्थता को महसुस भइरहनु ।

खानेकुरा निल्न गाह्रो हुनु ।

दाँत दुखेर खप्ने नसक्ने अवस्था आउनु ।

सुन्निएका ठाउँ बाट पानी, पीप आदि बग्नु ।

मुख तमतमाइलो हुनु ।

निद्रा नलाग्नु ।
 

प्रकार र कारण

दाँत को पिलो तीन प्रकार का हुन्छन् । 

जिन्जिभल एब्सेस 

यो खालि गिजा  मा सम्बन्धित हुन्छ ।  यसले दाँत सँग सम्बन्धित लिगामेन्ट (तन्तु( लाई क्षति पुर्याएको हुँदैन ।

पेरियोडोन्टल एब्सेस 

दाँतलाई सहारा दिएको मांसपेशी तथा लिगामेन्टसँग सम्बन्धित हुन्छ । दाँतमा अड्केका फोहोर मा कीटाणुहरू जम्मा हुन थाले पछि गिजा भित्र रहेको दाँत दाँत का बीच रहेको पेरियोडोन्टल तन्तु मा क्षति पुर्‍याउँछ ।

पेरिएपिकल एब्सेस 

दाँत भित्र रहेको नरम पल्प लाई क्षति पुर्‍याउँछ । दाँतलाई कीराले खाएर भएको क्षतिसँगै बनेको मसिनो छिद्रको बाटो भएर ब्याक्टेरिया दाँतको पल्प सम्म प्रविष्ट हुन्छ । पल्पमा भएको एस किसिमको संक्रमणलाई डाक्टरी भाषामा पल्पाइटिस भनिन्छ ।
 

रोगको निदान

दाँत दुख्नुसँगै गिजा सुन्निएको महसुस हुनासाथ दाँतको डाक्टरलाई देखाउनुपर्छ । डाक्टरले मुख भित्रको घाउको अवस्था र बिरामी का लक्षण सुनेर कुन प्रकारको दाँतको पिलो हो भन्ने तय गर्न सक्छन् । दाँत कीराले खाए नखाएको पनि हेर्नुपर्ने हुन्छ । आवश्यक परे दाँत को एक्स रे गर्न सक्छन् । दाँत को पिलो सँगै निल्न समस्या भएका अवस्थामा टन्सिलाइटिस समेत भएको हुन सक्छ । डाक्टरले त्यसको पनि निदान गर्ने छन् ।

 उपचार

शुरुमा डाक्टरले अवस्था हेरेर एन्टिबायोटिक खाने सल्लाह दिने छन् । दाँतमा भएका तीनै किसिमका संक्रमणमा ब्याक्टेरियाको भूमिका महत्त्वपूर्ण हुन्छ ।

जिन्जिभल एब्सेसको उपचार बाँकी दुईको भन्दा सरल हुन्छ । गिजाको वरिपरि कुनै पनि ठाउँ मा यो समस्या देखिन सक्छ । यदि दाँतको पछिल्लो भागमा यो समस्या भएको छ र निकै सुन्निएको अवस्थामा छ भने खानेकुरा निल्न र सास फेर्न समेत अप्ठेरो हुन्छ । जता समस्या भएको भए पनि चाँडो भन्दा चाँडो डाक्टरलाई देखाएर उपचार गर्नुपर्ने हुन्छ । डाक्टर ले स्टेरिलाइज्ड सियोको प्रयोग गरेर भित्र जमेको पीप निकाल्ने छन् । तेसो गर्दा नदुखोस् भन्नका लागि लोकल एनेस्थेसिया को प्रयोग गर्न सक्ने छन्।

पेरिएपिकल एब्सेसको उपचार गर्दा रुट क्यानल प्रविधि को सहारा लिइन्छ । यो समस्यामा दाँत मृत भएको पनि हुन सक्छ । यस्तोमा दाँतको सतह देखि जरा सम्म प्वाल पारेर दाँत भित्र जम्मा भएको पीप तथा फोहर बाहिर निकालिन्छ । क्षतिग्रस्त तन्तुहरूलाई निकालिन्छ । सफा गरिन्छ र प्वाल मा सिमेन्ट भर्ने काम गरिन्छ ।

पेरियोडोन्टल एब्सेस को हकमा पिलोबाट पीप निकालेर सफा गरिन्छ र एन्टिबायोटिक को कोर्स पूरा गर्न लगाइन्छ ।

दाँतको उपचार पछि पनि बिहान बेलुका मनतातो नून पानीले कुल्ला गर्नु आवश्यक हुन्छ ।

कतिपय अवस्था मा बिटा डिन गार्गल को समेत प्रयोग गर्न सकिन्छ ।

निरोगी नेपालको सहयोगमा 

Tags: