post-slider post-slider

‘श्रमिक बराबर पनि मूल्य भएन’

Image

कैलाली । कैलालीका महिला स्वास्थ्य स्वयम् सेविकाले सरकारले आफूहरूको श्रमको मूल्य नबुझेको गुनासो गरेका छन् । रात दिन नभनी स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा समुदायका समस्यामा समाधानका लागि काम गरे पनि सरकारले मूल्याङ्कन नगरेको भन्दै गुनासो गरेका हुन् ।

टीकापुरकी महिला स्वास्थ्य स्वयम् सेविका रामप्यारी चौधरीले विगतमा स्वयम् सेविका हुन हौसिने महिला आजभोलि निराश हुन थालेको बताए । उनले सरकारले स्वयम् सेविकालाई काम थप्दै गएको तर सुविधा नथपेको गुनासो गरिन् । 

‘सामान्य श्रमिकको ज्याला पनि दैनिक रु छ सय छ । हामी दिनभरि काम गरेपछि रु चार सय मात्र पाउँछौँ । आजभोलि नयाँ स्वयम् सेविका बन्न महिलाको रुचि छैन । कैलालीका पढे लेखेका स्वयम् सेविका साथी विदेश जान थालेका छन्’, चौधरीले भनिन्, ‘कैलालीका मात्रै दर्जन बढी स्वयम् सेविका विदेश गएका छन् । त्यही ठाउँमा नयाँ स्वयंसेविका आउँछन् । उनीहरूले राम्रो काम नगरे, अर्को आउँछ यस्तै चलिरहेको छ ।’

सरकारले सामान्य सुविधा दिए पनि स्वयम् सेवामा आकर्षण बढ्ने स्वयम् सेविका बत्ताउँछन् । ‘हामीले गाउँघरमा क्लिनिक, खोप कार्यक्रम, आमा समूहका बैठक तथा वडा र नगरपालिकाका सबै अभियानमा सहयोग गर्नुपर्छ,’ स्वयम् सेविका मुक्तिधरादेवी शर्माले भनिन्, ‘हामीलाई खाजा र पानीसम्मको सुविधा छैन । घरबाट खाएर सेवा दिइरहेका छौँ ।’

स्वयम सेविका रुक्मिणी शर्माले थुप्रै चुनौती पार गर्दै स्वयम् सेविका बनेको भन्दै स्वास्थ्यका कुरा महिलाले महिलासँग बढी गर्ने गरेका बताए । 

आफ्नो काममा सन्दर्भमा परिवारका पुरुषले नबुझि दिँदा समस्या हुने गरेको उनको भनाइ थियो । ‘हामीले महिला र किशोरीलाई स्वास्थ्य र पोषणबारे जनचेतना जगाउने काम गर्छौ,’ रुक्मिणीले भनिन्, ‘हामीले सिकाएको कुरा घरका पुरुषले नबुझिदिँदा महिलाका स्वास्थ्यमा समस्या अझैं देखिन्छन् । शरीर महिलाको छ, बच्चा जन्माउने अधिकार पुरुषको छ । यस्ता समस्या अझैं छन् ।’

स्वयम् सेविका टीकापुरका संयोजक सुला रावल खत्रीले स्वयम् सेविकाले श्रम अनुसारको पारिश्रमिक नपाउँदा घरमा पनि हिंसा भोगिरहेका बताए । ‘पकाउँदा पकाउँदै, बारीमा काम गरिरहेका बेला पनि सामाजिक अभियानमा हिँड्नुपर्छ । फोन आयो, कोही समस्यामा पर्‍यो भने सहयोग गर्न जानुपर्‍यो । यसो गर्दा घर व्यवस्थापन लथालिङ्ग हुन्छ,’ उनले भनिन्, ‘बेलुका रित्तो हात, भोको पेट घर फर्कँदा परिवारबाट कुरा सुन्नुपर्छ ।’ खत्रीले आफूहरूको कामको सरकार, समाज र परिवारले पनि सही मूल्याङ्कन नगरेको गुनासो गरिन् । 

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले टीकापुरमा कार्यरत सम्पूर्ण स्वयम् सेविकाका सेवा सुविधा वृद्धि गर्ने बताए। ‘हामीले सेवा अवधिपछि अवकाश भएर घर जाँदा स्वयम् सेविकालाई बिदाइका बेला ८० हजार दिने गरेका छौँ । यो सुविधा पनि वृद्धि तयारीमा छौँ,’ उनले भनिन्, ‘अन्य सुविधा दिन पनि सकारात्मक छौँ । छलफल गरेर उहाँहरूका माग सम्बोधन गर्ने प्रयासमा छौँ । 

रासस 

Tags: