post-slider post-slider

गर्भवती र सुत्केरलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

Image

काठमाडौं। भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो।  

यो अभियानअन्तर्गत यहाँका सबै ६ वटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्यक रूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने उनले बताए।

‘गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर ‘आफैँ पाल्दै आफैँ खाँदै’कार्यक्रम सञ्चालन भइरहेको छ,’ अध्यक्ष राईले भने, ‘यो कार्यक्रमअन्तर्गत महिलालाई भाले र पोथी कुखुरा वितरण गरेका छौँ। उहाँहरूले आफैँ पालेर खान सक्नुहुनेछ। महिलाको पोषणलाई ध्यानमा राख्दै यो कार्यक्रम सञ्चालन गरेका हौँ।’

यसअघिको सुत्केरीका लागि रहेको रातो भाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०/८१ बाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। गाउँपालिकाभित्र घरमै सुत्केरी हुने चलनलाई शून्यमा झारिएको उनले बताए। नियमित रूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहन गर्दै आएको उनको भनाइ छ।

यो कार्यक्रम अन्तर्गत वर्षमा दुई पटक वितरण गरिने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए। सबै वडामा पहिलो चरण वितरण कामको अन्तिम भएको उपाध्यक्ष राईले जानकारी दिए। यसरी वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने उनको भनाइ छ। ‘सबै वडामा पहिलो चरणको वितरणको काम अन्तिम अवस्थामा पुगेको छ,’ उनले भने, ‘वितरण गरिएको कुखुरा अनिवार्य रूपमा दुई वर्ष पाल्नुपर्ने हुन्छ।’

रासस

Tags: