post-slider post-slider

अस्पतालमा बिरामीहरूको छटपटी

Image

काठमाडौं । ‘हामी भगवान होइनौं केवल इमान्दार प्रयास मात्र गर्न सक्छौ‌’, ‘हिंसा समस्या हो, समाधान होइन’, समृद्धिकोआशै छैन, सुरक्षा त देउ’ भन्दै डाक्टरहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा होमिएका छन्।  

भदौ २७ गते सन्चो अस्पताल हेटौंडाका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनालाई लिएर चिकित्सक संघको आह्वानमा आज स्वास्थ्यकर्मीहरुले देशभरका अस्पतालमा सेवा ठप्प पारेका छन्। 

सरकार र स्वास्थ्यकर्मीबीचको लडाइँमा बिरामी चेपुवामा परेका छन्।  

रोजगारीका लागी विदेशिएका दिपक टण्डन पेट पोल्न थालेपछि काम गर्न नसकेर उपचार गराउन नेपाल फर्के। 

गुल्मीका ३५ वर्षिय टण्डन एक महिनाको छुट्टीमा  दुबईबाट नेपाल फर्किएका हुन्। तर ३५ दिन अस्पताल धाउँदा पनि उनको रोग पत्ता लाग्न सकेको छैन। 

उनी रिर्पोट देखाउन आज बिहान सातबजे वीर अस्पताल आइपुगे। तर, स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सेवा ठप्प गरेका कारण उनले सेवा पाएनन्। 

उनी स्वास्थ्यकर्मी र सरकारबीच वार्ता होला र उपचार पाइएला भन्ने आशामा वीर अस्पतालको टिकट काउण्टरअघि बसेर आन्दोलनरत स्वास्थ्यकर्मीतर्फ आँखा तन्काएर बसिरहेका थिए।

आन्दोलन सकिएर उपचार पाए टन्डन आजै साँझको बसमा गुल्मी फर्किने योजनामा छन्। उनले भने, ‘पाँच बजेसम्म उपचार पाए, बेलुका नौं बजेसम्मको बसमा घर जाने थिए।’

पेट पोल्ने समस्या पहिचान गरेर उपचार गर्न निकै समय लागेको उनले दुखेसो पोखे। ‘हिजो पनि अस्पताल आएँ, शनिबार बन्द रहेछ। आज पनि बन्द भोली पनि तीजको बन्द होला। ३ गते पनि संविधान दिवस भनेर बन्द होला। यहाँ त समस्यै समस्या छ,’ उनी भन्छन्, ‘उपचार नहुँदै छुट्टी सकियो। १५ दिन थप गरेको त्यो अब १० दिन बाँकि छ।’

उनी जस्तै खोटाङकी राधा राई पनि उपचारका लागि वीर अस्पताल आएकी थिइन्। ५५ वर्षीया राईलाई दम देखिएको ५ वर्ष बढि भयो। केहि दिन उनलाई पेट पोल्ने र स्वास प्रश्‍वासमा समस्या देखिएका कारण शनिबार खोटाङबाट काठमाडौं ल्याइएको रहेछ। वीर अस्पताल आइपुग्दा स्वास्थ्यकर्मी आन्दोलनरत देखेर उनको परिवार के गर्ने अलमलमा देखिन्थे। उनीहरु उपचार उपाय खोज्दै यताउता भौँतारिरहेका थिए। 

वीर अस्पतालमा उपचार नपाएर भौतारिइरहेका र उपचार पर्खाइमा रहने यी बिरामी प्रतिनीधि पात्रमात्र हुन्। उनीहरूजस्तै सयौं बिरामीहरु उपचार पाउने आशमा वीर अस्पतालको प्राङगणमा छन्। 

यसरी स्वास्थ्यकर्मीहरु अस्पताल नै बन्द गरेर आन्दोलित हुँदा लाखौं बिरामीलाई मर्कामा परेका छन्।  आन्दोलनका अन्य तरिका वा रचनात्मक ढंगबाट विरोध गनुपर्ने भन्दै स्वास्थ्यकर्मीहरुको पनि आलोचना भइरहेको छ। 

अस्पतालको सेवा नै बन्द गर्नु समस्याको  समाधान हुँदै होइन। डाक्टरमाथि हातपात हुने र स्वास्थ्यकर्मी आन्दोलित हुने यो पहिलो घटना भने होइन्। यो बारम्बार दोहोरिएको घटना हो। अहिले अस्पतालमा आकस्मिक र भर्ना भएका बिरामीको उपचार भइरहेको छ। ओपिडी र प्रशासनिक काम बन्द भएको हो। 

आन्दोलन प्राथामिक उपाय होइन्। तर स्वास्थ्यकर्मीको संगठनले राज्यको उच्चतम निकायसम्म पुग्दा पनि राज्यले ठोस कदम नचालेका कारण यसरी आन्दोलनमा उत्रिनुपरेको वीर अस्पतालका डा।  सुशिल बताउँछन्। 

उनी भन्छन्, ‘अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसक्नु भनेको अपराधिक मानसिकता भएकालाई प्रश्रय दिएको भन्ने बुझिन्छ। यसले भोलिका दिनमा झनै असर गर्ने भएकाले यो बाध्यात्मक अवस्थामा लिएको कदम हो।’ 

माग पूरा नहुन्जेल आन्दोलन जारी रहने डा।सुशीलको भनाइ छ।

‘यो अनिश्चितकालीन बन्द हो। हाम्रा माग पुरा हुनुपर्छ,’ उनले भने,  ‘हाम्रो माग अपराधीलाई कानुनको दायरामा ल्याउनुपर्छ।’

उनका अनुसार स्वास्थ्यकर्मीमाथि हातपातका घटनामा सामेल व्यक्तिलाई कारवाही गर्न स्पष्ट कानुन छ भए पनि कार्यान्वयन भएको देखिएको छैन।

‘ड्युटीमा भएको समयमा स्वास्थ्यकर्मीमाथि हातपात हुँदा फौजदारी ऐनअन्तर्गतको अपराध हुन्छ। त्यसमा सरकार वादी भएर मुद्धा चलाउनुपर्ने हुन्छ। यसमा जो पनि अपराधी हिरासतमा जान्छ। उनीहरुलाई कारबाही नसकिँदा बेल दिन मिल्दैन।  सरकारले तोकेको कानुनअनुसार कारबाही अघि बढाएमात्र हामी सहमत छौं। अन्यथा हाम्रो आन्दोलन नराम्रो रुप लिदैं जान्छ,’ उनले भने। 

अहिले नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच वार्ता भइरहेको छ। सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा। विकास देवकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधि रहेका छन्। यस्तै, संघको तर्फबाट डा। अनिल विक्रम कार्की, डा। सञ्जिव तिवारी लगायत रहेका छन्।

Tags: