post-slider post-slider

१० देखि १४ वर्षका किशोरीलाई एचपिभी खोप अभियान सञ्चालन हुँदै

Image

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। 

मन्त्रालयको परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षमा खोप अभियानका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई औपचारिक रूपमा प्रस्ताव पेश गरी पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप ‘एचपिभी’ माग गरेको हो। परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ माग गर्दै गाभीलाई प्रस्ताव पेश गरिएको जानकारी गराए। 

‘गाभीलाई हाम्रो यस कार्यक्रम मन पर्‍यो र नेपाललाई सहयोग गर्छु भनेपछि हामीले औपचारिक रूपमा खोप माग गर्दै प्रस्ताव पठाएका छौँ,’ उनले भने, ‘हाम्रो प्रस्तावलाई गाभीले स्वीकृत गरेर खोप पठायो भने हामी यही आर्थिक वर्षको अन्त्यसम्म खोप अभियान सञ्चालन गर्ने योजना रहेको छ।’

उनले खोप अभियानका लागि भने आफूहरूले पूर्व तयारी गर्ने जानकारी दिए। महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले साउनको अन्तिम साता गाभीसँग १७ लाख मात्रा ‘एचपिभी’ खोपको प्रस्ताव गर्दै पत्र पठाइएको जानकारी दिए। दश देखि १४ वर्ष उमेर समूहका बालबालिकाको सङ्ख्या १६ लाख ५० हजार रहेको छ। ‘हामीले गाभीसँग खोपका लागि औपचारिक रूपमा पत्र पठाएका छौँ,’ उनले भने, ‘गाभीले हाम्रो पत्रलाई सकारात्मकरूपमा लिएको छ।’

यसअघि शाखाले दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानका लागि पनि गाभीसँग ५७ लाख मात्रा खोप माग गर्दै पत्र पठाएको थियो। शाखाका प्रमुख डा गौतमले क्रमशः पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपलाई प्रत्येक वर्ष अभियानका रूपमा सञ्चालन गरिने बताए। उनका अनुसार हरेक वर्ष साढे तीन लाख १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ। ‘यसवर्ष हामीले गाभीबाट सहयोग प्राप्त गरे पनि प्रत्येक वर्ष नै लगाउने हाम्रो योजना छ,’ उनले भने, ‘खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन सहयोग गर्दछ।’
    
नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ। विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ। सन् २०२२ को तथ्याङ्कमध्ये दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो। शाखाका प्रमुख डा गौतमले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एक मात्रा लगाउन मिल्ने खालको माग गरिएको पत्र पठाइएको बताए। 

यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो। सो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपिभी खोप प्रदान गरिएको थियो। अहिले केही निजी अस्पतालले किशोरीलाई उक्त खोप रु पाँचदेखि छ हजार तिरेर लगाइने दिने गर्दछन्। 

सरकारले गत असारमा पाठेघरको मुखको क्यान्सर विरुद्ध ल्याएको २० हजार मात्रा एचपिभी खोप नीतिगत निर्णय नभएकाले अहिलेसम्म लगाएको छैन।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही ‘ह्युमन प्यापिलोमा भाइरस’ को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको बताउँछन्। उनका अनुसार उक्त भाइरसको कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ। 

दुई सय प्रजातिका ‘ह्युमन प्यापिलोमा भाइरस’ मध्ये १६ र १८ प्रजातिको भाइरसले बढी सङ्क्रामक हुने गरेको र उक्त प्रजातिका भाइरसले महिलाको पाठेघरको मुखमा क्यान्सर गराउने उनको भनाइ छ। क्यान्सर रोग विशेषज्ञ डा शाहीले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठनको (डब्लुएचओ) को तथ्यांकअनुसार हरेक दिन नेपालमा छ महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको बताउँछन्। 

‘नेपालमा हरेक दिन  छ जनाको यसै क्यान्सरको कारणले मृत्यु हुने गरेको छ। अझ यस क्यान्सरबाट दुर्गम क्षेत्रका महिला बढी नै रहेका छन्’, उनले भने, ‘यो क्यान्सरबाट बचाउनका लागि खोप नै आवश्यक पर्दछ। उनी असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको बताउँछन्। 

रासस

Tags: