post-slider post-slider

अस्पतालमा जनशक्ति तथा भौतिक पूर्वाधारको अभाव

Image

तनहुँ । तनहुँको सदरमुकामको दमौली अस्पतालमा जनशक्तिसँगै भौतिक पूर्वाधारको समेत अभाव छ । अस्पतालमा दरबन्दी अनुसार विषय विशेषज्ञ चिकित्सकको अभाव हुँदा यस क्षेत्रका बिरामी उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता छ । 

यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी व्यहोर्नु परेको छ । जिल्ला स्तरीय यस अस्पतालमा शैय्या लगायत आवश्यक जनशक्तिको समेत अभाव हुँदा उपचार सेवा प्रभावित भएपनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।  

दरबन्दी अनुसारको ४३ दशमलव ३३ प्रतिशत जनशक्ति मात्रै पूर्ति भएकोले विरामीलाई सेवा प्रवाह गर्न समस्या परेको दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. परिवर्तन बरालले बताए । बरालले भने, ‘अस्पतालमा बिरामीको चाप धेरै छ तर स्विकृत दरबन्दी ३० भएपनि हाल पदपूर्ति १३ मात्रै भएकोले सेवा प्रवाह प्रभावित भएको छ ।’ मेसु बरालका अनुसार वहिरङ्ग विभागमा मेडिकल अधिकृत दुई जनाको दरबन्दी भएपनि एक जना लामो अध्ययन  बिदामा छन् भने तथ्याङ्क शाखामा मेडिकल रेकर्डर एक जना दरबन्दी रहेकोमा काजमा पोखरामा कार्यरत छन् । 

यसैगरी, नर्सिङ शाखामा कार्यरत स्टाफ नर्स/अनमीको ६ जना दरबन्दी रहेकोमा तीन जना अध्ययन बिदामा रहेकोले हाल तीन जनामा मात्रै कार्यरत छन् । एक्सरे शाखामा कार्यरत रेडियो ग्राफिक्स दुई जनाको दरबन्दी रहेकोमा एक जना असाधारण बिदामा छन् । ल्याब शाखामा रहेका ल्याब असिस्टेन्ट दुई जनामध्ये एक जना मात्रै कार्यरत छन् । कार्यलय सहायक ११ जनामा पदपूर्ति १ जनाको मात्रै भएको छ । ७२ किलो मिटर लामो पृथ्वीराजमार्ग अन्य सहायक मार्गहरू हुने दुर्घटनामा घाइतेहरुको तत्काल उपचारको लागि जीवन बचाउन, दुर्घटना बाहेक अन्य स्वास्थ्योपचार भरपर्दो बनाउन र प्रयाप्त भौतिक पूर्वाधार र जनशक्तिबाट भरपर्दो सेवा प्रवाह गर्न, हरेक वर्ष डेङ्गुको प्रकोप देखिएको हुँदा भरपर्दो उपचार सेवाको लागि अस्पतालको स्तरोन्नति आवश्यक रहेको डा. बरालले बताए । 

१५ शैय्याको अस्पताल स्तरोन्नति अतिआवश्यक भएकाले प्रदेश तथा सङ्घ सरकारको ध्यानाकर्षण गराइएको भएपनि माग पुरा नभएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए । बिरामीको चाप अत्याधिक रहेकोले १५ शैयाको अस्पताललाई आन्तरिक व्यवस्थापन गरि ५० शैयाको बनाईएको थापाले जानकारी दिए । २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई समेत सेवा दिइरहेको छ । तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शैय्यामा सेवा दिने अवस्था छैन । 

अस्पतालको स्तरोन्नतिका लागि पटक–पटक प्रयास भएपनि त्यसले मूर्तरुप लिन नसकेको थापाको भनाइ छ । बढ्दो चापसँगै अस्पताललाई १०० शैय्यामा विस्तार गर्नुपर्ने अवस्था रहेको थापाले बताए । थापाका अनुसार अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय भएको थियो तर कार्यान्वयन नहुँदा विस्तार कार्य रोकिएको छ। २०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालको रूपमा स्तरोन्नति भएको थियो । 

अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । 

अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । हाल तीन सय देखि ३५० जना दैनिक बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 

Tags: