post-slider post-slider

वीर अस्पताल र ट्रमा सेन्टरमा आजदेखि बिहान ८ बजेबाट सेवा सुरु

Image

काठमाडौं । वीर अस्पताल र  राष्ट्रिय ट्रमा सेन्टरमा आज देखि बिहान ८ देखि दिउँसो ४ बजेसम्म ओपीडी सेवा सञ्चालन हुने भएको छ। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पताल र  राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी  कार्यान्वयनमा गर्न लागिएको हो।

अब शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु हुने छ भने ९ बजे अगावै ओपिडी सेवा सुरु हुने छ। टिकटको समय बिहान ७ बजेदेखि २ः३० सम्म कायम गरिएको छ। ओपिडीका कर्मचारीहरु बिहान ८ः१५ भित्र पुगिसक्नुपर्ने छ।

कार्यकारी परिषदको यो निर्णयसँगै वीर अस्पतालमा साउन १ गतेदेखि ओपिडी सेवा पनि बिहान ८ बजेदेखि नै सुरु हुने छ। अस्पतालमा हाल बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ। 

अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए। 

यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा पनि अब शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु हुने छ भने ८ः१५ बजे अगावै ओपिडी सेवा सुरु हुने छ।

तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन्। 

एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ। 

एफडीएले नयाम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउनसमेत आग्रह गरेको छ।

Tags: