post-slider post-slider

पानीपुरी, चटपटेजस्ता खानेकुरा निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने विषयमा कामपाको छलफल

Image

काठमाडौँ । काठमाडौं महानगरपालिकाले पानीपुरी, चटपटेजस्ता खानेकुराबाट हैजालगायतका रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने विषयमा छलफल गरेको छ। 

महानगरको आज बसेको बैठकमा पानीपुरी, चटपटे तथा खुल्ला रुपमा वेचिने खानेकुरामार्फत हैजालगायतका रोग छिट्टै सर्ने भएकाले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने बिषयमा महानगरले छलफल गरेको हो। त्यस्तै पेय पदार्थ, तरकारी र फलफुलमा पनि निगरानी बढाउने भएको छ। 

बजारमा ल्याइने धेरै तरकारीमध्ये केही भाग विग्रिएको हुन्छ । यो उपभोगका दृष्टिले पूर्ण अस्वस्थ्यकर हो । यस्तो तरकारी र फलफुल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण भएको उपप्रमुख सुनिता डंगोलले बताइन्। 

बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन  उपप्रमुख डंगोलले निर्देशन दिएकी छिन्। 

‘‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसल हुन् ।’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ ।’

बैठकमा वडाध्यक्ष एवं अनुगमन मूल्याङ्कन समितिका सदस्य राजेन्द्र मानन्धरले, फाल्नु पर्ने तरकारी र फलफुल बेचबिखनमा तत्काल रोक लगाउनु पर्ने बताए । 

बैठकमा यस अघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा.अवधेश झाले भने, ‘कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड छ । यसविपरीतका जार जफत र नष्ट गरिएको हो ।’ 

डा झाका अनुसार काठमाडौँमा १५० भन्दा धेरै जारको पानीका वितरक छन् । यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था छैन । 

व्यापारिक क्रियाकलापमा हुने निगरानीसँगै उपभोक्तालाई स्वच्छता र गुणस्तरका विषयमा सचेत गराउने काम पनि सँगै सञ्चालन गर्नुपर्ने बैठकले खाँचो देखाएको छ । 

Tags: