post-slider post-slider

विशेषज्ञ सेवा दिँदै आँखा अस्पताल, तर स्थानीयलाई थाहा छैन

Image

डडेल्धुरा। डडेल्धुरामा रहेको आँखा अस्पतालले विगत लामो समयदेखि विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गरिरहेको छ। नेपाल नेत्रज्योती सङ्घ अन्तर्गत गेटा आँखा अस्पतालले सञ्चालन गर्दै आएको डडेल्धुरा आँखा अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको हो।

अस्पतालको सेवाबारे धेरै सेवाग्राहीलाई जानकारी नै छैन। विगत एक वर्षदेखि आँखा रोग विशेषज्ञ डा मुकेश पाण्डेयले सो आँखा अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएका आँखा अस्पतालले जनाएको छ। सामान्य उपचारदेखि मोतिया विन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको, गाँठागुँठी भएको लगायतका आँखासम्बन्धी जटिल रोगको उपचार डडेल्धुरा आँखा अस्पतालमै भइरहेको अस्पतालका इन्चार्ज बेञ्जना बेल्बासे ले जानकारी दिए। विशेषज्ञ उपचारका बारेमा स्थानिय तथा आँखा सम्बन्धीका बिरामीहरुले थाहा नपाउँदा उनीहरु उपचारका लागि गेटा आँखा अस्पतालसमेत धाउने गरेका छन्।

यसका बारेमा जानकारी भए सजिलो र कम खर्चमा जिल्लामा नै जटिल समस्याको पनि समाधान भइरहेको इन्चार्ज बेल्बासे ले बताए। उनका अनुसार दैनिक अहिले एक सय बिरामी अस्पताल पुग्न थालेका छन्। सयमध्ये ६० जना आँखा पाक्ने रोगबाट ग्रसित भएका बिरामी आउने गरेका छन्। “आँखाका विभिन्न समस्याबाट पीडित भएका एक सय जनाको मासिक शल्यक्रिया पनि भइरहेको छ”, उनले भने।

प्रदेशका सातवटै पहाडी जिल्लाबाट बिरामी आउने गरेको भए पनि उपलब्ध सेवाअनुसार बिरामीको चाप बढ्न नसकेको अस्पतालले जनाएको छ। अस्पतालमा पुग्ने बिरामीमध्ये एक प्रतिशतलाई मात्रै अन्यत्र पठाउने गरिएको बेल्बासे ले जानकारी दिए। नेपाल नेत्रज्योती सङ्घका जिल्ला अध्यक्ष शिवराज पन्तले अस्पतालसँगै विभिन्न समयमा शिविरमार्फत पनि सेवा दिइरहेको बताए। उक्त आँखा अस्पताल जिल्ला सदरमुकाम सँगै जोडिएको घटालथान जाने बाटोमा रहेको छ। 

रासस

Tags: