न्याम्समा दरबन्दी थप
काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ३० औँ सभा (सिनेट बैठक) ले विभिन्न पदमा दरबन्दी थप गरेको छ।
प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले रिक्त पदमा दरबन्दी थप गर्नुका साथै सिनेट सदस्य र प्राज्ञिक परिषद्मा समेत तीन तीन जना नियुक्त गरेको छ।
न्याम्सका उपकुलपति प्रा.डा भूपेन्द्र कुमार बस्नेतका अनुसार नर्स, रेडियोग्राफर, ल्याब टेक्निसियन, प्लम्बर लगायतका जनशक्ति थप गरेको छ। बैठकले नाक, कान, घाँटीतर्फ स्पिच थेरापीका लागि एक जना अडियोलोजिस्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याब टेक्निसियन पाँचौँ तहमा पाँच जना पदपूर्तिका लागि दरबन्दी स्वीकृत गरेको जानकारी दिए।
उनले फार्मेसीका लागि फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन चार जना, प्लम्बर छ जना, चालक तथा सहायकसहित गरी १० जनाका लागि पनि दरबन्दी खुलाउने निर्णय भएको छ। यसै गरी बैठकले तीन जना नयाँ सिनेट सदस्य थपेको छ । उनका अनुसार तीन जनालाई प्राज्ञिक परिषद्मा नियुक्त गरेको छ।