विश्व नेपाली स्वास्थ्य सम्मेलन : प्रवासीको स्वास्थ्यबारे २० बुँदे घोषणापत्र जारी
काठमाडौं । पाँच विश्व नेपाली स्वास्थ्य सम्मेलन २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार आप्रवासी नेपालीको स्वास्थ्यका विभिन्न सवालसहित २० बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो ।
डा. सापकोटाले ‘प्रवासीहरूको स्वास्थ्य चासो, स्वास्थ्य सेवामा विश्वव्यापी पहुँच’ विषयमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रमा स्वास्थ्य विश्वव्यापी मानव अधिकारको रूपमा व्यक्ति, समुदाय, राज्य र राष्ट्रहरूको प्राथमिकतामा पर्ने उल्लेख छ । विश्वभरिका स्वास्थ्य सूचना र सेवाहरूको पहुँचमा कुनै पनि नेपाली पछाडि नरहने कुरा सुनिश्चित गर्ने भनिएको बताए ।
उहाँले नेपाली बसोबास गर्ने, अध्ययन गर्ने वा काम गर्ने देशका सरकारहरूलाई हामी (नेपाली) आप्रवासीहरूका लागि आधारभूत विश्वव्यापी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न आह्वान गरिएको बताए । उनले द्विपक्षीय र बहुपक्षीय एजेन्सीहरू, संस्थाहरू र संघहरूलाई प्रवासीहरूको स्वास्थ्य आवश्यकताहरूलाई पहिचान गर्न र सम्बोधन गर्न पनि आग्रह गरिएको बताए ।
उनले प्रवासीहरूले फरक किसिमका स्वास्थ्य चुनौतीहरूको सामना गरिरहेको बताउँदै ती चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न कडा कदम आवश्यकता रहेको ठहर उक्त सम्मेलनले गरेको बताए ।
उनले भने, ‘आप्रवासीहरूको बढ्दो आत्महत्या र यसको आर्थिक–सामाजिक प्रभावबारे ध्यानाकर्षण भएको छ । विश्वभर रहेका नेपालीहरु जो मानसिक स्वास्थ्य सम्बन्धि काम गरिरहेका छन् उनीहरुलाई एकताबद्ध भएर प्रभावितहरु (पीडितहरु) लाई सहयोग गर्न सम्मेलनले आह्वान गरेको छ ।’
सम्मेलनले स्वास्थ्य सेवामा सहभागी, साझेदार, व्यक्ति, एजेन्सी र संस्थाले महत्त्वपूर्ण विश्वव्यापी रूपमा रहेका नेपालीलाई प्रदान गरेको स्वास्थ्य सेवाप्रति आभार व्यक्त गरेको छ । साथै नेपाली प्रवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुग्ने मुख्य बाधाहरू भाषा, संस्कृति, कानुनी र वित्तीय स्थिति, शिक्षाको स्तर र अन्य नदेखिने उल्झनहरु रहेको प्रस्ट्याएको छ ।
घोषणापत्रमा भनिएको छ, ‘यो सम्मेलनले उक्त अवरोधहरू हटाउन र आप्रवासीहरूको लागि स्वास्थ्य सेवा सुधार गर्न आप्रवासीहरूका लागि काम गर्ने विभिन्न व्यक्ति र संस्थाहरूलाई प्रवासीहरू र सम्बन्धित विशेषज्ञहरू बीच सम्पर्क स्थापित गर्ने प्लेटफर्म प्रदान गर्न महत्वपूर्ण कदम चाल्छ ।’
स्वास्थ्य क्षेत्रको विकासमा अनुसन्धानको महत्त्वलाई प्रकाश पार्दै विश्वभरका नेपाली अनुसन्धानकर्ताहरूलाई सहयोग गर्ने वाचा समेत सम्मेलनमार्फत गरिएको छ ।
यसैगरी, बिरामीहरूको जीवन बचाउने र तिनीहरूको दीर्घजीवी सुनिश्चित गर्ने चिकित्सकहरूलाई सुरक्षित काम गर्ने वातावरणको आवश्यकता पर्नेमा जोड दिइएको छ ।
घोषणापत्रमा ‘स्वास्थ्यकर्मीमाथि हुने कुनैपनि प्रकारको हिंसाको विश्वभरि रहेका नेपाली समुदायले निन्दा गर्नुपर्दछ । स्वास्थ्य क्षेत्रले मात्रै विश्वव्यापी स्वास्थ्य सेवाका लक्ष्यहरु हासिल गर्न सक्दैन । हामी विश्वभरका नेपालीहरूलाई सहकार्य र साझेदारीको लागि जोड दिन्छौँ’ भनिएको छ ।
डा. सापकोटाले प्रवासी नेपालीलाई विभिन्न कारणले आइपर्ने समस्याका कारण स्वास्थ्य सेवा लिन समस्या भएका कारण यस सन्दर्भमा परामर्श गर्दै अघि बढ्ने बताए । ग्लोबल नेपाली हेल्थ कन्फरेन्स आयोजक समिति अध्यक्ष डा. एलिजा केसी भण्डारीले नेपाल बाहिर रहेका नेपालीको स्वास्थ्यका विषयमा संवाद सुरुवात गर्न र उनीहरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउन सबैतिरबाट लाग्नुपर्ने निष्कर्षमा पुगेको बताए ।
कार्यक्रममा साइन्टिफिक कमिटी अध्यक्षमा डा. लुशुन चालिसे, सह अध्यक्षमा डा. सागर पौडेल, डा. प्रकाश श्रेष्ठसहित जापान, अमेरिका, बेलायत, युएई, कतार नेपाल, अष्ट्रेलिया, क्यानडालगायत विश्वका विभिन्न देशमा काम गरिरहेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्यकर्मीको सहभागिता थियो ।