post-slider post-slider

चिकित्सक कुटपिट प्रकरणः स्वास्थ्यकर्मीहरु आन्दोलित, सामूहिक राजीनामा दिने तयारी

Image

काठमाडौं ।  स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिटको घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै मकवानपुरका स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन् ।

अस्पतालभित्रै डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार भएको कुटपिटको घटनामा संलग्न भएकाहरुलाई तत्काल प्रक्राउ गर्न माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् । घटनामा संलग्न दोषीलाई पक्राउ नगरे शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित हेटौँडा अस्पतालमा बिहीबार भएको स्वास्थ्यकर्मीहरुको भेलामा घटनामा संलग्न भएकाहरुलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाएमा सामूहिक राजीनामासँगै शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका हुन् ।

शान्ति सुरक्षा कमजोर भएका कारण उक्त घटना हुन गएको बताउँदै सुरक्षाको प्रत्याभूति नभएका कारण बुधबार जाहेरी दिने अवस्था नरहेको र घटनामा संलग्न भएकाहरु प्रहरी कार्यालयमा नै आएर धम्की दिँदासमेत प्रहरी मुकदर्शक बनकोप्रति स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समक्ष आक्रोश व्यक्त गरेका थिए ।

हेटौँडा अस्पतालको सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले स्वास्थ्यकर्मी असुरक्षित बनेको भन्दै एक महिना अघि भएको मृत्यु घटनामा कुटपिट गरेर प्रहरी कार्यालय परिसरमा कुटपिटमा संलग्न भएकाहरु आउँदा पक्राउ नगर्नु प्रहरीको चरम लापरबाही भएको बताए ।

उनले सुरक्षा अवस्था कमजोर रहेको र सुरक्षाको प्रत्याभूति नभएका कारण सबै चिकित्सकले सामूहिक राजीनामा दिने गरी हस्ताक्षर गरिसकेको भन्दै तत्काल पक्राउ नगरे काम गर्नसक्ने अवस्था नरहने बताए। डा.हरि खड्काले कुटपिटमा संलग्नलाई प्रहरी नियन्त्रणमा नलिनु लापरबाही भएको भन्दै चिकित्सकको निर्णयअनुसार शुक्रबारबाट मकवानपुरका सबै स्वास्थ्य संस्थामा आपतकालीन बाहेकका सेवा ठप्प गरिने बताए ।

भेलामा कुटपिटमा परेका डा. प्रशान्त बिडारी, नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरका उपाध्यक्ष सुधिर दाहाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष भोला चौलागाई, निजी अस्पतालका प्रतिनिधिहरुले घटनाले स्वास्थ्यकर्मीसँग समाजमा असुरक्षाको अवस्था सिर्जना भएको बताउँदै प्रहरीले नै घटनामा संलग्नहरुलाई नियन्त्रणमा नलिएर सुरक्षा दिने कार्य गरेको आरोप लगाएका थिए । साथै स्वास्थ्यकर्मीहरु कुटपिटमा संलग्न भएकाहरुले प्रहरी कार्यालय परिसरभित्रै चिकित्सकलाई मार्छु, काट्नुभन्दा समेत प्रहरी मुकदर्शक बनेर संरक्षण गरेकोप्रति आपत्ति जनाएका थिए ।

भेलामा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले सुरक्षामा सम्झौता नहुने भन्दै जाहेरी नपरेका कारण कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको बताए । उनले उजुरी परे पनि र नपरेपनि कारबाही प्रक्रिया चलाउने बताए । यस्तै, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले घटनामा संलग्नहरुलाई कारबाही गरिने भन्दै घटनाका सम्बन्धमा जाहेरी दिन आग्रह गरे ।

यसैबीच नेपाल चिकित्सक संघ केन्द्रीय समितिले आफ्ना आजीवन सदस्य डाक्टरद्वय थापा र बिडारीमाथि आक्रमण गर्नेमाथि ७२ घण्टाभित्र कानुनी कारबाही नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाएको छ ।

गत साउन २२ गते सञ्चो अस्पतालमा डेंगु रोगको लक्षण लिइ उपचार गर्न सञ्चो अस्पताल आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदम पोखरीका ४१ वर्षीय राजेश प्रधानलाई थप उपचारका लागि भदौ २३ गते चितवनको अस्पतालमा उपचारका लागि प्रेषण गरिएको थियो । चितवनमा थप उपचारका लागि गएका प्रधानको उपचारको क्रममा साउन २५ गते मृत्यु भएको थियो ।

गोरखापत्रको सहयोगमा 

Tags: