कान्ति अस्पताललाई अध्ययन संस्थान बनाउने स्वास्थ्य मन्त्री बस्नेतको घोषणा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ३५२ शैया मार्फत उपचार सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पतालको सेवा विस्तार गरि चाडै १००० शैयाको बाल स्वास्थ्य अध्ययन संस्थान बनाइने बताएका छन् ।
कान्ति बाल अस्पतालको ६२ औं वार्षिकोत्सवको अवसरमा आईतबार आयोजित समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले कान्ति बाल अस्पतालको सेवा बिस्तार र अनुसन्धान गर्न बाल स्वास्थ्य अध्ययन संस्थान आवश्यक देखिएकोले भोलिदेखि नै यसमा अगाडि बढ्ने बताएका हुन ।
मन्त्री बस्नेतले भने, ‘ राम्रो काम गर्न साइत हेराई राख्नु पर्दैन । मैले भोली नै शहरी विकास मन्त्री र शहरी विकास विभागका महानिर्देशकलाई स्वास्थ्य मन्त्रालयमा छलफलका लागि बोलाएको छु । जति सक्दो यसको काम अगाडि बढाउँछु । त्यसपछि अर्थ मन्त्रालय जाने काम सुरु गरौंला । ’
मन्त्री बस्नेतले १००० शैयाको अस्पताल सहित बाल स्वास्थ्य अध्ययन संस्थान बनाउन करिव ९ अर्ब रुपैया बजेट आवश्यक हुने भएकाले एक वर्षमै संभव नभए पनि दुई तिन वर्षमा सम्पन्न गर्ने गरि अगाडि बढ्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए । नयाँ भवन सहित १००० शैयाको अस्पताल बनाउन शहरी विकास विभागले त्यसको डिपिआर तयार गरिरहेको छ । बोलेर भन्दा स्वास्थ्य क्षेत्रमा केही नयाँ काम गरेर देखाउन आफु लागि परेको बताउदै मन्त्री बस्नेतले उपचार अभावमा कुनै पनि नेपालीले मृत्युवरण गर्नु पर्दैन स्वास्थ्य मन्त्रीको हैसियतले त्यसको जिम्मा म लिन्छु भन्दै आफु हिँडिरहेको दाबी गरे ।
चिकित्सा शिक्षा ऐन संसोधन गरेर देश भित्रै चिकित्सा शिक्षा पढ्न पाउने बाटो प्रसस्त गरिदिनु पर्नेमा जोड दिदै मन्त्री बस्नेतले देश बाहिरका विद्यार्थीका लागि पनि नेपाल चिकित्सा शिक्षाको गन्तव्य बनाउन सकिने दावी गरे । मन्त्री बस्नेतले भने, ‘ नेपाललाई चिकित्सक शिक्षाको हव बनाउन सकिन्छ । त्यसपछि अहिले चिकित्सा शिक्षामा देखिएका समस्या समाधान गर्न सकिन्छ । ’
कार्यक्रममा योजना आयोगका सदस्य डा.आरपी विच्छाले कान्ति बाल अस्पताल अभिभावक बिहीन जस्तो देखिएको बताउदै स्वास्थ्य मन्त्री बस्नेतलाई अभिभावकत्व ग्रहण गरेर यसका विद्यमान समस्या समाधानका लागि अग्रसर भइदिन आग्रह गरे । कान्ति बाल अस्पतालका पूर्व निर्देशक समेत रहेका डा। बिच्छाले बल्ल तल्ल ४५ शैयामा चलिरहेको बाल सघन उपचार कक्षको क्षमता बढाएर १०० शैयाको बनाउनु आवश्यक रहेको बताए ।
बाल सघन उपचार कक्षको अभावमा अहिले पनि देशका कुना कुनाबाट उपचारका लागि कान्ति आउने बालबालिका बाहिर रिफर गर्नु परेको अवस्थाको तत्काल सम्बोधन हुनु पर्नेमा डा.बिच्छाको जोड थियो । कान्ति बाल अस्पतालका कार्यकारी निर्देशक डा. पंकज रायले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विरामीको चापको आधारमा शैया अभावका कारण अस्पताललाई समस्या परेको बताउदै चालु आर्थिक वर्षमा सरकारले कान्ति अस्पतालको बजेट ४० प्रतिशतले कटौति गरेपछि आर्थिक समस्या पनि थपिएको बताए ।
अस्पतालको कुल ३५२ शैया मध्ये २४८ शैया निशुल्क गरिएको डा। रायले जानकारी दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. बाबुराम गौतमले अस्पतालको सेवा विस्तारमा सरकारले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरु र अस्पताललाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने दातृ निकायका अधिकारीलाई स्वास्थ्य मन्त्री बस्नेतले सम्मान गरेका थिए ।
यसैबीच अस्पतालको वार्षिकोत्सवकै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा जडान गरिएको एमआरआई र सिटि स्क्यान सेवाको पनि उदघाटन गरेका छन् । जापान सरकार र जापनिज सहयोग नियोगको सहयोगमा यी उपकरण जडान गरिएका हुन । सिटि स्क्यान र एमआरआई सेवा सञ्चालनमा आएसँगै हजारौ विरामीले सहज रुपमा उपचार सेवा प्राप्त गर्ने छन । कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले जापान सरकारका प्रतिनिधि केनिचिरा हिजुकालाई सम्मान गरेका थिए ।
हिजुकाले बाल अस्पताललाई सहयोग गर्न पाउदा खुशी लागेको बताउदै बालबालिका नै देशका कर्णधार भएकाले उनीहरुको उपचार सेवा सर्वसुलभ र गुणस्तरीय हुनु पर्नेमा जोड दिए । कार्यक्रममा मन्त्री बस्नेतले कान्ति बाल अस्पतालले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गरेका थिए ।