post-slider post-slider

नेपालगञ्ज मेडिकल कलेजमा न्यूरो सेवा उपलब्ध गराउन सम्झौता

Image

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजमा न्यूरो साइन्स सेवा उपलब्ध गराउन शनिबार सम्झौता भएको छ।

अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट काठमाडौंका तर्फबाट अध्यक्ष डा।बसन्त पन्त र लर्ड बुद्ध एजुकेशन (नेपालगञ्ज मेडिकल कलेज) का तर्फबाट प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार अब अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट (अन्नपूर्ण न्यूरो अस्पताल) ले नेपालगञ्ज मेडिकल कलेजमा न्यूरो साइन्स सेवा उपलब्ध गराउनेछ।

यो सेवा सुरु भएपछि पश्चिम नेपालका बिरामीहरूलाई न्यूरो उपचारको क्षेत्रमा उच्चस्तरीय सेवा प्रदान गर्न सकिने छ। सहमतिअनुसार अन्नपूर्णबाट खटिएका न्यूरो चिकित्सकहरूले अरू निजी क्लिनिकमा काम गर्न पाउने छैनन्।

दुवै संस्थाका तर्फबाट तीन जना सिनियर न्यूरो विशेषज्ञ र दुई जना रेसिडेन्ट चिकित्सक खटाइनेछ।

यसरी खटाइएको न्यूरो टिमलाई नेपालगञ्ज मेडिकल कलेजले हरेक महिना आपसी सहमतिअनुसार सेवा सुविधा उपलब्ध गराउनेछ। यस्तो उपचारबाट आर्जन भएको नाफालाई सामाजिक काममा खर्च गरिने पनि सम्झौतामा उल्लेख छ।

नेपालगञ्ज मेडिकल कलेजमा न्यूरो सर्जिकल सेवासम्बन्धी जुनसुकै स्वास्थ्य, शैक्षिक कार्यक्रम, सेमिनार, गोष्ठी, प्रकाशनलगायतका क्रियाकलापहरू दुवै पक्षले संयुक्त गर्नेछन्।

न्यूरो सेवालाई आवश्यक पर्ने मेडिकल अफिसर, नर्स तथा पारा मेडिकल तथा अन्य आवश्यक जनशक्ति र सेवा सुविधाहरू नेपालगञ्ज मेडिकल कलेज उपलब्ध गराउनेछ।

साथै न्यूरो सर्जिकल सेवाका लागि चाहिने उपकरण तथा अन्य भौतिक पूर्वाधारका सामाग्रीहरु मेडिकल कलेजले उपलब्ध गराउने र अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युटको सिफारिसमा उपकरणहरू समयसापेक्ष स्तरोन्नती गर्दै लैजाने सहमति पनि भएको छ।

त्यसैगरी न्यूरोका बिरामीसँग सम्बन्धित सबै ओपिडी, आईपिडि, अप्रेसन, डिस्चार्ज तथा उपचारमा रहेका बिरामीहरूको फोटो सहितको डाटाबेसमा राख्ने व्यवस्था नेपालगञ्ज मेडिकल कलेजले मिलाउनेछ। त्यसरी राखिएको तथ्यांकमा संयुक्त अधिकार रहनेछ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरिएका बिरामीप्रतिको दायित्व कलेज र उपचारमा संलग्न चिकित्सकको हुनेछ। संयुक्त प्रयासबाट शैक्षिक प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यहरू आपसमा समन्वय गरी सञ्चालन गरिने पनि भएको छ।

सम्झौतामा मेडिकल कलेजमा उपचार सम्भव नभएका न्यूरोसम्बन्धी बिरामीलाई अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट काठमाडौं पठाउने व्यवस्था गरिने पनि सम्झौतामा उल्लेख छ।

Tags: