post-slider post-slider

चीनमा विनाशकारी भूकम्प, १०० जनाभन्दा बढीको मृत्यु

Image

पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा ११८ जनाको मृत्यु हुनुका साथै २०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यहाँ र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ।

उद्धारकर्ताहरूले क्षतिग्रस्त भवनका भग्नावशेषमा खोजी गरिरहेका छन्। मृतकको सङ्ख्या बढ्ने ठानिएको छ।

कठ्याङ्ग्रिँदो जाडोका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको छ।

गान्सुमा ठूलो भूकम्प गएको केही घण्टापछि शिन्जियाङ प्रान्तमा पनि दोस्रो झट्का महसुस गरिएको थियो।

तर ५.५ म्याग्निट्यूडको उक्त भूकम्पले पुर्‍याएको क्षतिबारे स्पष्ट जानकारी प्राप्त भएको छैन।

चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन्।

कठ्याङ्ग्रिँदो जाडो

आपत्कालीन उद्धारकर्ताहरूले चिसो मौसमको सामना गर्दै चीनमा गरिबी धेरै भएका इलाकाहरूमध्येमा पर्ने उक्त ग्रामीण क्षेत्रका मानिसलाई सहयोग गर्ने प्रयास गरिरहेका छन्।

त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सिअसभन्दा कम रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन्। 

भिडिओ फुटेजहरूमा घाइतेहरूलाई अस्पताल पुर्‍याउँदै गरिएको र उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूमा मानिसहरूको खोजी गरिरहेको देख्न सकिन्छ।

सरकारले स्थानीय उद्धारकर्ताहरूलाई सहयोग गर्न थप जनशक्ति पठाएको छ।

राष्ट्रपति सीले वक्तव्यमा उद्धार र खोजी, समयमै घाइतेको उपचार र हताहत हुनेको सङ्ख्या न्यून गर्न आवश्यक सबै प्रयास गर्न निर्देशन दिएका छन्।

अधिकारीहरूका अनुसार गान्सुमा १०५ जना र चिन्खाई प्रान्तमा १३ जनाको मृत्यु हुनुका साथै दुवै प्रान्तमा २६६ जना घाइते भएका छन्। कम्तीमा २० जना सम्पर्कविहीन भएका छन्।

ती क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको विवरणहरू जनाइएको छ।

गान्सुमा मात्र झन्डै ५,००० वटा भवन भत्किएको अधिकारीहरूले बताएका छन्।

भूकम्प पीडितहरूलाई आश्रय दिन विभिन्न स्थानमा अस्थायी शिविर बनाइएको छ।

गान्सुमा पहिला पनि गएको थियो भूकम्प

दक्षिणपश्चिम प्रान्त सिचुवानमा गत सेप्टेम्बरमा ६.६ म्याग्निट्यूडको भूकम्प जाँदा ६० जनाभन्दा धेरै मानिसको ज्यान गएको थियो।

सन् १९२० मा गान्सुमा गएको भूकम्पमा दुई लाखभन्दा धेरै मानिसको मृत्यु भएको थियो।

त्यसलाई २० औँ शताब्दीको विश्वकै घातक भुकम्पमध्ये एक मानिन्छ।

बीबीसी

Tags: