स्वास्थ्यका ठेक्कामा मन्त्री बस्नेतको चलखेल, आफूनिकट कम्पनीले नपाएपछि ठेक्कै रद्द!
काठमाडौं । हामीले पहिलो शृंखलामा विश्व बैंकले सहुलियत ऋणमा दिएको पाँच अर्बमध्ये ३० करोड रुपैयाँमा खरिद थालिएको ‘पोर्टेबल अल्ट्रासाउन्ड’ मेसिनको प्रसंग उल्लेख गरेका थियौं।
यो शृंखलामा हामी १६ करोड रुपैयाँमा खरिद प्रक्रियामा रहेका आठ वटा ‘मेमोग्राफी मेसिन’बारे चर्चा गर्दैछौं। जहाँ खरिदमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतका ‘कमिसन एजेन्ट’ सक्रिय हुँदा टेन्डर नै रद्द भएको कथा छ।
कुरा दुई महिनाअघिको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा त्यो पाँच अर्बभित्रै रहेर स्तन क्यान्सको परीक्षणका लागि ‘मेमोग्राफी’ मेसिन खरिदमा जुट्यो। गत १९ अक्टोबर २०२३ मा विभागले उक्त मेसिनका लागि बोलपत्र आह्वान गर्यो।
उसले टुडी मेमोग्राफी मेसिन खरिद गर्ने भन्दै बोलपत्र आह्वान गरेको थियो। टुडी मेमोग्राफी मध्यमस्तरको मेसिन मानिन्छ।
१४ डिसेम्बर २०२३ मा आइपुग्दा अचानक विभागको व्यवस्थापन महाशाखा त्यो बोलपत्र रद्द गर्ने निर्णयमा पुग्यो।
उसले गोरखापत्र दैनिकमा सूचना निकाल्दै भन्यो - व्यवस्थापन महाशाखा १९ अक्टोबर २०२३ मा जारी गरिएको बोलपत्र रद्द गर्ने निर्णयमा पुगेको छ।
दुई महिनाभित्र बोलपत्र रद्द गर्नुपर्ने निर्णयको कारण सूचनामा उल्लेख छैन।
महाशाखाका बायोमेडिकल ईन्जिनियर आशिष चौहान भन्छन्, ‘टुडीभन्दा थ्रिडी मेसिनको खाँचो पर्ने भयो।’
खरिदको सामान्य नियमबारे जानकारी राख्न जरुरी छ।
कुनै पनि सामान खरिद गर्दा पहिले आवश्यकता निर्क्यौल गरिन्छ। दोस्रो, बजेटको सुनिश्चितता र अन्तिममा मात्रै खरिद प्रक्रिया थालिन्छ।
टेन्डर आह्वान गरेको ५० दिनपछि महाशाखा टुडी मेसिन खरिद रद्द गर्न किन लाग्यो?
चौहान भन्छन्, ‘थ्रिडी मेसिन चाहिने भएन रद्द गरियो?’
करिब दुई महिनाभित्र थ्रिडीमा आउने आधार के भेटियो?
उनी भन्छन्, ‘ठूला अस्पतालहरूले थ्रिडी मेसिन मागे।’
पहिले अस्पतालसँग सोधिएन? दुई महिनाअघि नै थ्रिडीको प्रक्रिया किन अपनाइएन? यसको जिम्मेवारी कसले लिने? यतिका समय खेर फाल्दै प्रक्रिया रद्द गर्ने कर्मचारीमाथि कुन किसिमको कारबाही हुने हो?
यत्रो ठूलो खरिद हचुवामै सुरू किन गरियो? समस्या के मा हो?
यी प्रश्नहरूमा खरिद इकाईका प्रमुख डा. सुरेन्द्र चौरसियाले थोरै भने, ‘यसबारे आशिष चौहान सरलाई भेटेर सोध्नुहोला। उहाँलाई बढी जानकारी छ।’
उनले ठेक्का प्रक्रिया आवश्यकताका आधारमा थालिने र आवश्यकता पूर्ति हुने नदेखिए रद्द गर्न सकिने बताए।
टुडी नै खरिद गर्न टेन्डरका यी तिनै प्रक्रिया पूरा गर्दा लागेको समय र खर्च त्यतिकै खेर गएको छँदैछ।
टुडी मेसिन खरिदको कथावस्तु चौरसियाले भनेजस्तो सजिलै टुंगिदैन। विश्वसनीय स्रोतहरूले यसमा कमिसनको खेल भएको दाबी गरेका छन्।
ती स्रोतले दिएका आधार र तर्कहरू हेरौं।
यो टेन्डर प्रक्रिया एउटै कम्पनीलाई पर्ने गरी मात्रै बोलपत्र आह्वान गरिएको थियो। त्यो इटालियन कम्पनी ‘मेटल ट्रोनिका’ हो।
यो मेसिन नेपालमा उपलब्ध गराउन सक्ने अन्य थुप्रै कम्पनी भए पनि मेटल ट्रोनिकाको प्रविधिसँग मात्रै मेल खाने गरी टेन्डर आह्वान गरिएको थियो।
मेटल ट्रोनिकाको नेपाली एजेन्ट आफू हुँ भनी बालुवाटारको म्याक्सिम इन कर्पोरेसनले दाबी गरिरहेको थियो। म्याक्सिमका सञ्चालक सुन्दर भुसाल हुन्।
मेटल ट्रोनिकाको नेपाली एजेन्ट भुसालले दाबी गरेपछि अर्को कम्पनी उनको विरूद्धमा गएको देखिन्छ।
पहिले म्याक्सिम इन कर्पोरेसन इटालियन कम्पनी ट्रोनिकाको नेपाली एजेन्ट थिएन। मेटल ट्रोनिकाको नेपाली आधिकारिक एजेन्ट शिवम् इन्टरप्राइजेज थियो। उक्त कम्पनी उज्जवल बस्नेतको हो।
यसबीच म्याक्सिमले मेटल ट्रोनिकासँगै संलग्न भएर स्वास्थ्यका ठेक्कापट्टा चिप्ल्याउन लागेको थाहा पाएपछि शिवम् इन्टरप्राइजेजका बस्नेत भुसालको विरूद्धमा गए।
उनले मेटल ट्रोनिकासँग आफ्नो दाबी पेश गर्दै झमेला गर्न थाले। अन्तिममा उनी मेटल ट्रोनिकाबाट नेपाली एजेन्ट आफूलाई नै फिर्ता गर्न सफल भए।
यति भएपछि भुसालको कम्पनीले मेमोग्राफी मेसिन खरिद गर्न नपाउने स्थिति आइलाग्यो, तब महाशाखाले टेन्डर नै रद्द गर्यो। अब फेरि त्यो टेण्डर कहिले खुल्ने निश्चित छैन।
बस्नेतले माउ कम्पनीसँग ‘सेटिङ’ मिलाएर पुरानो एजेन्टलाई पाखा लगाउन चलखेल गरेको आरोप भुसाललाई लगाए।
उज्जवल बस्नेत यो कुरा अहिले कोट्याउन चाहँदैनन्। ‘टेन्डर नै रद्द भइसक्यो, काम नै बिग्रिसकेपछि पुरानो घाउ कोट्याएर के काम?,’ उनले भने, ‘यो टेन्डरमा नयाँ केही विकास भयो भने भनौंला।’
भुसाल भने अन्तर्राष्ट्रिय कम्पनीले जसलाई विश्वास गर्छ उही नै नेपालको आधिकारिक कम्पनी हुने बताउँछन्। ‘कम्पनीले कसलाई क्यारी गर्ने, कसलाई नगर्ने भन्ने उसकै निर्णयभित्र पर्छ, मैले त्यतिधेरै हेरिनँ यो विषय,’ उनले भने, ‘अहिलेको खरिदसँग यो कुरा जोडिएको होइन, यो दुई वर्ष पहिलेकै कुरा हो।’
बस्नेत र भुसाल दुबैका तर्क सुन्दा उनीहरूबीच मेटल ट्रोनिकाको आधिकारिक एजेन्ट को हुन् भन्नेमा प्रतिस्पर्धा र विवाद भएका थिए भन्ने बुझिन्छ।
टुडी मेमोग्राफी मेसिन ठूला अस्पतालहरूका लागि खरिद गर्न लागिएको थियो भनिएको छ।
ती ठूला अस्पताल कुन हुन्? प्रश्नमा खरिद इकाई प्रमुख चौरसियाले चौहानतिरै फर्काइदिए। ‘चौहानजीसँग भेटेर कुरा गर्नुहोला,’ उनले भने।
चौहानले केही प्रादेशिक साथै राजधानीका ठूला अस्पतालले माग गरेअनुसार मेमोग्राफी मेसिन खरिदको प्रक्रिया चालिएको बताए। ती ठूला अस्पतालमा गंगालाल, मनमोहन अस्पताललगायत रहेको उनले बताए। नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत नै ठूला उपकरणहरू खरिद गर्न थालिएको बताए।
यसबीचमा महाशाखालाई कुन अस्पताललाई कुन मेसिन चाहिने भन्ने प्रष्ट नरहेको देखिन्छ। टेन्डरको अन्तिम प्रक्रिया चलिरहँदा थ्रिडी चाहिने भएपछि रद्द गरिएको दाबी महाशाखाका बायोमेडिकल ईन्जिनियरको छ।
बायोमेडिकल ईन्जिनियर चौहानका अनुसार सुरूमा टुडी मेसिनको प्रक्रिया थालियो। त्यसपछि मात्रै ठूला अस्पताललाई सोधियो - तिमीहरूको आवश्यकता के हो? अर्थात् यो खरिद प्रक्रिया थाल्नुअघि आवश्यकता के हो पहिचान नै गरिएन।
सुरूमै निर्क्यौल नगरी कसरी प्रक्रिया थाल्नुभयो त? प्रश्नमा चौहान भन्छन्, ‘सुरूमा टुडी नै चाहिने कुरा आएको थियो, पछि बुझ्दै जाँदा थ्रिडी चाहिने भन्न थाल्नुभयो।’
टुडी मेसिनको बोलपत्र आह्वान गर्दा थ्रिडी सिस्टमसहितको माग गरिएको उनको दाबी छ। टुडी मेसिनमा क्यान्सरका स-साना कणहरू स्पष्ट र पारदर्शी रूपमा नदेखिने भएकाले थ्रिडीको माग ठूला अस्पतालले गरेपछि प्रक्रिया रद्द गर्ने निर्णयमा पुगिएको दाबी चौहानको छ।
‘टुडी मेसिनबाट स्क्रिनिङ गर्दा २५ प्रतिशतजति कीटाणु अपुरो देखिने भएकाले र क्लियर नदेखिने भनी ठूला अस्पतालले भनेकाले टेण्डर रद्द गर्यौं,’ उनको दाबी छ।
अर्थात् यो कथाको अन्तरवस्तु पनि कमिसनमै पुगेर विश्वसनीय स्रोतहरू बताउँछन्। यो खरिदमा मन्त्री बस्नेतका भतिजा राजकुमार बस्नेतले चलखेल गरेको आरोप छ। उनलाई भुसालको कम्पनीको ‘अघोषित पार्टनर’को आरोप लागेको छ।
बस्नेतले आफू निर्माण क्षेत्रसँग मात्रै संलग्न भएको र त्यो कम्पनीसँग आफ्नो कुनै साइनो नरहेको बताए। ‘मलाई विभिन्न व्यक्तिहरूले कहिले को सँग, कहिले को सँग जोड्ने गरिन्छ, मेरो व्यवसाय त्यता होइन, निर्माण क्षेत्र हो,’ उनले भने, ‘म झ्याल, ढोका, टायल, मार्बलको काम गर्छु।’
आफ्नो सेयर नभए पनि उक्त कम्पनीबाट मन्त्री बस्नेतलाई लाभ दिलाउन राजकुमारले ‘कमिसन एजेन्ट’को काम गरिरहेको आरोप लागेको छ।
यसबारे बस्नेतले मन्त्रीको आफन्त हुँदैमा जथाभावी नाम जोड्न नमिल्ने तर्क गरे। ‘मैले कुनै हिसाबले त्यस्तो काम गरेको छैन, नजिक भएको भनेर नाम जोड्दैमा संलग्नता पुष्टि हुँदैन,’ उनले भने।
भुसालको कम्पनी विवादमुक्त छैन। कोभिड-१९ ताकै यो कम्पनी विवादमा आएको थियो। वीर र नेपाल प्रहरी अस्पतालमा भेन्टिलेटर खरिद गर्दा उक्त कम्पनी विवादमा आएको थियो।
बजार मूल्यभन्दा तेब्बर मूल्यमा भेन्टिलेटर सप्लाई गरेको आरोप भुसालको कम्पनीलाई लागेको थियो।
दुई महिनामा टुडीबाट थ्रिडी बन्ने कस्तो खालको खरिद इकाई छ स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा? जसले प्राविधिक आवश्यकताको पहिचान नै नगरी खरिद प्रक्रिया अघि बढाउँछ? भन्ने प्रश्नमा खरिद इकाई प्रमुख डा. सुरेन्द्र चौरसिया भन्छन्, ‘मलाई प्राविधिक पाटोबारे सबै कुरा थाहा हुँदैन, मेरा बायोमेडिकल ईन्जिनियरहरूलाई सोध्नुहोला।’
बायोमेडिकल ईन्जिनियर चौहानले सुरूमा थ्रिडी अपग्रेड गर्न मिल्ने खालको टुडी उपकरण खरिद गर्ने प्रक्रिया थालिएको बताए। ‘आवश्यकता पहिचान नगरी खरिद प्रक्रिया अघि बढाइएको होइन, छलफल गर्दैजाँदा थ्रिडी नै चाहिन्छ भन्ने कुरा भएकाले टुडीको प्रक्रिया अहिले रद्द गरिएको हो।’
मेमोग्राफीजस्तै अन्य ठूला उपकरण खरिदको प्रक्रिया महाशाखाले थालेको छ। जसमा स्वास्थ्य मन्त्री बस्नेतका नजिकका व्यक्तिहरू जोडिएर आएका छन्।
अर्को उपकरण एक्मोपम्पको खरिदमा पनि सुन्दर भुसालको कम्पनी जोडिएको छ। स्वास्थ्य मन्त्रालयले त्यो पाँच अर्बभित्र अन्य थुप्रै उपकरण खरिदको प्रक्रिया चालिरहेको छ। त्यसमा मन्त्री बस्नेत र उनी निकटका व्यक्तिहरू जोडतोडले लागिरहेका छन्।
यो पनी हेरौं,
स्वास्थ्य उपकरण खरिद (शृंखला-१) - विश्व बैंकको पाँच अर्बमा स्वास्थ्य मन्त्री बस्नेतको ‘दादागिरी’