ग्यास्ट्रिक हुन नदिन दैनिक भोजन कस्तो हुनुपर्छ?
काठमाडौं । ग्याष्ट्राइटिसलाई सामान्य भाषामा हामी ग्यास्ट्रिक भन्छौं । तर यसको खास नाम ग्याष्ट्राइटिस हो ।
हाम्रो खाना नलीको तल्लो भाग खाना लैजाने पाइप हुन्छ । त्यसबाट आमाशयमा पुग्छ र, थुप्रन्छ । आमाशयको भित्र पट्टीको पातलो झिल्ली सुन्निनुलाई ग्याष्ट्राइटिस भनिन्छ ।
ग्याष्ट्राइटिस हुँदा पेट ढुस्स हुने, अमिले पानी आउने, डकार आउने, खाना खाने बित्तिकै पेट भरिए जस्तो महसुस हुने, वाक वक लाग्ने जस्ता लक्षण देखिन्छन्।
ग्याष्ट्राइटिस हुने कारणहरु धेरै हुन्छन्। किन धेरै हुन्छ भने। यो समस्या पनि धेरैलाई छ । संसारमा सबैभन्दा धेरैमा दखिने रोग यहि होला ।
यो विभिन्न किसिमको छ । एउटा अटो इम्युन ग्याष्ट्राइटिस इम्युन सिस्टम खराब भएर हुने ग्याष्ट्राइटिस हो । यसले एट्रोफिक बनाउँछ । अर्थात भित्र पट्टीको मुबेसलाई सुकाइदिन्छ । त्यसबाट क्यान्सर हुने सम्भावना धेरै हुन्छ । यसलाई चिकित्सकीय भाषामा ग्याष्ट्राइटिस ए भनिन्छ ।
अर्को किटाणुबाट हुने ग्याष्ट्राइटिस हुन्छ । एचपाइलरी भन्ने किटाणु हुन्छ । ७० प्रतिशत ग्याष्ट्राइटिस गराउने कारक यहि किटाणु हो । एक अध्ययनले यो फोहार, प्रदुषित पानी, खाना, बाट जाने पत्ता लागेको छ। किटाणुका कारण ग्याष्ट्राइटिस भएका व्यक्तिको जुठो खाँदा पनि यो रोग सर्न सक्छ । किनभने ¥यालबाट पनि यो सर्न सक्छ ।
नेपाल, भारत, भुटान, बंगलादेश जता देशहरुमा ग्याष्ट्राइटिसको कारण सबैभन्दा बढि यो किटाणु हुन्छ । यसले अल्सर र कालान्तरमा क्यान्सर पनि गराउँछ ।
खानपिनका कारणले पनि ग्याष्ट्राइटिस हुन्छ । बढि मसाले दार खानेकुरा, चल्लो, पिरो, तारेको, बासी खाना खानाले पनि ग्याष्ट्राइटिसको जोखिम बढाउँछ । सबैभन्दा खराब फ्राइ गरेको मासु हो । र, आगोमा पोलेको मासुले क्यान्सर पनि गराउँछ । अंगुर भएका खानेकुरा खानुहुँदैन । एकपटक उमालेको तेल पुन पटक पटक तताएर खानु हुँदैन । यस्ता खानेकुराले पनि क्यान्सरको जोखिम बढाउँछ। त्यस्तै समयमा नखाने, बढी व्रत बस्ने यस्तो अवस्थामा पनि एसिड बढि हुन्छ ।
हाम्रो शरिरको भित्र आमाशयमा हाइटोप्लोरो एसिड बन्छ । यो एक किसिमको अम्ल हो । जसले खाना (प्रोटिन) लाई पचाउँछ । भोको बस्दा पचाउने केहि हुँदैन र त्यो अम्लले आफैलाई पचाउन थाल्छ ।
ग्याष्ट्राइटिस हुनु अघि त्यहाँको लेयरहरु पातलो हुँदै जान्छ । एसिडले नै गलाउँदै जान्छ। घाउ हुन्छ । र दुख्ने क्रम सुरु हुन्छ ।
शरीरभित्र विभिन्न किसिमका मेकानिजम हुन्छ । बचाउने र हान्ने मेकानिजम बिग्रेपछि ग्याष्ट्राइटिस हुन्छ ।
हामीले जथाभावि औषधि खान्छौं । टाउको दुखेको औषधि, घुडा दुखेको, ढाड दुखेको औषधि धेरै खाँदा एसिड सेकरेसन गराउन मद्धत गर्छ । त्यसले गर्दा पनि ग्याष्ट्राइटिस हुन्छ ।
धेरे तनावले पनि ग्याष्ट्राइटिस हुन्छ । डरका कारणले क्षणिक ग्याष्ट्राइटिस हुन्छ । यो दुई चार दिनलाई हुन्छ ।
आहाविहार गर्दा भएको ग्याष्ट्राइटिस पनि एक दिन वान्ता हुन्छ वा पेट दुख्छ । नरम खानेकुरा खाएर एन्टासिल मात्र खाएपनि सन्चो हुन्छ । त्यसमा लामो औषधि खानुपर्दैन ।
क्रोनिक ग्याष्ट्राइटिस, किटाणुबाट हुने ग्याष्ट्राइटिस र सधै औषधि खाइ राख्नुपर्ने (मुटुको बिरामी) व्यक्तिलाई दीर्घ ग्याष्ट्राइटिस हुन्छ । त्यता व्यक्तिले नियमित औषधि खानुपर्ने हुन्छ । यी ग्याष्ट्राइटिस बिग्रेपछि अल्सर हुन्छ । अल्सर भएपछि दिसाबाट रगत बग्ने हुन्छ । रक्तअल्पता हुन्छ । कहिलेकाहिँ दिसा कालो हुन्छ । कसैले रगत नै वान्ता गर्छ ।
घाउ साँघुरिदै गो भने आमाशय सानो आन्द्राको मुख नजिकको घाउ साँघुरिए नली नै बन्द भएर खाना नै तल नजाने हुन्छ । र शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । कहिलेकाहिँ आन्द्रा नै प्वाल पर्ने पनि हुन्छ । धेरै बिग्रिए क्यान्सर पनि हुन्छ ।
त्यसकारण यसलाई साधारण किसिमले लिनुहुँदैन । समयमा नै ग्याष्ट्राइटिस गराउने कारण लाई व्यवस्थापन गर्नुपर्छ । सन्तुलित खानेकुरा खाने, समयमा खाना खाने, समयमा नै सुत्ने, ६ देखि ८ घण्टा आरामसँग सुत्ने, तनाव बढि लिनुहुँदैन । खानेकुरालाई उमालेर पखालेर राम्रोसँग सफा गरेर खानुपर्छ ।
ग्याष्ट्राइटिस र पाचन प्रणालीको सम्बन्ध
ग्याष्ट्राइटिस एसिड बढी हुँदा पनि हुन्छ र, कम हुँदा पनि हुन्छ । एसिड बढि भएर हुने ग्याष्ट्राइटिसमा कब्जियत हुन्छ । एसिड कम हुनेमा पखाला लाग्ने हुन्छ ।
पाचन क्रिया सानो आन्द्रामा हो । ग्याष्ट्राइटिस भए राम्रोसंग खान सकिँदैन । पेट दुख्छ भनेर खान डराउने अवस्था आउँछ । यस्तो अवस्थामा पाचन प्रणालीमा असर गर्छ ।
सानो आन्द्राको अल्सर भए भोक बढी लाग्छ । भोको पेटमा बढी भोक लागेर खाँदा दुख्न कम हुन्छ । आमाशय भन्दा माथिको ग्याष्ट्राइटिस भए खाना खाने बित्तिकै पेट दुख्छ । यस्तो अवस्थामा खाना खान डराइन्छ । त्यसपछि मान्छे दुब्लाउँदै जान्छ । शरिर कमजोर हुँदै जान्छ । भिटामिन, प्रोटिन लगायत सबै कमी हुन्छ । त्यसकारण यस समस्यामा ख्याल गर्नुपर्छ ।
दैनिक भोजन
दिनमा तीन देखि चारपटक खानुपर्छ । बेलुका खाना खाने बित्तिकै सुत्दा खाना पच्दैन । खाना पच्नको लागी मोबिलिटी हुनुपर्छ । सुत्नुभन्दा ती घण्टा अगाडि खाना खानुपर्छ । त्यो पनि हल्का खाना खानुपर्छ ।
बिहान र दिउँसोको खान अलि बढी खानुपर्छ । विद्यार्थीहरु बिहान नखाई जाने, काममा जाने मान्छे पनि हतारिएर नखाइ जाँदा पनि ग्याष्ट्राइटिस बढी हुन्छ ।
खाना खाने थोरै खाने तर लामो समय अन्तर राख्नु हुँदैन । बेलुका १० बजे सुते पनि बिहान केहि नखाए पेट खाली हुन्छ । पेटमा एसिड बनेको हुन्छ । त्यसैले बिहान मिलाएर नै खानुपर्छ ।
बिहान सकेसम्म हेभी खाजा खानुपर्छ । बिहानको खाजामा ब्रेड, बोइल अण्डा, तरकारी, स्याउ र एक गिलास दुध खान सकिन्छ । दिउसो खानामा दाल भात, रोटी तरकारी खाने र दिउँसो एक गिलास दही, दुध, फलफुल वा दुई पिस बिस्कुट खाँदा पनि हुन्छ । बेलुका थोरै सुप, केहि फलफुल र दुध खाएर सुत्न सकिन्छ ।
नेपालीले खाना व्यवस्थापन गर्न जानेका छैनन्। दाल भातलाई मात्र खानाको रुपमा लिन्छन्। सबै चिज खानेकुरा हो तर कसरी खाने भन्ने चाहि जान्नुपर्छ ।
धेरैजसो व्यक्तिले बिहान दुब्लाउन लागी मह, कागती र पानी खाने गरेको पाइन्छ । बिहान भोको पेटमा एसिड हुन्छ । त्यसमाथि एसिड थप्दा पेट दुख्छ । कागती खानपरे दालमा मिसाएर खान सकिन्छ । शरिरलाई भिटामिन सी पनि आवश्यक पर्छ । यसले शरिरको इम्युनिटी पावर बढाउँछ । कागती खानुपर्छ तर खाली पेटमा खानुहुँदैन । धुम्रपान मद्यपानले पनि ग्याष्ट्राइटिस बढाउँछ ।
( डा. पौडेल सिभिल अस्पतालका कार्यकारी निर्देशक पनि हुन्। )