post-slider post-slider

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र

Image

कास्की। पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ।

नागरिकलाई घर स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ। हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन्।

महानगरले वडा नम्बर १९ को लामाचौर, वडा नम्बर २१ र वडा नम्बर २४ को बास्कोटमा सहरी स्वास्थ्य केन्द्र स्थापना कार्य अघि बढाएको हो।

लामाचौर र वडा नम्बर २१ मा सहरी स्वास्थ्य केन्द्रका लागि पूर्वाधार तयार भइसकेकाले आवश्यक जनशक्ति र साधन स्रोत व्यवस्था गरी छिट्टै सञ्चालमा आउने महानगर स्वास्थ्य महाशाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले बताए।

उनले भने ‘नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा सहरी स्वास्थ्य केन्द्रबाट उपलब्ध हुन्छ। थप तीनवटा स्वास्थ्य केन्द्र सञ्चालनको काम सुरु भएको छ।’

कास्की कोटको बास्कोटमा पूर्वाधार निर्माणकार्य सुरु भएको छ। बास्कोट सहरी स्वास्थ्य केन्द्र भवन रु चार करोड लागतमा निर्माण हुँदैछ। सो केन्द्र भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने महानगरले जनाएको छ।

दुई तलाको सुविधासम्पन्न सो सहरी स्वास्थ्य केन्द्रको भवनलाई भविष्यमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ। सो वडामा हाल स्वास्थ्यचौकी सञ्चालनमा छ।

पोखरा–२४ को तल्लो भाग र वडा नम्बर २३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधासम्पन्न बनाइने महानगरले जनाएको छ। महानगरका वडाहरूमा ल्याब परीक्षणसहितका शिविर सञ्चालनका अभियानसमेत थालिएको छ।

पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकलाई सुविधा हुने बताए।

सामान्य स्वास्थ्यसम्बन्धी समस्या भएपछि पोखरा बजार नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास व्यक्त गरे। पोखरा महानगर मातहतमा अहिले एक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुई, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र एक, स्वास्थ्यचौकी १९ र सहरी स्वास्थ्य केन्द्र २३ वटा सञ्चालमा छन्। 
रासस

Tags: