post-slider post-slider

दाँतको क्यापिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु 

Image

काठमाडौं । रुट क्यानल ट्रिटमेन्ट गरिसके पछि पुरानो दाँत को सहारा लिएर दाँत कै आकार को कृत्रिम दाँत को टोपी लगाउने काम लाई दाँत को क्यापिङ  अथवा क्रोनिङ भनिन्छ । 

रुट क्यानल गरेर दाँत भित्र रहेको संवेदनशील नसा हटाइसके पछि र दाँतको फेदमा रहेको पीप आदि को फोहर सफा गरिसके पछि बाँकी रहेको पुरानो दाँतलाई घोटेर नयाँ दाँत राख्न मिल्ने बनाए पछि धातुको वा सेरामिकको कृत्रिम दाँत लगाउने क्रिया आजभोलि निकै मानिसले अपनाउन थालेको पाइएको छ । ९० प्रतिशत अवस्थामा रुट क्यानल गरिसके पछि दाँतमा क्यापिङ गर्नै पर्ने हुन्छ । 

कतिपयले रुट क्यानल पछि सिमेन्ट भरेर काम चलाउन खोज्छन् जुन खासै लोकप्रिय छैन । दाँत को टोपी लगाउने यो प्रविधि लोकप्रिय हुनुको महत्त्वपूर्ण कारण लगाउन खोजिएको कृत्रिम दाँत लामो समय सम्म टिक्ने र आफ्ना प्राकृतिक दाँत कै रंग रुप मा समेत राख्न पाइने हो ।

क्यापिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु

यदि त्यो ठाउँमा दाँतको क्यापिङ सेवा पनि उपलब्ध छ भने सकेसम्म जहाँ दाँतको रुट क्यानल गरिएको छ । त्यही ठाउँ मा क्यापिङ गर्नु उचित हुन्छ । किनकि रुट क्यानल गर्दा दाँत को अवस्थाका बारेमा डाक्टरलाई पूरा ज्ञान भइसक्छ । दाँत मा क्याप लगाउनका लागि विभिन्न किसिमका कृत्रिम दाँतहरु उपलब्ध हुन्छन् । धातुबाट बनेको या सेरामिकबाट बनेको । तिनको पनि विभिन्न क्वालिटी हुन्छ । दाँत जस्तै रंग देखिने बनाउन सेरामिक दाँत लगाउनुपर्छ । दाँत अनुसार मूल्य पनि फरक हुन्छ । आफ्नो आवश्यकता र मूल्य मा ध्यान दिनुसँगै डाक्टरको पनि सल्लाह लिएर दाँतको छनौट गर्नु राम्रो हुन्छ ।

क्यापिङ सँगै ब्रिजिङ

यदि क्याप हाल्न खोजेको दाँत सँगैको ठाउँ खाली छ । त्यो भन्दा पर अर्को प्राकृतिक दाँत छ भने क्याप हाल्न खोजेको दाँत र खाली ठाउँ पछिको दाँतको सहारा लिएर खाली ठाउँ मा पनि मिल्ने गरी दाँत हाल्न सकिन्छ । एसलाई ब्रिजिङ र पूल हालेको भनिन्छ । यसो गर्दा दुई तिरको दाँतको सहारामा बीचको दाँतले काम गर्छ । खाली ठाउँ भन्दा माथी दाँत छ भने यो प्रविधि अपनाएर खाली ठाउँलाई भर्न सकिन्छ । तर यदि खाली ठाउँको सोझै माथीको दाँत पनि झरिसकेको छ वा निकालिएको छ भने त्यो खाली ठाउँ ब्रिजिङ गरी गरी भर्नुको खासै उपयोगिता हुँदैन ।

क्यापिङ गर्नुपर्ने अन्य अवस्था

कहिलेकाहीं कुनै दुर्घटनामा दाँतमा चोटपटक लागेर वा अन्य कारण ले दाँतको केही भाग वा पूरै भाँचिने अवस्था आउँछ । कहिले कुनै गिजा सम्बन्धी रोग का कारण पनि दाँत झर्ने सम्भावना हुन्छ । कीराले खाएर दाँतको धेरै भाग क्षति हुने अवस्था पनि हुन्छ । यी सबै अवस्थामा दाँत मा क्यापिङ अथवा क्रोनिङ तथा ब्रिजिङको सहारा लिएर दाँतलाई पुरानै रुप र अवस्था मा फर्काउन सकिन्छ ।

क्यापिङ अथवा क्रोइङ कसरी गरिन्छ?

क्यापिङ गर्ने काम एउटै बसाई मा पूर्ण हुँदैन । आरसीटी गरिसकेको दाँत वा टुक्रिएको दाँतलाई प्रथमतः बीचमा टुसो बाँकी राखेर खियाउने र सतह मिलाउने काम गरिन्छ । त्यही टुसोको सहारामा नयाँ कृत्रिम दाँत राखिने हो । कृत्रिम दाँत कति ठूलो र कस्तो बनाउनु पर्ने हो । सो को मोटामोटी ज्ञान पाउनका लागि दाँतको तल्लो र माथिल्लो गरी दुवै भागको थ्री डाइमेन्सनल छाप लिइन्छ । सोहीका आधारमा जुन सामग्रीको प्रयोग गरेर दाँत बनाउनु पर्ने हो सो बनाइन्छ । कृत्रिम दाँतको बीचमा खाली ठाउँ हुन्छ । जहाँ त्यो टुसो ठ्याक्कै मिलोस् । दाँतको टुसो सँग त्यो कृत्रिम दाँत टाँसिने केमिकल को प्रयोग गरेर दाँत हालिन्छ ।

नरोगी नेपालको सहयोगमा 

Tags: