post-slider post-slider

हात्तीपाइले रोग निवारणका लागि सर्भे

Image

नेपालगञ्ज । हात्तीपाइले रोग निवारणका लागि बाँकेमा इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे सुरु गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेमा कोहलपुर नगरपालिकाबाट सर्भेको काम सुरु भएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले जानकारी दिए। 

गौतमका अनुसार बाँकेलाई दुई कलष्टरमा बाँडेर चार ठाउँमा सर्भेको काम हुनेछ । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई एउटा कलष्टर बनाइएको छ भने कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई अर्को कलष्टर बनाइएको छ।

यसअघि नेपालगन्ज उपमहानगरपालिका ४ र कोहलपुर नगरपालिका ६ मा सर्भे गर्ने गरिएकोमा यो पटक भने राप्तीसोनारी गाउँपालिका ४ र नरैनापुर गाउँपालिका ४ मा पनि सर्भे गरिने फोकल पर्सन गौतमले बताए । सर्भेका क्रममा पास हुने कलष्टरका स्थानीयले औषधि सेवन गर्नु नपर्ने जनाइएको छ । एउटै वडामा एक सय ५० घरसङ्ख्याका आधारमा तीन सय जनाको रक्त नमुना सङ्कलन गरेर जाँच गरिने र बाँकेमा एक हजार दुई सय नमुना सङ्कलन गरेर जाँच गर्ने लक्ष्य लिएको फोकलपर्सन गौतमले बताए । उनका अनुसार २० वर्ष उमेर माथिका नागरिकको रक्त नमुना सङ्कलन गरिनेछ । 

कोहलपुर नगरपालिका ६ रझेनामा तीन सय जना स्थानीयको रक्त नमुना सङ्कलन गरिएको छ । र्‍यापिट डाइगोनिष्टक टेस्टमार्फत माइक्रोफाइलेरिया फेला परे उनीहरूको फेरि राती दश बजेदेखि २ बजेसम्मको समयमा माइक्रो स्कोपबाट रक्त नमुना जाँच गरी हात्तीपाइले रोगको परिजिवी भए नभएको पुष्टि गरिने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका अधिकृत कुमार पोख्रेलले बताए । 

यदि २ वा दुई भन्दा कम माइक्रोफाइलेरिया पोजेटिभ देखिए पास भएको मानिन्छ र उक्त क्षेत्रमा औषधि सेवन कार्य रोकिने छ । तर तीनभन्दा बढी पोजेटिभ देखिए भने फेल हुने र पुनः दुई वर्ष औषधि सेवन गर्नुपर्ने हुन्छ । अघिल्लो पटक तीन सय जनामा रक्त नमुना परीक्षण गरिएकोमा रझेनामा ३५ जनामा पोजेटिभ देखिएको थियो । 

बाँकेमा विगत १३ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ । ६ वर्षमै औषधि अभियान पूरा हुनुपर्ने भएपनि सबैले औषधि नखाइदिएका कारण यो अभियान बाँकेमा निरन्तर चलिरहेको छ । विगत दुई वर्षदेखि यो अभियानमा तीन वटा औषधि खुवाउने गरिएको छ । 

कीटजन्य रोग अनुसन्धान शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार इपिडिमियोलोजिकल मोनिटरिङ सर्भेले २० वर्षभन्दा माथिका मानिसहरूको शरीरमा रोग भए नभएको यकिन गर्नेछ । सर्वेक्षण गरिएको भौगोलिक क्षेत्रमा आम औषधि सेवन कार्यक्रमको प्रभावकारिता समेत थाहा हुने डा.दाहालले बताए ।

Tags: