post-slider post-slider

सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?

Image

बिहान साढे ९ बजे सबैजसो कर्मचारीहरू कार्यालयको हलमा जम्मा हुन्छन्। अन्य समयमा बैठक गर्ने शैलीमा कर्मचारी र सुरक्षाकर्मी वरिपरि राखिएको कुर्सीमा बस्छन्। अनि प्राणायाम र ध्यानको १५ मिनेट अभ्यास गर्छन्।

जिल्ला प्रशासन कार्यालय रामेछापले गत सोमवारदेखि यो अभ्यास थालेको छ।

केन्द्रमा गृह मन्त्रालयले आफ्ना कर्मचारीलाई ध्यान र योगको अभ्यास गर्न दिएको निर्देशन मातहतका कार्यालयसम्म पठाउनुअघि नै रामेछापले भने कार्यान्वयन गर्ने प्रयास थालिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

खाना खाने बित्तिकै को समयमा पेटलाई असजिलो नहुने योग आसनमा बस्नुपर्ने भएकाले कुर्सीमा बसेर प्राणायाम अनि ध्यानको अभ्यास गरिने प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन्।

"दैनिक कार्यालय सुरु हुँदा शान्त मन र सकारात्मक सोच लिएर काम गर्ने प्रयास स्वरूप हामीले अभ्यास सुरु गरिसकेका छौँ," आफैँ योग प्रशिक्षक रहेकी निरौलाले भनिन्।

गृह मन्त्रालयको निर्देशनमा के छ?

गत बुधवार मन्त्रालयभित्र "सबै कर्मचारीहरूले हरेक दिन बिहान १०:१५ भित्र अनिवार्य रूपमा कम्तीमा १५ मिनेट समय योगाभ्यास/ध्यान गरेर मात्र आ-आफ्नो कार्य जिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउनु" भनि निर्देशन दिइएको थियो।

मन्त्रालय मातहतका देशभरका सबै कार्यालय र सुरक्षा निकायलाई छिट्टै उक्त निर्देशन दिनेबारे तयारी भइरहेको गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त रेग्मीले बताए।

त्यसका लागि पहिला कर्मचारीहरूलाई योग प्रशिक्षण दिइसकेपछि त्यसै अनुसार योग/ध्यान गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

गत शनिवार ‘जीवन विज्ञान’का गुरुहरूले कर्मचारी तथा सुरक्षाकर्मीलाई उपयुक्त हुने गरी योग र ध्यानको विधि सिकाएको गृहमन्त्रालयका सह प्रवक्ता रेग्मीले बताए।

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहका कर्मचारीहरू करिब ३०० जना सहभागी थिए।

अहिले गृह मन्त्रालयभित्र लागु गर्न भनिएको निर्देशनबारे बोल्दै सहायक प्रवक्ता रेग्मीले भने, “कार्यक्षमतामा अभिवृद्धि गर्न, कार्यशैलीमा सकारात्मकता ल्याउन, नागरिक मैत्री व्यवहारलाई थप प्रवर्द्धन गर्न तनाव व्यवस्थापन आवश्यक रहेकोले कार्यालय पुग्ने बित्तिकै १५ मिनेट ध्यानको अभ्यास गर्न भनिएको हो,” उनले भने।

सबै कर्मचारीको राय अनुसार गृह मन्त्रालयले ध्यान/योग गर्ने निर्णय गरेर सबैलाई निर्देशन दिइएको उनले बताए।

उक्त निर्देशन अनुसार कार्यालय समय १० बजेबाट सुरु भएपछि सुरुको १५ मिनेट ध्यान गर्न भनिएको हो।

तर जिल्ला प्रशासन कार्यालय रामेछापले १० बजे ध्यानमा बस्दा सेवाग्राहीलाई के प्रयोजनका लागि गरिएको भन्ने बुझाउन सुरुमा गाह्रो हुने भन्दै अहिले ९:३० बजे सुरु गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताइन्।

उनी आफैँ योग प्रशिक्षक हुन् र गत शनिवार काठमाण्डूमा भएको एक दिवसीय कार्यक्रममा उनी सहभागी थिइन्।

“विगत चार दिनदेखि हामीले ध्यानको अभ्यास गरिरहेका छौँ। कम्तीमा एक महिना साढे ९ मै कार्यालय आएर गर्ने प्रयास गरेका हौँ,” उनले भनिन्, "हामीले कार्यालय समय सकिएपछि पनि १५ मिनेटका लागि ध्यानमा बस्ने अभ्यास गरिरहेका छौँ।"

तर रामेछाप जिल्ला प्रशासन कार्यालयले गरेको यो अभ्यास स्वेच्छाले कर्मचारीहरूसँग छलफल गरेर थालिएको उनले बताइन्।

ध्यानको विधि

बिहान १५ मिनेट गरिने ध्यानको प्रक्रियाबारे बताउँदै निरौला भन्छिन्, “हामी बसेर नमस्कार प्राणायाम सुरु गर्छौँ। प्राणायाम गर्दा सुन्ने सङ्गीत सुन्दै सास छोड्ने अनि लामो र गहिरो सास लिने विधि छ।”

त्यसपछि सङ्गीत बन्द गरेर हातलाई ज्ञान मुद्रामा राखेर मौन बसी साक्षी भावले आफूलाई हेर्ने अभ्यास गर्ने निरौलाले बताइन्।

यसरी ध्यान गर्दा कुर्सीमै बसे पनि मेरुदण्ड, गर्दन र शिरलाई सीधा राख्नुपर्ने उनी बताउँछिन्।

त्यति गर्दा १५ मिनेट बित्ने र त्यसपछि पुन: लामो र गहिरो सास लिने अभ्यास गर्ने गरिन्छ।

"त्यसपछि दुवै हत्केलालाई शिरको माथि लगेर घर्षण गर्छौँ। ध्यानबाट प्राप्त भएको उर्जालाई हत्केलामा स्पर्श गर्छौँ र त्यही उर्जालाई आँखामा सेक्दै सेक्दै बिस्तारै आँखा खोल्छौँ," उनले भनिन्।

"ध्यानबाट प्राप्त उर्जा हत्केलामार्फत हामीभित्र नै प्रवेश गरोस् र हामीभित्र रहेको जीवन उर्जामा बढोत्तरी भइ दिनभरि खुसी भएर काम गर्न सकौँ।"

गृहको निर्देशनबारे सामाजिक सञ्जाल प्रयोगकर्ता के भन्छन्?

गृह मन्त्रालयले आफ्ना कर्मचारीलाई दैनिक कार्यालय सुरु हुने समयमा १५ मिनेट ध्यान र योग गर्न भनेको विषयलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ।

कतिपयले कर्मचारीले त्यसलाई गम्भीर रूपमा नलिने बताएका छन् त कतिपयले खाना खाएपछिको समयमा त्यो त्यति ठिक नहुने बताएका छन्।

एक्स प्रयोगकर्ता राधा कोइराला लेख्छिन्, “राम्रो कामको सुरुवात। गम्भीरतापूर्वक यसले निरन्तरता पाउनेछ भन्नेमा विश्वस्त छु।”

त्यस्तै फेसबुक प्रयोगकर्ता मधु पाण्डेले योगमा भन्दा पनि सकारात्मक कुरामा कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका छन्।

उनले लेखेका छन्, “योग होइन। १५ मिनेटमा सकारात्मक कुराहरू गरेर कर्मचारीलाई प्रोत्साहन गर्न र गराउन सकिन्छ। धेरैजसो विभाग र कार्यालयहरूमा उपल्लो दर्जाका कर्मचारी र तल्लो तहको कर्मचारी बीच भेटघाट, बोलचाल नै हुँदैन। आफ्नो सेवाप्रति सुखानुभूति गर्न पनि भेटघाट राम्रो मानिन्छ।”

मन्चला झा भने खानापछिको समयमा ध्यान ठिक भए पनि योग ठिक नहुने धारणा राख्छिन्।

तर योग प्रशिक्षक समेत रहेकी निरौला भने खानापछि गर्दा स्वास्थ्यलाई असर नगर्ने ध्यानको विधि अभ्यास गरिने बताउँछिन्।

अहिले मन्त्रालयका कर्मचारी मात्रैले गर्ने यो ध्यान विधि बिस्तारै गृह मन्त्रालय मातहतका देशभरका निकायहरूले पनि गर्ने सहायक प्रवक्ता रेग्मीले बताए।

त्यसरी ध्यान र योग अभ्यास गर्नेको सङ्ख्या करिब सवा लाख हुने उनी बताउँछन्।

तर कतिपयले भने सरकारले ल्याउने यस्ता अभ्यास दिगो हुनेमा आशङ्का व्यक्त गरेका छन्।

यसअघि विक्रम सम्बत २०७० सालमा लिलामणी पौडेल मुख्य सचिव हुँदा केही सरकारी कर्मचारीलाई विपश्यना ध्यानका लागि बूढानीलकण्ठस्थित मुहान पोखरीमा १० दिने ध्यान शिविरमा लगिएको थियो।

त्यसअघि सरकारी कर्मचारीले एक वा तीन दिवसीय ध्यान/योग पनि गरेका थिए।

तर त्यसले पछिल्ला वर्षहरूमा निरन्तरता पाएन।

अहिले गृहमन्त्रालयले थालेको ध्यान/योगको अभ्यास पनि निरन्तर हुनेमा कतिपय आशङ्का व्यक्त गर्छन्।

त्यो चुनौती रहेको स्वीकार गर्दै त्यसका लागि ध्यानको अभ्यासले के फाइदा गर्छ भन्नेबारे कर्मचारीले बुझ्न सके त्यसलाई दीगो बनाउन सकिने निरौला बताउँछिन्।

पूर्व मुख्य सचिव लीलामणि पौडेल चाहिँ गृह मन्त्रालयको निर्णय राम्रो भएको बताउँछन्।

यसले कर्मचारीहरूलाई सकारात्मक हुन सहयोग पुर्‍याउने उनी बताउँछन्।

केही देशमा कर्मचारीले ध्यान र योग गरेपछि त्यसले कर्मचारीतन्त्रमा सकारात्मक सुधार ल्याएको देखिएको पनि उनले उल्लेख गरे।

तर ध्यान वा योग निर्देशन अनुसार अनिवार्य भन्दा पनि स्वेच्छाले गरिनुपर्ने पौडेल बताउँछन्।

"ध्यान वा योग गर्ने भनेको व्यक्तिले आफ्नै इच्छाले हो। अनिवार्य गर्नु ठीक होइन," उनले भने।

"अनि कार्यालय समयभित्र गर्नु हुँदैन। जो कर्मचारीलाई गर्न मन छ उनीहरूलाई कार्यालय अगाडि वा पछाडि स्थानको व्यवस्था गरिदिने, प्रशिक्षकको व्यवस्था गरिदिने गर्नुपर्छ।"

बीबीसी 

Tags: