post-slider post-slider

चिकित्सक कुटपिट प्रकरणः देशभरका चिकित्सक आन्दोलित 

Image

काठमाडौं । अहिले देशभरका चिकित्सक आन्दोलित छन् । कारण हो, मकवानपुरको हेटौडास्थित सञ्चो अस्पतालमा कार्यरत दुई  चिकित्सकमाथि भएको आक्रमण । 

चिकित्सकका विभिन्न संघ संस्थाहरुले सेवामा खटिएका चिकित्सकहरुमाथि भएको सांघातिक आक्रमणले मनोबल गिरेको बताउँदै आन्दोलित बनेका हुन्। 

घटनाको जड 

गत २२ साउनमा हेटौडा उपमहानगरपालिका–१२ का ४१ वर्षीय राजेश प्रधान अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । २३ साउन अस्पतालले ती बिरामीलाई चितवन मेडिकल कलेजमा लगेर उपचार गराएका थिए। तर, उपचारकै क्रममा २५ भदौमा प्रधानको मृत्यु भएको थियो । त्यही मृत्युको विषयलाई लिएर एक महिनापछि बिरामीका आफन्तले बुधबार अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरेका थिए । 

एक महिनापछि उनीहरुले सन्चोका चिकित्सकको लापरबाहीका कारण प्रधानको मृत्यु भएको भन्दै चिकित्सकमाथि आक्रमण गरेका थिए । चिकित्सकमाथि आक्रमण भएपछि पछि हेटौडाका चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । ्

देशभरका स्वास्थ्यकर्मी आन्दोलित

नेपाल चिकित्सक संघ (एनएमए)ले सिसिटीभी फुटेजमा कैद भएको घटनाको छानविनमा पनि सुरक्षा निकायले गम्भीरता नदेखाएको जनाएको छ । घटनाका दोषीलाई ७२ घण्टाभित्र कारवाही नगरे देशभरका चिकित्सकहरु आकस्मिकबाहेकका सेवाहरु बन्द गरेर आफ्नो सुरक्षाका लागि खटिन बाध्य हुने एनएमएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

एनएमएले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानूनी कारवाही गर्न माग गरेको छ । त्यसमा अन्य स्वास्थ्यकर्मी संघ संस्था र अस्पतालका कर्मचारीहरुले पनि एक्येबदता जनाएका छन्।  

राष्ट्रिय चिकित्सक संघले पनि चिकित्सकद्वय डा थापा र डा बिडारीमाथि अस्पतालमै सेवामै रहेका बेला भएको बर्बर र क्रुरतापूर्ण भौतिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यो घटनामा घाइते भएका चिकित्सकको स्वास्थ्य लाभको कामना गर्दै संघले घटनाले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल गिरेको र निरुत्साहित भएको उल्लेख गरेको छ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षा ऐन २०६६ तथा २०७९’ को संशोधन अनुसार उक्त घटनाको छानबिन गरी कारवाहीको दायरामा ल्याउन संघले माग गरेको छ । 

संघले उक्त घटनामा उल्टो मिलापत्र गराउने जिम्मेवार प्रहरी अधिकारीमाथि समेत नियमानुसार कारवाहीको दायमा नल्याए जस्तोसुकै आन्दोलन उठाउन तत्पर रहेको राष्ट्रिय चिकित्सक संघले चेतावनी दिएको छ ।

नेपाल प्रगतिशील चिकित्सक संघले गृह मन्त्रालय समक्ष तत्काल यस घटनाको गम्भीर छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार आक्रमणकारीहरूलाई तुरुन्त कारबाहीको माग गरेको छ । 

दोषीलाई तुरुन्त कारबाही नभए देशभर रहेका चिकित्सकका विभिन्न संगठनले एकेबद्धता जनाउँदै आन्दोलनमा उत्रिने संघका अध्यक्ष डा मधुर बस्नेतले विज्ञप्तीमा जनाएका छन् । 

प्रजातन्त्रवादी चिकित्सक संघका महासचिव डा संयुक्त आचार्यले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ लाई अविलम्व कार्यान्वयन गरी देशभर शान्तिपूर्ण वातावरण तयार नगरिएको अवस्थामा अप्रिय कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवार नेपाल सरकार नै हुने बताएका छन् ।

त्यस्तै बैतडी जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुले पनि बिरोध जनाएका छन्। उनीहरुले दोषीलाई कारवाही नभएसम्मको लागि सेवा नदिने घोषणा गरेका छन्। 

स्वास्थ्यकर्मीहरुले विरोधका कार्यक्रमहरु समेत सार्वजानिक गरेका छन्। आज कालोपट्टी बाँधेर विरोध गर्ने र स्टेथिस्कोप जिल्ला प्रशासनमा बुझाउने, भोलि देखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्।  बैतडी जिल्ला अस्पतालका सम्पुर्ण चिकित्सक सहमत हुँदै हस्ताक्षर गरेर आजै जिल्ला प्रशासन कार्यलयमा जानकारी गराइसकेका छन्।  ।

बैतडीका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा लेखिएको छ, ‘स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा यस्ता किसिमका गतिविधि जुनसुकै अस्पताल र जो सुकैलाई जतिबेला पनि पर्न सक्ने भएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभुति नभएकाले दोषीलाई कारवाही नभएसम्मको लागि मानसिक रुपले विक्षिप्त अवस्थामा हामी बिरामी हेर्न असमर्थ रहेको जानकारी गराउदछौ।’

Tags: