post-slider post-slider

‘मैले यहाँबाट सफाइ पाएँ, मान्छेको मानसिकताबाट कसरी पाउने?’

Image

काठमाडौं। गत साता बिहिबार दिउँसो एक बजे डा रञ्जित कुमार यादवको मोबाइको घण्टी बज्यो। नचिनेको नम्बर देखेर दुविधामै फोन उठाएँ। साथीको नाम लिँदैं भेट्ने इच्छा व्यक्त गरे। उनले आफ्नो डेरा नजिकै भक्तपुरस्थित लोकन्थली आउन भने। 

तीन बजे फेरि त्यहि नम्बरबाट फोन आयो। उनी डेराबाट बाहिर निस्किए। उनको सामु एक टोली थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट भनेर  हत्कडी लगाएर भ्यानमा राखे र, सिआईबीको कार्यलय लगे। 

उनलाई त्यसबेला आफूलाई कहाँ लगिँदैछ? के कसुरमा लगिँदै छ? भन्ने जानकारी समेत थिएन्। उनले बुझ्न खोज्दा सीआईबीका प्रतिनिधिले सोधपुछका लागि लैजान लागिएको सुनाए। 

राति १२ बजे सम्म रञ्जितलाई त्यहिँ राखियो। १२ बजे डिएसपी आउँछन् भनेर त्यहाँ राखिएको थियो। त्यसबेलासम्म डिएसपी नआएपछि उनलाई बग्गिखाना लगियो। भोलिपल्ट (शुक्रबार) साँझ पाँचबजे उनलाई काठमाडौं जिल्ला अदालत ल्याइयो। 

अदालतमा उनलाई केहि सोधिएन्। अनुसन्धान लागि पाँच दिनको म्याद लिइयो। र, उनलाई थप अनुसन्धानका लागि लगिने भयो।  

त्यसबेलासम्म रञ्जितलाईलाई सीआईबीले समातेको १४ घण्टा बितिसकेको थियो। १४ घण्टापछि उनले अदालतमा आफूलाई समातिनु कारण एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेको आरोप लागेको थाहा पाएका रहेछन्। त्यसपश्चात उनले त्यहिँ आफ्ना सबै सक्कली प्रमाण पत्र देखाए। 

तर, उनलाई ‘तपाईंले देखाएर हुँदैन, हामी छानबिन गर्छौं’ सीआइबीका अधिकारीहरूले भने र बग्गिखाना पु¥याए।  

नेपाल चिकित्सक संघको पहलमा उनको प्रमाणपत्र सक्कली भएको पुष्टि भएपछि सिआइबीले रिहा गर्ने प्रक्रिया अघि बढायो। र, उनी सिआइबीले समातेको ८१ घण्टा पछि आइतबार राती १२ बजे  रिहा भए। 

दोषि को?

सीआईबीले ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरूमाथि अपरेसन चलाइएको थियो।

यो अपरेसनमा डा.रञ्जितको नाममा अन्य कुनै व्यक्तिको कीर्ते डकुमेन्ट नेपाल मेडिकल काउन्सिलले सिआइबीलाई पठाएको थियो। सिआइबीले पनि त्यो डकुमेन्ट जाँच नगरी सिधै पक्राउ गरेको पुष्टि भएको छ। 

काउन्सिलले पठाएको डकुमेन्टभित्र कसको बाहिर कसको केही नहेरी सिआइबीले आफूलाई समातेको उनले दुखेसो पोखे। उनले भने, ‘फाइल हेरको भए सिआर्इबीलाई समाउनुअघि नै थाहा हुन्थ्यो। बाहिरको नाममात्र हेरेर मलाई समातियो।’

यसमा काउन्सिल र सिआइबी दुवै गलत देखिन्छन्। काउन्सिलले डकुमेन्ट पठाउँदा भेरिफाई नगरि पठाएको देखिन्छ भने फाइल नखोली नामको आधारमा सिआइबीले डा. रञ्जितलाई समात्नुमा सिआईबीको कदम पनि गलत थियो।

काउन्सिल र सिआइबी को गलत कदमले एक युवाको भविष्य धरासायी भएको छ। 

‘‘मैले यहाँबाट सफाइ पाएँ मान्छेको मानसिकताबाट कसरी पाउनेरु म सबैको नजरमा नक्कली डाक्टर भइसकेँ,’ रञ्जित भन्छन्, ‘गाउँतिरका मान्छेलाई म कसरी सम्झाउँ म नक्कली डाक्टर होइन् भनेर। यसले मेरो क्यारियरमा पुरै असर पा¥यो।’

विराटनगरस्थित नोबेल कलेजमा एमबिबिएस सकेर १४ महिना प्रदेश एकको स्वास्थ्य मन्त्रालयमा काम गरेका उनी यतिबेला एमडीको तयारी गरिरहेका छन्। यो घटना पश्चात आफ्नो भविष्य नै अन्योलमा परेको उनी बताउँछन्। ‘मेरो भविष्य नै अन्योलमा परेको छ। के गर्ने नगर्ने सोच्न सकिरहेको छैन। अहिले मानसिक तनावले गर्दा दिमागमा केहि पनि आइरहेको छैन,’ देखेसो पोख्दै डा.रञ्जितले भने। 

अरूले गल्ती गरेका कारण डा।रञ्जितलाई यतिबेला तनावग्रस्त बनाएको। उनले आर्जन गरेको प्रतिष्ठा र डाक्टर पढ्नका लागि गरेको मिहिनेत पछिल्लो पाँच दिनको घटनाक्रमले धुमिल बनाइदिएको छ। एमडी अध्ययन गरेर भविष्यका सपना साँचिरहेका रञ्जित चिन्तित बनेका छन्। 

‘तनावका कारण भविष्यमा अब म काम गर्न सक्दिनँ जस्तो लाग्न थालेको छ। जीवनभर नमेटिने दाग लाग्यो,’ उनी दुखेसो पोख्छन्, ‘पढ्नका लागि विदेश जान परे पनि यो मुद्धा देखेपछि असर पार्छ।’

आफू नक्कली नभएर सक्कली रहेको यो समाजलाई बुझाउनसक्ने कठिन परिस्थिति सिर्जना भएको उनको भनाइ छ।

आक्रोशित हुँदै उनी भन्छन्, ‘कि मैले सर्टिफिकेट टाउकोमा टाँसेर हिँड्नुप¥यो। कि सबैलाई  भन्दै हिँड्नुप¥यो म सक्कली डाक्टर हो। अब म नक्कली डाक्टर भइसकेँ।’

सानो साँघुरो  कोठमा विना कसुर रहँदा जेलमा नै बसे जस्तो महसुस भएको उनले बताए। उनलाई शारीरिक रुपमा केहि नभएपनि मानसिक रुपयो यो घटनाले निकै असर परेको उनी बताउँछन्। 

उनी रिहा हुनुमा नेपाल चिकित्सक संघ (एनएमए) ले सहायता गरेको उनी बताउँछन्। एनएमएले काउन्सिलमा गएर सक्कली डकुमेन्ट लगेर भेरिफाइ गराएपछि उनको रिहा हुने बाटो खुलेको हो। 

एनएमएले सीआईबीले डा।रञ्जितलाई पक्राउ गरी मानसिक तनाव सिर्जना गरेको भन्दै भन्दै विज्ञप्ति जारी गरेको छ। 

आफ्नो आजीवन सदस्य डा.रञ्जितलाई पक्राउ गरी मानमर्दन गर्दै न्यूनतम मानव अधिकारको हनन् गरिएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

संघले त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयता समेत गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआईबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कानूनी कारवाही गर्न समेत माग गरेको छ।

सिआइबी ले नक्कली डाक्टर भनेर समातिएका सक्कली डा। रञ्जितलाई छाडिएको भन्दै आज विज्ञप्तिसमेत जारी गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक रञ्जित कुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाण पत्र र आवेदन फारम भूलवश संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछौं।’ 

उनको प्राप्त पत्र र प्रमाण कागजातहरु अनुसार हाल पक्राउ परेका डा। रञ्जित कुमार यादव वास्तविक प्रतिवादी नभएको एकीन हुन आएको हुँदा उनलाई उक्त  जमानीमा छाडिएको सिआइबीले भनेको छ।

महोत्तरी, पिपरा ८ बस्ने विश्वनाथ यादवका छोरा वर्ष ३२ को रञ्जित कुमार यादवलाई २५ गते जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका, लोकन्थली बाट  पक्राउ गरिएको थियो। 

काठमाडौं जिल्ला अदालतबाट २६ गते पक्राउ पूर्जी स्वीकृति गरी पक्राउ मितिबाट लागू हुने गरी प्रथम पटक पाँच दिनको म्याद लिई ब्यूरोको हिरासतमा राखी अनुसन्धान भइरहेको थियो।

Tags: