post-slider post-slider

दाङमा बस दुर्घटनामा घाइते भएकामध्ये २७ जनाको भेरीमा उपचार हुँदै

Image

काठमाडौं ।  आइतबार बिहान दाङमा भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकामध्ये २७ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान बस दुर्घटनामा परी घाइते भएकामध्ये २७ जना बिरामीलाई उपचारका लागि भेरी अस्पताल लगिएको छ । उनीहरुको भेसर अस्पतालका विभिन्न वार्डमा उपचार भइरहेको सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा सङ्केत रिसालले जानकारी दिए ।

उनका अनुसार २७ जना घाइतेमध्ये ३–४ जना बिरामीको अवस्था गम्भीर छ । अन्य बिरामीको अवस्था सामान्य तथा मध्यम छ । घाइते भएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेको उनले जानकारी दिए ।

अस्पतालको इमर्जेन्सी विभाग, अर्थो विभाग तथा न्यूरो विभागले बिरामीलाई उपचार गरिरहेको सूचना अधिकारी डा.रिसालले जानकारी दिए । उनका अनुसार अधिकांश घाइतेको मुख, ढाड, टाउको, छाती, हात तथा खुट्टामा चोटपटक लागेको छ ।

बर्दियाबाट दाङ चखौरा भ्रमणका लागि जाँदैगरेको भे १ ख २०४१ नम्बरको यात्रुवाहक बस दाङको तुलसीपुर–अमिलिया सडकखण्डमा आइतबार बिहान दुर्घटना हुँदा ३५ जना व्यक्ति घाइते भएका थिए । घाइते सबै बर्दियाको बढैयाताल गाउँपालिका वडा ६ र ७ का बासिन्दा भएको प्रहरीले जनाएको छ ।

Tags: