post-slider post-slider

डाक्टरमाथि कार्यस्थलमै हातपात हुन थालेपछि एनएमएले बैठक बोलायो

Image

काठमाडौं । डाक्टरहरूमाथि कार्यस्थलमै हातपात हुन थालेपछि असुरक्षा बढेको भन्दै नेपाल चिकित्सक संघ (एनएमए) ले बैठक बोलाएको छ। 

देशका पछिल्ला घटनाक्रमहरू हेटौडा, बुटबल, लमजुङ, मणिपाल कलेज पोखरा, बिराटनगर, बगौडा अस्पताल चितवन, पाटन लगायतका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको विषयमा संघले बैठक बोलाएको हो । 

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुऱ्याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको आज प्रकाशित बिज्ञप्तीमा उल्लेख छ । 

‘हेटौडामा घटेको घटनालाई लिएर गत हप्ता सरकार समक्ष गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरूलाई लक्षित गरी सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइनु तथा स्वास्थ्य संस्थामा अत्यन्तै अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुण्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुऱ्याएको छ,’ बिज्ञप्तीमा उल्लेख छ ।  

यस प्रकारका सांघातिक आक्रमणमा संलग्न दोषीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही नगरिनु, सुरक्षाकर्मीहरूको भूमिका शंकास्पद हुनु तथा समग्र स्वास्थ्यकर्मीहरू अत्यन्तै असुरक्षित र भयभित भईरहेको विद्यमान अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण नहुने संघले जनाएको छ।

‘पोखरामा चिकित्सकमाथि भएको लाठीचार्ज तथा चिकित्सकलाई नै हिरासतमा राखिएको घटनाले कानूनी राज्यको उपहास गरेको छ,’ बिज्ञप्तीमा उल्लेख छ,  ‘त्यसैले अबिलम्ब दोषिहरूलाई कानूनी दायरामा ल्याई चिकित्सकीय सेवामा संलग्न जनशक्तिको सुरक्षा र कानूनी राज्य छ भन्ने प्रत्याभूति दिलाउने कार्यमा राज्य संवेदनशिल नभएकोले हालै देशभर सार्वजनिक भएका सम्पूर्ण आन्दोलनका कार्यक्रममा यस संघ ऐक्यबद्धता जाहेर गर्दछ ।

Tags: