post-slider post-slider

गाजाको अस्पतालमा भएको विस्फोटबारे भिडिओ, तस्बिर र अरू प्रमाणले के भन्छन्

Image

गाजा सिटीमा रहेको भिडभाडयुक्त अल अहली अस्पतालमा भएको घातक विस्फोटमा सयौंको मृत्यु भएको ठानिएको छ।

हमास नियन्त्रित गाजास्थिति प्यालेस्टिनी अधिकारीहरूले जानाजान हवाई हमला गरिएको भन्दै विस्फोटका लागि इजरेल जिम्मेवार रहेको तत्काल आरोप लगाए। इजरेलले आफ्नो संलग्नता अस्वीकार गरेको छ।

दाबी र प्रतिदाबीबीच सत्य थाहा पाउन एकदमै कठिन छ।

बीबीसी भेरिफाईले भिडिओ फुटेज, तस्बिर र प्रत्यक्षदर्शीको भनाइसहित अरू प्रमाणहरू अध्ययन गरी वास्तविकता पत्ता लगाउन प्रयास गरिरहेको छ। त्यसबाहेक बीबीसीका एक पत्रकार घटनास्थल पुगेका छ। त्यहाँ पहुँच सीमित छ।

घटनाबारे नयाँ कुराहरू निरन्तर आइरहका छन्। अतः हामी थप अध्ययन गर्ने छौँ र थप विज्ञहरूसँग कुरा गरेपछि यो सामग्रीलाई अद्यावधिक गर्ने छौँ।

भौतिक सङ्घर्षसँगै यो द्वन्द्व सूचनाको युद्ध बनेको पनि हामीले विचार गर्नुपर्छ। इजरेल र गाजास्थित अधिकारीहरूले विस्फोटबारे एकअर्कासँग पूर्णतः फरक विवरण दिएको यो पहिलो पटक चाहिँ होइन।

हामीले उनीहरूका विभिन्न दाबी र वक्तव्यलाई हेरिरहेका छौँ।

विस्फोट

गाजाको समयानुसार मङ्गलवार साँझ ७ बजेतिर विस्फोट भयो।

सामाजिक सञ्जालमा प्रेषित २० सेकेन्ड लामो भिडिओ उक्त घटनाको एउटा महत्त्वपूर्ण प्रमाणको रूपमा देखा पर्‍यो।

त्यसमा क्षेप्यास्त्र आउँदै गरेको आवाज सुनिन्छ र पछि विस्फोट हुन्छ अनि ठूलो आगलागी हुन्छ।

अल(जजीराले साँझ ६ः५९ बजे प्रसारण गरेको लाइभ फुटेजमा गाजाको आकाशमा चहकिलो प्रकाश देखिन्छ।

सम्भवतः त्यो रकेटबाट भएको हुनुपर्छ जुन पछि विस्फोट भएको हुनुपर्छ अथवा भाँचिएको हुनुपर्छ।

त्यो फुटेजमा हामीले स्थान पत्ता लगाएको क्यामरा नजिकै एउटा ठूलो विस्फोट भएर टाढासम्म प्रकाश देखिन्छ।

सामाजिक सञ्जालहरूमा देखिएको अर्को फुटेजमा त्यही विस्फोट फरक कोण र दूरीबाट देखिन्छ।

घटनास्थलबाट दृश्य प्रमाणहरू

विस्फोटको आकार र त्यसअघि सुनिएको आवाजसहित उपलब्ध प्रमाणबाट कारण ठम्याउन सकिन्छ कि भनेर हामीले विज्ञहरूसँग सरसल्लाह गर्‍यौँ। अहिलेसम्म निष्कर्ष आइसकेको छैन।

बीबीसी भेरिफाईले अध्ययन गरेका प्रमाण इजरेलबाट हुने गरेका हवाई हमलाबारे तपाईँले गर्ने अपेक्षासँग मेल खाँदैन। उदाहरणका लागि, बमले बनाउने खाडल नहुनु।

अमेरिकाको भेन्डरबिल्ट विश्विवद्यालयस्थित सहायक प्राध्यापक जे एन्ड्रेस ग्याननका अनुसार विस्फोट सानो देखिन्छ। अर्थात् युद्धशीर्षको विस्फोटभन्दा पनि रकेटमा बचेको इन्धनले उत्पन्न गराएको तापको असरले त्यसो भएको हुन सक्छ।

यूकेको रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्यूट (रुसी) स्थित वरिष्ठ रिसर्च फेलो जस्टिन ब्रोङ्क त्यसमा सहमत देखिन्छन्।

अहिले प्रारम्भिक चरणमै ठ्याक्कै यही हो भन्न गाह्रो भएको बताउँदै ब्रोङ्क भन्छन्,प्रमाण हेर्दा लक्ष्यमा पुग्न नसकेको रकेटको भाग कार पार्कमा खस्दा इन्धनमा आगलागी भएको र त्यसकै कारण विस्फोटन भएको देखिन्छ।

ग्याननका अनुसार फुटेज हेरेर क्षेप्यास्त्र लक्ष्यमा प्रहार गरे वा नगरेको बताउन सम्भव देखिँदैन।

हामीले कुरा गरेका कैयौँ विज्ञहरूले के भएको भन्नेबारे धारणा राख्न चाहेनन्।

विस्फोट भएको स्थान र अल अहली अस्पताल भवनका विवरणसँग उपलब्ध भूउपग्रह तस्वीरलाई जुधाउँदा एउटै भएको बीबीसीले पुष्टि गर्न सकेको छ।

उपलब्ध प्रमाणमा आधारित भएर भन्नुपर्दा अस्पतालको परिसरमा विस्फोट भएको देखिन्छ।

विस्फोटपछि भुइँ र वरिपरि रहेका अस्पतालका भवनहरूमा ठूलै क्षति भएको देखिँदैन। तस्बिरमा जलेर बनेका दाग र जलेका कारहरू देखिन्छ।

एङ्गलिक चर्चको स्वामित्वमा रहेको उक्त अस्पताल सोही चर्चले सञ्चालन गर्दै आएको छ।

जेरुसलेमस्थित सेन्ट जोर्जेज कलेजका डीन क्यानन रिचर्ड सेवेलले बीबीसीलाई बताएअनुसार आक्रमण हुँदा करिब १,००० विस्थापित मानिसहरू अस्पताल परिसरमा बसिरहेका थिए भने करिब ६०० बिरामी तथा कर्मचारीहरू भवनभित्र थिए।

 रुश्दी अबुअलुफ विस्फोट भएको भोलिपल्ट बिहान अलअहली अस्पताल रहेका प्रत्यक्षदर्शीहरुले बीभत्सका दृश्यबारे बयान गरे भने शवहरू अझै सङ्कलन भइरहेको बताए।

एक पुरुषले बताएअनुसार विस्फोटका बेला अस्पतालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू थिए।

हामीलाई अहिलेसम्म के थाहा छैन

सबुत, प्रमाणमध्ये सबैभन्दा महत्त्वपूर्ण प्रमाण भनेको विस्फोटपछि बनेको खाडल हो।

इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले भनेको छ, ठूलो खाडल नहुनु अथवा जोडिएका भवनमा विस्फोटले पुर्‍याएको क्षति हेर्दा हाम्रा अस्त्रबाट त्यो नभएको प्रमाणित हुन्छ।

हराइरहेको अर्को महत्त्वपूर्ण प्रमाण भनेको क्षेप्यास्त्रका टुक्राटुक्री हुन्। पड्केपछि बाँकी रहेका बाहिरी भागबाट क्षेप्यास्त्रको पहिचान गर्ने गरिन्छ। यो घटनामा त्यो प्रमाण पनि भेटिएको छैन।

बीबीसी 

Tags: