post-slider post-slider

पुराना एम्बुलेन्स नवीकरण भएनन्

Image

चितवन। राष्ट्रिय एम्बुलेन्स निर्देशका २०७८ मा ‘क’ र ‘ख’ वर्ग मात्रैको व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुनसकेका छैनन्।

यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन्।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन महासङ्घ)का अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका छ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन्। आठ प्रतिशत ख वर्ग र दुई प्रतिशत क वर्गका छन्।
 
नयाँ निर्देशिका अनुसार ग वर्गको एम्बुलेन्सलाई बिरामी बोक्ने सवारी (प्यासेन्ट क्यारिङ भेइकल) का रुपमा मान्यता दिइएको छ। योसँगै हाल सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेको लामिछानेले बताए। उनका अनुसार ४० प्रतिशतभन्दा बढी एम्बुलेन्स नवीकरण हुन सकेका छैनन्। विगत दुई वर्षदेखि ती एम्बुलेन्स नवीकरण हुन नसकेको उनले जानकारी दिए।

 रासस

Tags: