सन्तानलाई मधुमेह दिने कि स्वस्थ हुने उपहार ?
केही महिनाअघि एक डाक्टरको क्लिनिकमा १६ वर्षका आयुष मधुमेहको समस्या लिएर आए । उनकी आमा वैदेशिक रोजगारमा गएर फर्केकी हुन् । उनी छोरालाई धेरै माया देखाउन धेरै पत्रु खाना, चकलेट, चिसो पेय पदार्थ दिने गरेकी रहिछन् । आयुषलाई घरको स्वस्थकर खानेकुरा खान बाबाले पनि कर गरेनन् । आयुषलाई समस्या भयो । जाँच गर्दा थाहा भयो, उनलाई मधुमेह भएछ ।
मोटोपन, अस्वस्थकर खाना, कम्प्युटर र टिभीमा बसिरहने बानीले मधुमेह निम्तिएछ । यति सानो उमेरमै मधुमेह भएपछि अभिभावकलाई चिन्ता पर्ने नै भयो । उनलाई इन्सुलिन नै दिनुपर्यो । त्यसपछि मात्र उनका अभिभावकले चेते । इन्सुलिन दिएर, खानामा सुधार गरेर मोटोपन घटाएपछि रोगमा सुधार हुँदै गएपछि इन्सुलिनको मात्रा पनि घट्दै गयो र बन्द भयो ।
अहिले आयुष मधुमेहबाट मुक्त छन् । यदि पहिले नै उनका अभिभावकले ध्यान दिएको भए आयुषले समस्या भोग्नुपर्ने थिएन । तर यदि उनले भविष्यमा खानपान र जीवनशैली बिगारे पुन समस्या हुनसक्छ ।
अभिभावकले बालबालिकालाई माया गरेर चाउचाउ, चिसो पेय, चिज बल दिनु भनेको सन्तानलाई माया होइन, रोगको पोको दिनु हो भन्ने कुरा आयुषको अवस्थाबाट प्रमाणित हुन्छ ।
आजकल ‘डायबिटिज’ बाट टोल–टोलका मानिसहरू पीडित छन् । यस्तै अवस्था रहिरह्यो भने केही समयपछि हरेक परिवारमा मधुमेहका बिरामी हुनेछन् ।
मोटोपन, मधुमेह र खानपानका कारण जनस्वास्थ्यमा परेको समस्यालाई लिएर कतिपय देशले यसबारे गम्भीर रूपमा सोच्न थालिसकेका छन् ।
सिंगापुरका हरेक ९ जनामा १ जनालाई मधुमेह छ । ६० वर्ष भन्दा माथिका १० जनामध्ये ३ जनालाई मधुमेह छ । मधुमेहले गर्दा प्रत्येक वर्ष १२ सय जनाको खुट्टा काट्नुपर्ने अवस्था छ । त्यसैले सन् २०१९ मा चिसो पेय पदार्थ पिउने प्रेरणा दिने विज्ञापनमा रोक लगाइएको छ । यस्ता चिसो पेय पदार्थमा ३५५ मिलि लिटरमा ११ चम्चा चिनी हुन्छ भनी हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको अध्ययनमा उल्लेख छ ।
विश्व स्वास्थ्य संघले ‘एक दिनमा पुरुषले ९ चम्चा र महिलाले ६ चम्चा चिनी खान सिफारिस गरेको छ ।’ तर चिसो पेय पदार्थ केक, कुकिज, बिस्कुट, पाउरोटी आदि खाँदा योभन्दा धेरै चिनी खाइन्छ । जन्मदिनमा स्वास्थ्य राम्रै रहोस् भनेर शुभकामना दिँदा पनि केक दिएर हामी बालबालिकामा मधुमेहको समस्या बढाइरहेका हुन्छौं ।
मधुमेह विभिन्न प्रकारका हुन्छन् । पहिलो प्रकारका मधुमेहमा शिशुको शरीरमा इन्सुलिनले रगतमा चिनी (ग्लुकोज) लाई नियन्त्रण गर्छ। त्यो नै अभाव हुन्छ । दोस्रो प्रकारको मधुमेह प्राय ४०–५० वर्ष कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनको कारणले धेरै हुन्छ । इन्सुलिनले राम्रोसँग काम गर्दैन । विदेशमा ४० को उमेर भएपछि देखिने यो समस्या नेपालमा अहिले सानै उमेरमा देखिन थालेको छ ।
बुटवलका १४ वर्षीय रमेशको निधारमा घाउ आयो, निको भएन । जँचाउँदा टाइप २ मधुमेह भएको थाहा भयो । अहिले उनले औषधि खाएर मधुमेह नियन्त्रणमा राखेका छन् । यसरी खानपान तथा मोटोपनले गर्दा बालबालिकामा दोस्रो प्रकारको मधुमेह बढिरहेको छ ।
मधुमेह भएपछि जटिलता बढ्ने र मिर्गौलाले पनि काम गर्न गाह्रो हुने अवस्था आउन सक्छ । मिर्गौला बिग्रेपछि फेर्ने वा डायलाइसिस गर्ने मात्र उपाय हुन्छ । यी दुवै उपाय सजिला छैनन् । आर्थिक दृष्टिले झनै महँगो छ र साधारण नेपाली परिवारको बजेटले धान्न मुस्किल पर्छ ।
(जनस्वास्थ्य विद् डा .उप्रेतीको फेसबुक पेजबाट साभार)