post-slider post-slider

मुटु स्वस्थ्य राख्न खानपान र जीवनशैलीमा ध्यान दिऔं

Image

खानपान र जीवनशैलीमा ध्यान दिन मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको विज्ञहरु बताउँछन् ।

भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणि गौतम परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए÷नभएको ख्याल गर्नुपर्ने बताउँछन् । उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने उनको भनाइ छ ।

उनले भने, “जोखिमका तत्व पहिचान गरेर मुटुरोगबाट सुरक्षित रहन सकिन्छ ।” धूमपान, मद्यपानलगायतका बानी व्यहोरामा सुधार गर्नुपर्ने उनको सुझाव छ । शारीरिक व्यायाममा ध्यान दिन, मोटोपना घटाउन, तनाव कम गर्न, मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचाप भएमा त्यसको नियमित औषधि सेवन गरेर व्यवस्थापन गर्न उनले सुझाव दिए ।

मुटुको बाथको रोग, जन्मजात रोगहरु छन् भने त्यहीअनुसार व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “समयमा ध्यान दिनसके मुटुरोग लाग्नबाट बच्न सकिन्छ, लागिसकेपछि पनि जोगिन सकिन्छ ।”

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा। शङ्कर लौडारी मुटुरोग लाग्नुभन्दा पहिले नै सतर्क हुन सक्यौँ भने मुटुरोगबाट बच्न सकिने बताउँछन् । उनले भने, “धूमपान, अत्यधिक मद्यपान लागूऔषधजस्ता कुलत छन् भने बन्द गर्नुपर्छ, यस्ता वस्तुबाट टाढा बस्दा एकदेखि दुई वर्षमा पहिलेकै अवस्थामा फर्कन सकिन्छ, तर रोग धेरै नै बढिसकेको छ भने पूर्ववत् अवस्थामा फर्कन गाह्रो पर्छ ।”

चिकित्सकको सल्लाहबिना अनावश्यक औषधि धेरै प्रयोग र शारीरिक व्यायामको अभावका कारण मुटुरोग बढ्ने उनको भनाइ छ । उनले भने “फलफूल, तरकारी, प्रोटिनको मात्रा अलि बढी खाने, कार्बोहाइड्रेट मात्रा कम गर्ने, चिल्लो खानेकुरा कम गर्ने, एन्टिअक्सिडेन्टल चिजहरु धेरै खाने, आवश्यक परेको बेला भिटामिन पनि खान सकिन्छ, यी खानेकुराले मुटुलाई फाइदा गर्छ ।”

मुटुको केही रोगहरु देखियो र शङ्का लाग्यो भने नजिकको मुटुरोग चिकित्सकलाई देखाउन उनले सुझाव दिए । उनले भने, “बढ्दो उमेर, धूमपानको प्रयोग, अत्यधिक मात्रामा मद्यपान, उच्च रक्तचाप, सुगर, कोलेस्टेरोल लगायत वायु प्रदूषणलाई पनि मुटुरोगको कारक मानिन्छ ।”

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा। विष्णु मणि धितालले मुटुरोगका सामान्य लक्षण पहिचान गरेर समयमै उपचार गर्न सुझाव दिए । उनका अनुसार छातीको बिचको भागमा लामो समयसम्म दुख्ने, केही काम गर्दा, उकालो चढ्दा वा धपेडी भएको बेला छाती गह्रुँगो हुने, केही कुराले थिचेको जस्तो हुने मुटुरोगका लक्षण हुन् ।

यसैगरी पोलिरहेको जस्तो महसुस हुने, त्यो दुखाइ कहिलेकाहीँ दायाँतिर, कहिले बायाँतिर र कहिलेकाहीँ पछाडितिर सर्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो भएको महसुस हुने पनि मुटुरोगका लक्षण भएको उनको भनाइ छ ।

चिकित्सकले मुटुरोगको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन् । केही वर्षअघिसम्म राजधानी केन्द्रित मुटुको उपचार अहिले चितवनसहित मोफसलका जिल्लामा उपलब्ध छन् । हृदयाघात जस्ता समस्या आउँदा तत्काल उपचारका लागि क्याथ ल्याबसहितको सुविधा पनि उपलब्ध छ । सहरमा केन्द्रित यो रोग पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा समेत पुगेको छ । 

रासस

Tags: