post-slider post-slider

बिरामीले निःशुल्क पाउने औषधि पाएनन्

Image

सिन्धुलीमाढी। बीमाको रकम समयमै भुक्तानी नहुँदा सिन्धुली अस्पतालले सञ्चालन गरेको फार्मेसी बाट बिरामीले निःशुल्क पाउने औषधि पाउन सकिरहेका छैनन् ।

राष्ट्रिय बीमा बोर्डले सिन्धुली अस्पताललाई दिनु पर्ने छ महिनादेखिको बिमाको रकम भुक्तानी नगर्दा औषधि खरिद गर्न नसक्दा उक्त समस्या आएको अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष शतिषचन्द्र ढकालले बीमा बोर्डले गत वैशाख महिनादेखि नै बीमाको रकम नपठाएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय बीमा बोर्डले अस्पताललाई असोजसम्म पठाउनु पर्ने दुई करोड ४७ लाख रुपियाँ बाँकी रहेको छ । स्वास्थ्य बीमा गरेका बिरामीहरूका लागि निःशुल्क औषधिको रकम लामो समयदेखि नै बाँकी रहेकाले अस्पतालको फार्मेसी रित्तिँदै गएको छ ।

बिमाबाट आएको रकमले नै औषधि खरिद गरेर बिरामीलाई निःशुल्क वितरण गर्नु पर्नेमा फार्मेसी नै रित्तो बन्दै गएको उनले गुनासो गरे । अस्पताल विकास समितिका अध्यक्ष ढकालले भने, ‘स्वास्थ्य बीमा गरेका बिरामीले फार्मेसी बाट ९८ किसिमका औषधि निःशुल्क पाउँदै आएकोमा अहिले अधिकांश औषधि सकिएको छ । अस्पतालको मुख्य आम्दानीको स्रोत नै बीमाको रकम भएकाले औषधि किन्न सकि रहेका छैनौं ।’

अस्पतालका अनुसार अहिले सिन्धुली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ती मध्ये आधाभन्दा बढी स्वास्थ्य बीमा गरेका बिरामी आउने गरेका छन् । जिल्लामा हालसम्म एक लाख सात हजार ४२४ जनाले स्वास्थ्य विमा गरेका छन् ।

अस्पतालको फार्मेसी औषधिको अभावमा रित्तिँदै जाँदा बिरामीले सामान्य औषधि समेत बाहिरको औषधि पसलमा खरिद गर्नु पर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । यसअघि दुई र तीन महिनाको फरकमा उक्त रकम आउने गरेकोमा अहिले लामो समयदेखि नआउँदा अस्पतालको दैनिक प्रशासन समेत प्रभावित भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष ढकालले भने, ‘चिकित्सकलाई ईन्सेन्टिभ बापत दिनु पर्ने रकम समेत रोकिएको छ । पछि एक मुष्ट पाउन हुन्छ भनी फकाएर काममा लगाएका छौं ।’ स्वास्थ्य विमा गरे बापत निःशुल्क पाइने औषधि बाहिरको औषधि पसलमा खरिद गर्नु पर्दा आर्थिक भार थपिएको बिरामीहरुको गुनासो छ ।

Tags: