post-slider post-slider

मासु कसरी खाने, कति खाने?

Image

मासु हरेक चाडपर्वमा खाइने परिकार हो। पाहुना सत्कार गर्दा मासुको परिकार दिइने गरिन्छ। परिवारीक जमघट हुने भएकाले पनि मासुको परिकारलाई प्राथामिकतामा राखिन्छ।

दसैंका बेला मासु झनै बढी खाने गरिन्छ।  

मासु कसरी खाने र कति खाने भन्ने विषय व्यक्तिअनुसार फरक पर्छ। एउटा स्वस्थ्य व्यक्तिले सही मात्रामा खान नजान्दा स्वास्थ्यमा समस्या आउन सक्छ। 

मोटोपना, मुटुरोग, मधुमेह र मिर्गौलाका बिरामीले चाडपर्वमा मात्र नभइ अन्य समयमा मासु खाँदा विशेष ध्यान दिनुपर्छ। 

कस्तो मासु खाने?

मासु प्रोटिनको राम्रो स्रोत हो। मासुलाई सेतो र रातो गरी दुई भागमा विभाजन गरिन्छ। त्यसमा पनि बोसोसहित वा बोसोरहीत हेरिन्छ। त्यस्तै छालासहित वा छालारहीत पनि हेर्ने गरिन्छ। 

रातो मासुमा प्रोटिन प्रशस्त मात्रामा हुन्छ तर यसमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले खानामा यसलाई त्यति समावेश नगर्न सल्लाह दिन्छौं। 

मासु पारखीहरुले अत्याधिक मात्रामा मासु खाने गरेको पाइन्छ। त्यसले स्वास्थ्यमा प्रतिकुल असर पार्छ। साधारणतय एउटा स्वस्थ्य बयस्क व्यक्तिले एक दिनमा ६० देखि ९० ग्रामसम्म काँचो, छाला र बोसो नभएको मासु खान सल्लाह दिन्छौं। 

त्यसमा पनि पकाउने तरिकामा विशेषरुपले ध्यान दिनुपर्ने हुन्छ। 

मासु पकाउने तरिकाले पनि फरक पार्छ। हामीले भनेअनुसार छाला र बोसो नभएको मासु पकाउँदा ध्यान दिइएन भने त्यसबाट पनि हामीले चिल्लो पदार्थ पाउन सकिन्छ। त्यसमा भएको चिल्लो पदार्थको मात्राअनुसार दिने क्यालोरी फरक फरक हुन्छ। 

सादा उमालेरमात्र पकाएको मासु ३० ग्राममा ५५ क्यालोरी पाउन सकिन्छ। ३० ग्राम नै मासु फ्राई गरेर खाँदा अत्याधिक चिल्लो पदार्थ हुन्छ। त्यसबाट झण्डै १४५ क्यालोरी पाइन्छ। 

हामीले राम्रो मासु छान्दा पनि पकाउने तरिका नमिले शरीरको आवश्यकता भन्दा बढि चिल्लो पदार्थ जम्मा हुन सक्छ।

जुन चिल्लो पदार्थ शरिरमा थोरै ठाउँ भए शरीरमा जम्मा भएर बस्न सक्छ। 

त्यस्तो अवस्थामा शारीरिक क्रियाकलाप र व्यायम गरेर त्यसलाई जलनक्रियाद्धारा शरीरबाट बाहिर फाल्न सकिन्छ। निष्क्रिय रुपमा बसे शरीरको तौल बढाउन मद्धत गर्छ। 

शरीरको तौल बढे त्यसबाट नै स्वास्थ्य समस्या उत्पन्न हुन थाल्छ। हाम्रो शरीरको उचाई अनुसार शरीरको तौल अनुपातिक रुपमा बराबर भएन भने समस्या हुन्छ। त्यसलाई बिएमआई बाट नाप्ने गरिन्छ। 

एसियाको सन्दर्भमा ८०.५ देखि २२.९ हुनुलाई सामान्य बिएमआई भनिन्छ। त्यस्तो कोहिले २३.९ सम्मलाई पनि सामान्य बिएमआई भन्ने गरेको पाइन्छ। 

शरीरको उचाइभन्दा तौल बढी भयो भने त्यसलाई मोटोपनाको संज्ञा दिइन्छ। मोटोपना भनेको ९० प्रतिशत विभिन्न रोगको कारक तत्वको रुपमा लिइन्छ। 

मासु क्यालोरीको स्रोत नभए पनि बोसो छाला मिसाएर र पकाउने तरिका नमिलाएर खाएमा त्यसले बढी मात्रामा चिल्लो बढ्ने हुन्छ। त्यसले शरीरको तौल बढ्नमा मद्धत पु¥याउँछ। शरीरको तौल बढे स्वास्थ्यमा नकारात्मक असर पार्छ। 

मासुलाई विभिन्न परिकार बनाएर खाँदा र खुवाउँदा ठीक मात्रामा खाने उचित प्रकारको मासु छनोट गर्ने र उचित पकाउने विधि अपनाउनुपर्छ। 

कसरी पकाउने?

मासु पकाउँदा थोरै चिल्लो राखेर पकाउनुपर्छ। मासु फ्राई गर्दा धेरैले चिल्लो धेरै हाल्ने गर्छन्। त्यसो गर्न हूँदैन। थोरै तेल प्रयोग गरेर मासु करी बनाउन सकिन्छ। नन स्टिक प्यानमा चिल्लो नराखि फ्राइ गर्न सक्छौं। 

मासु पकाउँदा थोरै चिल्लो प्रयोग गर्ने विधि अपनाउनुपर्छ। 

कसरी खाने?

एउटा स्वस्थ्य व्यक्तिले एक दिनमा ६० देखि ९० ग्रामसम्म काँचो मासु खान मिल्छ। उक्त मासु एकैचोटि नखाइ बिहान दिउँसो बेलुका मिलाएर खान सकिन्छ। एउटा स्वस्थ्य व्यक्तिले दैनिक मासुमात्र नभइ अण्डा र माछा पनि खान सकिन्छ।

मासु नै खानुपर्छ भन्ने छैन। खाँदा परिमाण र प्रकारलाई ध्यान दिनुपर्छ। 

धेरै मासु खाएपछि पखला लाग्ने, वान्ता हुने र पेटमा जलन हुने त्यस्तो किसिमको समस्या हुन्छ। त्यस्ता समस्या कम गर्न मासुको मात्रालाई ठीक परिणमामा राखेर त्यसको साथै अन्य तरकारी र फलफुल समावेश गरेर मिलाएर खाए दसैं र स्वस्थ्य राम्रो हुनुको साथै चाडलाई निरन्तरता दिन सकिन्छ। 

दीर्घ रोगका बिरामीले मासु खाने कि नखाने? 

अहिले प्रायः सबै घरमा एक जना दीर्घ रोगका बिरामी भेटिन्छन्। त्यसैले उनीहरुको खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। विभिन्न किसिमका दीर्घ रोग अथवा नसर्ने रोगका बिरामीले आफ्नो अवस्था हेरेरमात्र खानपिन गर्नुपर्ने हुन्छ। 

विशेषगरी मुटु रोग र मधुमेह भएका बिरामीले पनि रातो मासु परहेज गर्नुपर्छ। यसको सट्टा सेतो मासु र मुटुको बिरामी भए माछालाई प्राथामितामा राख्नुपर्छ। 

सबै मासुमा प्रोटिन पाइन्छ तर त्यसमा भएको पौष्टिक तत्वको हिसाबले कुन चाहिँ मासु खानु उपयुक्त हुन्छ हेरेर सोहीअनुसारको सल्लाह दिन्छौं। 

नेपालमा मासुमात्र नभइ अंगको मासुहरु (फोक्सो, मुटु र कलेजो) पनि खाने गरिन्छ। त्यस्तो किसिमको मासुमा कोलोस्ट्रोल समावेश हुन्छ। त्यस्तै अंगको मासुमा प्युरिन भन्ने पदार्थ हुन्छ। प्युरिन गाउटको समस्यालाई हानीकारक पदार्थको रुपमा लिइन्छ।

गाउटका बिरामीले प्रोटिन भएका खानेकुरा खानु हुँदैन भनेर परहेज गरिन्छ। तर त्योभन्दा पनि प्युरिन र पाइरोमिडिन भन्ने न्युक्लिक एसिड हुन्छ। त्यो अंगको मासुमा पाइन्छ। त्यसैले अंगको मासु गाउटको बिरामीले परहेज गर्नुपर्छ। 

मासु पूर्ण प्रोटिन भए पनि कोलेस्ट्रलको मात्रा धेरै हुने भएकाले दैनिक होस् या चाडपर्वमा मासु ठिक्क मात्रामा खानुपर्छ। 
मुटुको बिरामीले रातो मासु खानै हुँदैन। सेतो मासु अथवा माछा मिलाएर खान सकिन्छ। 

विशेषगरी मुटुका बिरामीलाई माछा खान सल्लाह दिन्छौं। तर ठिक्क मात्रामा दिनुपर्छ। ३० ग्राम दिने वा त्योभन्दा बढी वा कम दिने त्यो व्यक्तिको अवस्थाअनुसार फरक पर्छ।

त्यस्तै सेतो मासु छाला र बोसो नभएको मासु थोरै तेल राखेर पकाएर खुवाउन सकिन्छ। बिरामीको अवस्था हेरेर खानाको परिकारलाई हामीले परिमार्जन गर्नुपर्ने हुन्छ। 

मधुमेहलाई साइलेन्ट डिजिजको रुपमा लिइन्छ। यो आफैं रोग होइन् यसले अरु रोग निम्त्याउँछ। त्यसकारण मधुमेहका बिरामीलाई पनि रातो मासु नखान सल्लाह दिन्छौं। त्यसको सट्टामा पकाउने विधि ध्यानमा राखेर सही मात्रामा सेतो मासु खानुपर्ने हुन्छ। 

त्यसको साथै अन्य खाद्य समुहबाट पनि खानुपर्ने हुन्छ। अन्न समुहबाट आटा, मकै जस्ता खानेकुरा खानुपर्छ।  दाल र गेडागुडिमा प्रोटिन र घुलनशिल पाइन्छ। त्यस्तै साग तरकारी पनि फाइबरको राम्रो स्रोत हो। मौसम अनुसारको फलफूल ठिक्क मात्रामा खानुपर्छ। 

मधुमेह भएका व्यक्तिले फलफूल खान हुँदैन भन्ने गर्छन्। तर मौसम अनुसार ठिक्क मात्रामा दुई थरी फलफूल भोजनमा समावेश गर्न सकिन्छ। मुट, गाउटलगायत जुनसुकै दीर्घ रोग भएका व्यक्तिले मौसमअनुसारको फलफूल खान मिल्छ।

तर त्यसको मात्रामा भने विशेष ध्यान दिनुपर्छ। 

दम भनेको स्वास प्रश्वाससँग सम्बन्धित रोग हो। दम कसरी भएको छ। वंशाणुगत, निमोनिया, चिसो र आस्थमाका कारणले दम हुन सक्छ।  

दम भएका व्यक्तिले मासु कतिको खान र निल्न सक्छ भन्ने कुरामा पनि हामीले ध्यान दिनुपर्छ। ठूलो टुक्रा खान नसके मसिनो बनाएर पनि दिन सकिन्छ। 

मासु नै खान हुदैन भन्ने हँुदैन दमका बिरामीलाई पनि प्रोटिन र आइरन  आवश्यक पर्छ। मासु प्रोटिन र आइरनको स्रोत हो। अझै कलेजोमा प्रशस्त मात्रामा आइरन पाइन्छ। कलेजोमा भएको आइरन शरीरले ८० प्रतिशत शोषण गर्छ।

साग तरकारीमा पनि आइरन हुन्छ। तर शरीररले २० देखि ३० प्रतिशत आइरनमात्र शोषण हुन्छ। त्यसैले आइरनको स्रोतलाई राम्रोसँग मिलाएर खानसके हेमोग्लोबिन बढाउँछ। जसका कारण श्वास प्रश्वासलाई पनि राम्रो गर्छ। 

अल्सर पाचनसँग सम्बन्धित रोग हो। त्यसैले सुरुमा अल्सर निको पार्नुपर्छ। त्यसबेला नरम खानेकुरा मात्र खान मिल्छ।

बिरामीको अवस्था हेरेर पहिला झोल खान दिनुपर्छ। त्यसमा फाइबर अर्थात केस्रा नभएको खानेकुरा दिनुपर्छ। त्यसपछि नरम खानेकुरा दिन्छौं।

त्यसपछि सामान्य पोषण पचाउन सक्ने भएपछि मात्र मासु नरम बनाएर दिन सकिन्छ। तर पहिला थोरैमात्र दिनुपर्ने हुन्छ। अल्सर हुँदा भित्र इन्फ्लामेसन हुने, रगत आउने हुन्छ।

एकदमै क्रोनिक एक्युट किसिमको छ भने रेमिडिमा जानुपर्ने हुन्छ। माटामासु तुरुन्त खुवाउनुपर्छ भन्ने हुँदैन। बिरामीको अवस्था हेरेरमात्र माछामासु खान सल्लाह दिन्छौं। 

पोषणविद्  डा.प्रधानसँगको कुराकानीको आधारमा।

Tags: