post-slider post-slider

स्वास्थ्य मन्त्री बस्नेतद्वारा ‘ पोइजन सूचना केन्द्र ’ को उद्घाटन 

Image

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (बिष सूचना केन्द्र) को उद्घाटन गरेका छन् । 

त्रि.वि शिक्षण अस्पताल महाराजगन्जमा स्थापना गरिएको ‘पोइजन इन्फरमेसन सेन्टर’ को मन्त्री बस्नेतले बिहीबार शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा उद्घाटन गरेका हुन । अस्पतालको क्लिनिकल फर्माकलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । 

बिष सेवन गरेकाहरूको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरु मार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपालमा बिष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रिवि शिक्षण अस्पतालले ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना गरेर प्रशंसनीय काम गरेको बताए । मन्त्री बस्नेतले भने, ‘यो सेन्टरले बिष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिन कै काम गर्ने  छ । ’ 

नेपालमा बर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्म हत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिशतसम्म बिष सेवन गरेर हुने गरेको जानकारी दिए । 

त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउदै बताउदै बिष सेवन पछिको उपचारका बिषयमा कुनै जानकारी लिनु परेमा ०१ ४५०२०११ मा फोन गर्न सकिने जानकारी दिए । 

कार्यक्रममा अर्का चिकित्सक डा. रामु खरेलले सूचना केन्द्रले धेरैको ज्यान बचाउन सकिने बताए । उनले बिस सेवन पछिको उपचारका बिषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नै नेपालको पहिलो सेन्टर भएको दावी गरे । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन डा. दिव्या सिंह र त्रिवि शिक्षण अस्पतालका निर्देशक डा।दिनेश काफ्लेको पनि उपस्थिति रहेको थियो ।

Tags: