post-slider post-slider

आइतबार देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने चिकित्सक संघको घोषणा

Image

काठमाडौं- नेपाल चिकित्सक संघले डाक्टरमाथि कुटपिट भएको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने घोषणा गरेको छ।

चिकित्सकद्वय डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि आक्रमण गर्नेहरूलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै चिकित्सक संघले देशव्यापी अस्पताल ठप्प पार्ने घोषणा गरेको हो।

२७ भाद्रमा हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सक थापा र विडारीमाथि कुटपिट भएको थियो।

चिकित्सकद्वयमाथि आक्रमण गर्ने सम्पूर्णलाई कानुनी दायरामा ल्याउन माग राख्दै संघले ७२ घन्टे अल्टिमेटम दिएको थियो। सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याइएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो।

‘२०८० भाद्र ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरू पूर्णरूपमा बन्द गरिने,’ संघले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कानुनी कारबाही नगरी स्थानीय प्रशासनले मेलमिलाप गराउन खोजेको आरोप लगाएको छ।

विज्ञप्तिमा भनिएको छ,‘उक्त घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजेकोले सम्बन्धित निकायमाथि आवश्यक छानबिन गरी कानुनबमोजिम कारबाही हुनुपर्ने, साथै भावी दिनमा यस्ता प्रकारका घटनामा मौनता नसाध्ने गरी लिखित प्रतिवद्धतासमेत हुनुपर्ने।’

संघले चिकित्सक आक्रमणको घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९, बमोजिम कानुनी कारबाहीको सुनिश्चितता गर्न मागसमेत गरेको छ।

त्यस्तै, संघले देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहीत वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन पनि माग गरेको छ।

 

Tags: