स्वास्थ्य जनशक्ति प्रक्षेपण: कुनै कार्यक्रममा बढी, कुनैमा न्यून
काठमाडौं। चिकित्सा शिक्षा आयोगले नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण २०७९ /२०८७ सार्वजानिक गरेको छ ।
आयोगले सार्वजानिक गरेको जनशक्ति प्रक्षेपणमा आर्थिक वर्ष २०८७/ ८८ मा ३ लाख १ हजार ८९५ स्वास्थ्य जनशक्ति आवश्यकता पर्ने अनुमान गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०८७/ ८८ मा एमबीबीएस तथा बिडएसमा स्नातक गरेका १६ हजार ७८४ जनशक्ति आवश्यक पर्ने आकलन गरेको छ। त्यस्तै एमडी, कन्सल्ट्यान्टहरु विशेषज्ञ मेडिकल प्राक्टिसनरहरु १५ हजार २९३ जना, नर्सिङमा स्नातकोत्तर तहका ४११, स्नातक तहका २ हजार ३५९ जना जनशक्ति आवश्यक पर्नेछ । नर्सिङ तथा प्रसूति सेवा सम्बन्धि अधिकृतहरु ८८ हजार २४, परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने स्नातक तथा स्नातकोत्तर गरेका २ हजार ८३, प्रमाणपत्र तह अध्ययन गरेका परम्परागत तथा सहाय चिकित्सा प्राविधिकहरु २ हजार ११८ जनशक्ति आवश्यक पर्नेछ । अन्य स्वास्थ्य सम्वद्ध पेशामा स्नातकोत्तर तह अध्ययन गरेका २ हजार ६८८, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेशामा स्नातक गरेका २३ हजार १५०, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेशामा प्रमाणपत्र तह अध्ययन गरेका १ लाख ४ हजार ३९ जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ।
आयोगले यो प्रक्षेपण आर्थिक वर्ष २०७७ /७८आधार वर्ष मानेर उक्त प्रक्षेपण गरेको हो । आधार वर्ष २०७७ /७८ मा स्वास्थ्य जनशक्तिको कुल आवश्यकता भन्दा विभिन्न क्षेत्रमा ६३ हजार २२६ जनशक्ति अभाव देखिएको छ। आवश्यक जनशक्ति २ लाख ७५ हजार २०३ अनुमान गरिएकोमा २ लाख ११ हजार ९७७ जनशक्ति कार्यरत रहेको छन्।
प्रक्षेपण अनुसार यसअन्तर्गत स्नातक तहका चिकित्सक (एमबिबिएस) २ हजार ९०४ र स्नातकोत्तर (विशेषज्ञ) तहका विभिन्न बिधाका चिकित्सकहरू ५ हजार ७७९ थप हुन आवश्यक देखिन्छ ।
आयोगको प्रक्षेपणले अहिले जनशक्ति उत्पादन बजारको मागको तुलनामा कुनै शैक्षिक कार्यक्रममा बढी र कुनै कार्यक्रममा न्यून देखिएको छ ।
सरकारको ‘एक स्वास्थ्य कर्मी एक स्वास्थ्य संस्था’ को नीति कार्यान्वयन हुने यकिन साथ भन्न सकिने अवस्था नरहेको आयोगको निष्कर्ष छ । आयोगका अनुसार अहिले कति जनशक्ति सेवा प्रवाहमा संलग्न छन भनेर गणना गर्ने काम समेत चुनौतीपूर्ण रहेको छ । अर्कोतिर रोजगार बजारको जनशक्ति माग निर्क्यौल गर्न कठिन हुने हुँदा उत्पादन र रोजगारीमा तादत्म्यता कायम गर्न समेत कठिनाइ भएको छ ।
जनशक्ति प्रक्षेपण अनुसार २०८७ /८८ सम्ममा स्वास्थ्य जनशक्तिको आवश्यकता र उत्पादनका बिचमा सन्तुलन गर्ने गरी उत्पादन नीतिमा प्राथमिकीकरण गर्न आवश्यक देखिन्छ ।
जनशक्तिको माग र उत्पादनको सन्तुलन गर्न शैक्षिक कार्यक्रमहरूको पुनरावलोकन गर्ने तथा आवश्यक भएका क्षेत्रमा भर्ना सङ्ख्या बढाउने र आवश्यक परेमा त्यस्ता विषय क्षेत्रमा भर्ना बढाउन आवश्यक प्रोत्साहन नीतिलाई ल्याउनुपर्ने देखिएको छ।