post-slider post-slider

डा. भण्डारी अमेरिकी मामिला आयोगको आयुक्तमा पुनः नियुक्त

Image

बाल्टिमोर, अमेरिका — नेपाली मूलका अमेरिकी नागरिक डा. विशाल भण्डारीलाई मेरिल्यान्ड राज्यका गभर्नर वेस मुरले पुनः एकपटक दक्षिण एसियाली अमेरिकी मामिला आयोग का आयुक्तमा नियुक्त गरेका छन्। चार वर्षका लागि गरिएको यो नियुक्ति डा. भण्डारीको विगतको सक्रिय भूमिका र योगदानको निरन्तरताको रूपमा गरिएको हो।

पुनः नियुक्तिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै डा. भण्डारीले यो अवसरप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले लेखेका छन्, “यो सम्मान पाउँदा म अत्यन्त आभारी छु। म विविधता, प्रतिनिधित्व र सहकार्यको मूल्य बुझ्छु र यो जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ निर्वाह गर्नेछु।”

डा. भण्डारी हाल इनोभा हेल्थ, भर्जिनिया मा एनालिटिक्स तथा नतिजा विभागका क्लिनिकल निर्देशक तथा वैज्ञानिकका रूपमा कार्यरत छन्। उनी स्वास्थ्य सेवा गुणस्तर सुधार, क्लिनिकल इन्फरमेटिक्स, र जनस्वास्थ्य परियोजनामा लामो समयदेखि संलग्न रहँदै आएका छन्। उहाँले MIT बाट आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा कार्यकारी डिग्री हासिल गर्नुभएको छ।

स्वास्थ्य क्षेत्रमा प्रविधि र नवप्रवर्तनमार्फत सुधार ल्याउने उद्देश्यले उनले Aspirenix नामक हेल्थटेक कम्पनीको सह-स्थापना गरेका हुन्, जुन संस्थाले डिजिटल समाधानमार्फत स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउने काम गरिरहेको छ।

सामुदायिक सेवामा पनि उनी सक्रिय छन्। डा. भण्डारी बाल्टिमोर नेप्लिज लायन्स क्लबमा सामुदायिक स्वास्थ्य संयोजकको रूपमा स्वयंसेवा गर्दै आएका छन्। साथै, नेपालका ग्रामीण क्षेत्रहरूमा प्रविधि र शैक्षिक पहुँच विस्तार गर्न Digital Bridges 4 Nepal , काठमाडौँ बाल स्वास्थ्य संस्थान (KIOCH) जस्ता धेरै  संस्थाहरूसँग सहकार्य गर्दै आएका छन्।

गभर्नरको आयोगमा उनको निरन्तरता दक्षिण एसियाली अमेरिकी समुदायको सशक्त आवाज निर्माण र प्रतिनिधित्वका लागि महत्वपूर्ण मानिएको छ।

Tags: