post-slider post-slider

झण्डाको रङले चिनाउँछ गर्भवती महिलाको घर

Image

मातृ तथा शिशु मृत्युदरमा घटाउन कर्णाली प्रदेशमा स्थानीय सरकार विभिन्न कार्यक्रम गर्न थालिएको अधिकारीहरूले बताएका छन्।

तिनै कार्यक्रम अन्तर्गत हुम्लाको सिमकोट गाउँपालिकाले गर्भवती महिलाका घरमा नीलो झण्डा राखेको छ। त्यस्तै कुपोषित बालबालिका केन्द्रित कार्यक्रम पनि कार्यान्वयन गरिएको छ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक नरबहादुर भण्डारीका अनुसार आमा तथा शिशुको पोषण अवस्था सुधारमा सघाउने उद्देश्यका साथ यो कार्यक्रम थालिएको हो।

उनले भने, “ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य सचेतनाको कमी रहेको हुनाले हामीले यो कार्यक्रम थालेका हौँ।”

स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य आमा समूहका रिपोर्टका आधारमा स्वास्थ्यकर्मीहरू पुगेर पहिचानपछि मात्र घरघरमा झण्डा राख्ने गरिएको उनले बताए।

सचेतनाका विभिन्न कार्यक्रम

सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म ११० जना गर्भवतीका घरमा झण्डा राखिएको छ।

स्वास्थ्य शाखा प्रमुख भण्डारीले गर्भवतीको पहिचान हुनासाथ झण्डा थप्ने गरिएको जानकारी दिए।

झण्डा राखिएकाले त्यस्ता घर चिन्न र आवश्यक सहयोग गर्न सहज हुने गरेको छ।

त्यसले गर्दा जिल्लामा स्वास्थ्यसम्बन्धी काम गर्ने निकायहरूलाई पनि एकीकृत रूपले कार्यक्रम सञ्चालन गर्न सजिलो भएको अधिकारीहरू बताउँछन्।

आमा र बच्चाको अकाल मृत्यु नहोस् भनेर बर्थिङ सेन्टरमा तालिमप्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गर्नुका साथै कुपोषित बालबालिकाको उपचारका लागि चारवटा पोषण पुनर्स्थापना केन्द्र स्थापना गरिएको छ।

आमा सुरक्षा कार्यक्रममार्फत् सचेतनाका विभिन्न कार्यक्रम भइरहेका छन्।

घर खोज्दै, झण्डा राख्दै

गर्भवती तथा सुत्केरी महिला र पाँच वर्षमुनिका बालबालिकाबारे हरेक महिना स्वास्थ्य संस्थामा रिपोर्ट बुझाउनुपर्ने भएकाले उनीहरूको पहिचान गरी स्वास्थ्य संस्थामा सेवा लिन सल्लाह दिने गरेको सिमकोट गाउँपालिका- ६ की स्वास्थ्य स्वयंसेविका जौमाया रोकायले बताइन्।

“गर्भवतीले पहिलो पटक गर्भ जाँच गराएपछि उनीहरूको घरमा झण्डा राख्ने गरेका छौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

“कतिपय महिला गर्भवती भएपछि अझै पनि नियमित जाँच नगर्ने र सुरक्षित सुत्केरी हुन स्वास्थ्य संस्थामा नजाने गरेका कारण उनीहरूको घर खोजी गरेर झण्डा राख्ने गरेका छौँ।”

गर्भवती भएको थाहा पाएपछि उनीहरूलाई आठ पटक गर्भ जाँच गराउन र पोषिलो खाना खान सल्लाह दिँदै आएको स्वास्थ्य स्वयंसेविकाहरू बताउँछन्।

आमा र बच्चामा केही समस्या हुनासाथ सबैभन्दा पहिला उनीहरू स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य आमा समूहको सम्पर्कमा पुग्छन्।

गर्भ जाँचमा परिवारको साथ

गर्भवती भएको कुरा अरूलाई भन्न लजाउने समस्या गाउँघरका कतिपयमा रहेकोमा गर्भवतीलाई नियमित जाँच गराउन यो कार्यक्रमले सहयोग गरेको मानिसहरू बताउँछन्।

“मेरी बुहारी गर्भवती भएको थाहा पाउनासाथ अहिले मेरो घरमा पनि झण्डा राखिएको छ,” सिमकोट गाउँपालिकाकी रुन्द्रकली रावतले भनिन्।

आफ्नी बुहारी गर्भवती भएको थाहा पाएपछि नियमित गर्भ जाँच गर्न, पोषिलो खाना खान र भारी नबोक्न सहयोग गर्दै आएको उनले बताइन्।

“मेरी बुहारी अहिले पाँच महिनाकी गर्भवती भइन्। म र मेरो घरका सबै सदस्यले उसलाई सहयोग गरेका छौँ,” रावतले सुनाइन्।

तीन छोरी र एक छोरा घरमै जन्माएकी उनले उसबेला स्वास्थ्य संस्था जाने चलन नभएको बताइन्।

“जसका कारण धेरै आमा र बच्चाको अकालमा मृत्यु हुन्थ्यो। अहिले त त्यस्तो छैन,” उनको भनाइ छ।

गर्भवतीलाई विभिन्न सेवा दिएको देख्दा उनलाई खुशी लागेको छ।

“पहिला साल ननिस्कँदा कतिपय महिलाको मृत्यु हुन्थ्यो। कुपोषण र निमोनिया लगायतका रोगका कारण कतिपय बच्चाको अकालमै मृत्यु हुन्थ्यो। अहिले केही समस्या भएपछि अस्पतालमा लग्ने गरेका छौँ,” रावतले भनिन्।

आमा बन्ने उमेर र मृत्युदर

कर्णालीमा बालविवाहका कारण कम उमेरमा आमा बन्नेको सङ्ख्या बढ्दै गएकाले समस्या भइरहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा एक लाख जीवित जन्ममा १७२ जना आमाको मृत्यु हुने गरेको छ।

देशभरको तथ्याङ्कलाई केलाउने हो भने एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको छ।

स्वास्थ्यसेवा निर्देशनालयका आमा सुरक्षा कार्यक्रमका प्रमुख दीपा भट्टराई भन्छिन्, “कर्णालीका धेरैजसो महिलाको आर्थिक अवस्था कमजोर हुनु, सबै ठाउँमा सचेतनाको कमी, अशिक्षा तथा कम उमेरमा आमा बन्ने जस्ता कारणले मातृ मृत्युदर घट्न नसकेको हो।”

अहिले पनि कर्णालीमा २० वर्षमुनिका २१ प्रतिशत किशोरी आमा बन्ने गरेको तथ्याङ्क छ।

त्यसमा पनि २४ वर्षमुनिका आमाको मृत्युदर धेरै हुने गरेको भट्टराई बताउँछिन्।

उनका अनुसार देशका अरू भूभागको तुलनामा कर्णाली प्रदेशमा नवशिशु मृत्युदर पनि उच्च रहेको छ।

“मातृ तथा नवशिशुसँग सम्बन्धित कार्यक्रमलाई गुणस्तरीय बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सेवा सुविधा बढाउन पनि आवश्यक छ,” उनले भनिन्।

मृत्युदर घटाउने प्रयास

हुम्लामा 'घरघरमा झण्डा हातहातमा अण्डा' र कालीकोटमा 'माइतीको नासो' भन्ने कार्यक्रम लागु छ।

पालिका अध्यक्ष र उपाध्यक्षहरूले अनुकूलता अनुसार सुत्केरी, गर्भवती तथा नवजात शिशुसम्बन्धी कार्यक्रम भइरहेको बताएका छन्।

कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटै पालिकामा प्रमुख तथा उपप्रमुखले शिक्षण कार्यक्रम, मोबाइल ट्र्याकिङ कार्यक्रममार्फत् गर्भवतीदेखि सुत्केरी भएको ४२ दिनसम्मको जानकारी लिन थालेका छन्।

एम्बुलेन्स सेवा कार्यक्रम अन्तर्गत १०२ नम्बरमा फोन गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्रपति एअर एम्बुलेन्स सेवाका साथै गर्भवती तथा सुत्केरी आमाका लागि आमा कुरुवा घरको व्यवस्था गर्न थालिएको छ।

प्रदेशका सबै जिल्लामा रहेका बर्थिङ सेन्टरको स्तरवृद्धि जस्ता कार्यक्रम शुरू गरिएको पनि प्रदेश सरकारले जनाएको छ।

बीबीसी 

Tags: