post-slider post-slider

दुई पालिकामा समावेशी शिक्षा परियोजना

Image

चितवन। जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।

परियोजना संयोजक सुमन पौडेलका अनुसार सबै विद्यालयसँगको समन्वयमा परियोजनाले काम गर्दै आएको छ । उक्त परियोजनाले बुधबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ती पालिकामा सात वटा स्रोत केन्द्र र तीन वटा विशेष विद्यालय सञ्चालनमा ल्याइएको जनाइएको छ । परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ । 

परियोजनाले गाउँघरका ‘अटिजम’ भएर विद्यालय जान नसक्ने विद्यार्थीलाई विद्यालयसम्म ल्याउने काम गर्नाका साथै एक सय ४३ बालबालिकालाई सहायक सामग्री वितरण गरेको छ । चौंतीस जटिल प्रकृतिका अपाङ्गता भएका बालबालिकालाई दैनिक क्रियाकलापमा सहज हुने सामग्री प्रदान गरिएको छ । 

समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम एक हजार एक सय १८ जनालाई प्रदान गरिएको र १७ अपाङ्गता भएका बालबालिकालाई सामाजिक सुरक्षा सेवामा पहुँच विस्तार गरिएको उनले जानकारी दिए । घरमा आधारित शिक्षा पाइरहेकामध्ये ३१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको राष्ट्रिय बहिरा महासङ्घ नेपालकी परियोजना संयोजक शर्मिला तामाङले जानकारी दिए । अहिले पनि समाजमा ‘अटिजम’ भएका बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेको छैन । जसका कारणले उनीहरुको परिवारसमेत समस्यामा परेको उनले बताए । 

रासस  

 

Tags: