post-slider post-slider

चितवन मेडिकल कलेजमा दश वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

Image

चितवन। चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ। प्राडा श्याम राज रेग्मी र प्रा डा विष्णु मणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो।
 
दश वर्षसम्म काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आउनुभएका प्रा डा रेग्मीले सिएमसी क्याथ ल्याब सुरु गर्नु भएपछि यस क्षेत्रका बिरामी बाहिर जानुपरेको छैन भने काठमाडौँलगायत अन्य सहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेको पाइएको छ।
 
 क्याथ ल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार विसं २०७० भदौ ११ गतेदेखि हालसम्म अस्थायी पेसमेकर तीन सय २० जनामा, स्थायी पेसमेकर तीन सय जनामा, क्रोनरी एन्जियोग्राफी तीन हजार पाँच सय जनामा, क्रोनरी एन्जीयोप्लास्टीक दुई हजार पाँच सय पाँच जनामा गरिएको थियो। मुटुको सानो भल्व बेलुनले फुलाउने (बिपीभी) १५ जनामा, मुटुमा जमेको पानी तान्ने एक सय ५० जनामा, मुटुको आसपासका नसाको एन्जियोग्राफी १५० जनामा र मुटुको बाथरोगको बेलुनद्वारा फुलाउन दुई सय ५० जनामा शल्यक्रिया गरिएको उनले जानकारी दिए।
 
डा रेग्मीका अनुसार सात वर्षदेखि ९६ वर्षसम्मका बिरामीको मुटुको शल्यक्रिया गरिएको छ। नेपालमा मुटु रोगको उपचार हुने सरकारी अस्पताल गङ्गालाल सरहको शल्यक्रिया शुल्क लिँदै आइएको अस्पतालले जनाएको छ। अस्पतालमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको रु एक लाखको छुटसमेत बिरामीले पाउने गरेका छन्।
 
चितवनसहित देशैभरका बिरामीले अस्पतालबाट सेवा लिइरहेको उनले जानकारी दिए। डा रेग्मीले आफूले गरेका शल्यक्रियामा ३० प्रतिशत ७५ वर्षमाथिका बृद्धबृद्धा रहेको बताए। 
 
उनले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौँबाट समेत बिरामी आउने गरेको बताए। राजधानी काठमाडौँमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति यहाँ रहेको जिकिर गर्दै उनले थपे, “हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौँ। अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथ ल्याब पनि छ।”
 
हिँड्दा छाती दुख्ने, छाती भारी हुने, स्वाँ–स्वाँ हुनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुनसक्ने भन्दै डा रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिए।
 
मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले काठमाडौंसहित देशभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको बताए। मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सक डा रेग्मी परिचित भएकाले यसअघि उपचार पाएकाको सुझावकै कारण धेरै बिरामी आउने गरेको उनको भनाइ थियो। विगत दश वर्षमा मुटुको शल्यक्रियाको सङ्ख्या धेरै भएको र  पछिल्लो तीन वर्षमा यो सङ्ख्या अत्याधिक बढेको थियो। 

रासस

Tags: