post-slider post-slider

आँबुखैरेनी अस्पतालमा ‘डायलाइसिस’ सेवा सुरु हुँदै

Image

तनहुँ।  तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलाइसिस’ सेवा सुरु गर्ने भएको छ। यसका लागि गाउँपालिकामा तीन थान डायलाइसिस उपकरण आइपुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो। 

करिब रु ४३ लाख ९२ हजार बराबरको डायलाइसिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलाइसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। 

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत लगायतको ध्यानाकर्षण गराइएको थियो। सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलाइसिस उपकरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए। उनले भने, 'लामो समयको प्रयासले सार्थकता पाएको छ, अब यही आर्थिक वर्षभित्रै अस्पतालमा डायलाइसिस सेवा सुरु हुन्छ।'

मिर्गौला पीडितका लागि डायलाइसिस लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलाइसिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरेकोे थियो। गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलाइसिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ। गाउँपालिकाभित्र करिब २५ मिर्गौला पीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलाइसिस केन्द्र स्थापना गरिने अध्यक्ष चुमानको भनाइ छ। 

'यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलाइसिस  गर्नुपर्ने बाध्यता छ। तैपनि भनेको बेला समय नपाउँदा उहाँहरूलाई निकै दुःख भइरहेको छ,' उनले भने।

हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलाइसिस सेन्टर सञ्चालनमा छ। मिर्गाैला पीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ। दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ। 

गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नति लाई प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने अध्यक्ष चुमानले बताए। उनले भने, 'ठूला शल्यक्रिया गर्नुपरेमा महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ। केही शल्यक्रिया भने नियमितरूपमा अस्पतालमै हुनेछ।'

गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ। उनले प्रजनन स्वास्थ्य, पाठेघर ‘क्यान्सर’ परीक्षण कार्यक्रमलाई जोड दिइएको बताए। गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरे। 

रासस

Tags: