post-slider post-slider

भूकम्पपीडित सोध्छन्– त्रिपाल कहिले पाइन्छ सरकार?

Image

जाजरकोट। गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार २ छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन्। घर भित्रबाट बाहिर निस्किने क्रममा  खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन्।  उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ  बस्तीस्थित सडकको किनारमा रात बिताउँदै आएकी छन्। 

उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो महसुस हुन्छ। खुल्ला सडकभन्दा माथि त्रासले जान नसकेकी थापाका १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बर्बराउँछन्। भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामबासी अहिले सडकको छेउछाउमा रातदिन कटाइरहेका छन्। सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाममा भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन्।

राहत सामग्री स्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकाम बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए। वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनीबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ। खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत माग्दा माग्दा हैरान भएपछि आफूहरुका लागि कोही पनि रहेनछ भन्दै निराश भएको छ।

त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन: १ थान त्रिपाल पाएको उनले सुनाए। 

‘सुरुमा क्षति भएको नामावली संकलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा दु:ख लाग्यो,’ थाप्लेका झलक मल्लले सुनाए। घर पूर्ण रुपमा भत्किएर समस्यामा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन। यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ। भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ। 

समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए।  बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनले बताए। घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन्। घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ। बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ। 

कुन पालिकामा कति क्षति? 
जाजरकोटको भेरी नगरपालिकामा ३४४ घर पूर्णरुपमा भत्किएका छन् भने ७१२ घरमा आंशिक क्षति पुगेको छ। २ वटा विद्यालय पूर्ण रुपमा भत्किएको र १७ वटा आंशिक रुपमा क्षति भएको छ। 

त्यस्तै, भेरी नगरपालिकामा ५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। मृत्यु हुनेको सङ्ख्या ३६ रहेको छ भने ६५ जना घाइते भएका छन्। 

नलगाड नगरपालिकामा २०० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। ६०० घर आंशिक भत्किएका छन्। १२ वटा विद्यालय पूर्ण रुपमा भत्किएका छन् भने आंशिक रुपमा २१ वटामा क्षति पुगेको छ। ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ। 

भूकम्पबाट नलगाड नगरपालिकामा ५२ जनाले ज्यान गुमाएका छन्। ७३ जना घाइते भएका छन्। 

छेडागाडमा १०० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।  ५०० घरमा आंशिक रुपमा क्षतिग्रस्त भएका छन्। छेडागाडका ३ विद्यालयमा आंशिक क्षति भएको पाइएको छ। छेडागाडमा भूकम्पबाट २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। 

कुशे गाउँपालिकामा ९५  घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। ३०१ वटा घरमा आंशिक रुपमा क्षति पुगेको छ। ४ वटा विद्यालय पूर्णरुपमा भत्किएका छन् भने १७ वटा आंशिक रुपमा क्षति भएको पाइएको छ। सरकारी कार्यालय १ वटा पूर्णरुपमा भत्किएको छ भने १७ वटामा आंशिक रुपमा क्षति पुगेको छ। 

भूकम्पबाट कुशे गाउँपालिकामा २ जनाको मृत्यु र १ जना घाइते भएका छन्।  

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकामा १६० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। ५६० घर आंशिक रुपमा क्षति पुगेको छ। ५ वटा विद्यालय पूर्ण रुपमा भत्किएका छन् भने २ वटा आंशिक रुपमा भत्किएको पाइएको छ। १ सरकारी कार्यालय पूर्ण रुपमा भत्किएको र २ कार्यालयमा आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ। भूकम्पबाट बारेकोट गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। 

शिवालय गाउँपालिकामा १ घर पूर्णरुपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ। ५ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। एउटा सरकारी कार्यालयमा क्षति पुगेको बताएको छ। भूकम्पबाट शिवालय गाउँपालिकामा १ जना घाइते भएका छन्। 

जुनिचाँदे गाउँपालिकामा २७० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। ४ हजार ५६ घरमा आंशिक क्षति भएको छ। 
समग्रमा जाजरकोट जिल्लाभर भूकम्पबाट १ हजार १७०  घर पूर्णरुपमा क्षति भएको पाइएको छ। ७ हजार १६६ वटा घर आंशिक रुपमा क्षति भएको पाइएको छ। २३ विद्यालयका भवन पूर्ण क्षति र ७५ आंशिक क्षति भएको जानकारी आएको छ। भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ। १५२ जना घाइते भएका प्रहरीले जनाएको छ। 

रासस

Tags: