post-slider post-slider

प्रसूतिमा आजबाट अनलाइन टिकटको व्यवस्था

Image

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सव मनाउँदै बुधबारबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरिएको अस्पतालले जनाएको हो ।

अस्पतालले आजदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ ।

अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरूका लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको बताए । उनले मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शय्या सञ्चालन गरिएको जानकारी दिए।

निर्देशक अधिकारीले गत आर्थिक वर्ष २०७९र८० मा कुल ३४ हजार १८५ जना महिला बिरामी भर्ना भएकामा प्रसूतितर्फ २६ हजार ९४७ तथा स्त्री रोगतर्फ पाँच हजार ४६ रहेको उल्लेख गरे । उनले नवजात शिशु सघन उपचारतर्फ दुई हजार १९२ र मातृ सघनतर्फ ४८३ भर्ना भएर उपचार पाएको दाबी गरे ।

उनले गत आर्थिक वर्षमा अस्पतालले बहिरङ्ग सेवातर्फ एक लाख ८० हजार ८९० जना महिलाहरूले सेवा लिएको जानकारी दिए। उनले प्रसूतिमा भर्ना भएका २६ हजार ९४७ मध्ये २४ हजार ६७२ जना गर्भवती महिलाको प्रसूति डेलिभरी भएको भन्दै जसबाट २४ हजार ९१५ जना शिशुको जन्म भएको बताए । २४ हजार ६७२ जना प्रसूति डेलिभरी महिलामध्ये ९ हजार ८२१ जनाको शल्यक्रिया अर्थात् सिजरियन सेक्सनबाट डेलिभरी भएको जानकारी दिए।

निर्देशक अधिकारीले स्त्रीरोग गाईनोकोलोजी शल्यक्रियातर्फ गत आर्थिक वर्षमा दुई हजार ९६४ जनाको शल्यक्रिया भएकामध्ये २२३ जनाको दूरबिन प्रविधि (ल्याप्रोस्कोपिक) र दुई हजार ७२३ जनाको चिरफार प्रविधिबाट शल्यक्रिया गरेर उपचार गरिएको बताए ।

उनले गत आर्थिक वर्षमा एक हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको जानकारी दिए। स्त्रीरोग अस्पताल वि.स २०१६ साल भदौ १० गते कृष्ण जन्माष्टमीको दिन ४० शय्या सुरुवात भएको थियो ।

 

 

Tags: