post-slider post-slider

गण्डकी प्रदेशभित्रका जिल्ला स्वास्थ्य कार्यालयमध्ये कास्की उत्कृष्ट

Image

कास्की । जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ।  कार्यालयद्वारा विगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरूका अनुसार प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा  कास्की पहिलो बनेको हो।

गत आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुईदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको हो।

प्रदेशका ११ वटा जिल्लास्थित स्वास्थ्य कार्यालयको कार्यसम्पादनमा पहिलो बनेको कास्कीलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा, मन्त्रालयका सचिव डा विनोद विन्दु शर्मालगायतले पुरस्कृत गरेका हुन्। त्यसैगरी स्वास्थ्य कार्यालय लमजुङ द्वितीय र स्वास्थ्य कार्यालय पर्वत तृतीय बनेका छन्।

यसैगरी अस्पतालमा गोरखा जिल्ला अस्पताल कार्यसम्पादन मूल्याङ्कनमा पहिलो हुन सफल भएको छ। त्यसैगरी मध्यविन्दु अस्पताल नवलपरासी द्वितीय र धवलागिरि अस्पताल बागलुङ तृतीय भएका थिए। मन्त्रालयले स्थानीय पालिकाको समेत मूल्याङ्कनमा गोरखा नगरपालिका उत्कृष्ट बन्न सफल भयो। त्यसैगरी म्याग्दीको बेनी नगरपालिका द्वितीय र लमजुङको मध्य नेपाल नगरपालिका तृतीय बनेका छन्।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत गठन गरिएको सर्वेक्षण, अध्ययन, अनुसन्धान तथा समग्र अनुगमन मूल्याङ्कन प्राविधिक कार्य समूहले विभिन्न मापदण्डका आधारमा उत्कृष्ट छनोट गरेको हो। 

प्राविधिक कार्य समूह अन्तर्गतको उपसमितिले विभिन्न मापदण्ड र सूचकका आधारमा उत्कृष्ट अस्पताल र स्वास्थ्य कार्यालय छनोट गरेको उपसमितिका संयोजक रमेशप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार कार्यक्रम र नतिजाका आधारमा उत्कृष्ट छनोट गरिएको हो। 

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत गण्डकीमा प्रदेशस्तरीय कार्यालय छ, स्वास्थ्य कार्यालय ११, अस्पताल ११ र आयुर्वेद कार्यालय ११ गरी ३९ निकाय छन्। 

रासस

Tags: