post-slider post-slider

'कतै चिता जल्दै, कोहि अस्पतालको शय्यामा छटपटाउँदै'

Image

जाजरकोट नलगाड नगरपालिकाको वडा नं १ चिउरी गाउँको फेदमा सधैँजसो ठूली भेरी नदी बगिरहेको छ। नदीको सुसाइसँगै नदी किनारमा चलिरहेको रुवाबासी।

तर नदी किनारमा महिला र बालबालिकासहित १३ जनाको शव लस्करै राखिएको थियो। डाँको छाडेर रोइरहेका केही महिला अचेत हुँदा एम्बुलेन्सले अस्पताल पुर्‍याउनु परेको थियो।

एउटा चितामा छजना र अरूलाई अलगअलग चिता बनाएर अन्तिम बिदाइ गरियो। ती सबै शुक्रवार मध्यरातमा आएको भूकम्पमा परेर ज्यान गुमाउने चिउरी गाउँका थिए।

जो बोल्दाबोल्दै बिते

चिउरीमा १८६ वटा घर छन्। त्यो दलित बस्ती हो। हिरे कामी उनकी श्रीमती र दुईजना सन्तानको मृत्यु भयो।

समयमै उद्धार गर्न सकेको भए हिरे कामीलाई जोगाउन सकिन्थ्यो भन्ने लागेको छ उनका छिमेकी र आफन्तहरूलाई।

“मध्यरातमा गाउँभरि कोलाहल र रुवाबासी मच्चियो, हामी कसैको दिमागले काम गरिरहेको थिएन,” हरिबहादुर चुनारा कहालीलाग्दो रात सम्झिन्छन्, “जब हामी अरूलाई सहयोग गर्न सक्ने भयौँ, हिरे कामी बोल्दै हुनुहुन्थ्यो।”

उनलाई जोगाउने प्रयासमा एक युवक हात्तिराम महर पनि लागेका थिए। उनका अनुसार घरको भग्नावशेषमा थिचिएका हिरे कामीलाई निकाल्न कचौरा, थाल र घरेलु सामानले उनीहरूले खोतल्दै थिए।

“म यता छु भन्नुभयो, हामी गयौँ, मेरो शरीरयता च्यापिएको छ, त्यहाँ नकुल्चनू है भन्दै हुनुन्थ्यो” हात्तिराम महरले आफ्ना नातेदारलाई जोगाउन नसकेको अवस्थाको बयान गरे, “तर उहाँलाई यसरी बिदा गर्नुपर्‍यो।”

आफूजस्तै हिरे कामी पनि भारतमा काम गर्थे। हात्तिराम महरका अनुसार हिरे कामी २-३ दिनअघि मात्रै भारतबाट नेपाल आएका थिए, तिहार मानेर फर्किने योजना थियो।

घाइतेलाई बचाउने चिन्ता

उनकी एक छोरी भने बाँच्न सफल भएकी छन्। बिहे भइसकेकी जेठी छोरी भने सानी बहिनीबाहेक सिङ्गो माइती परिवार गुमाउनुको पीडा सहन नसकी अचेत हुँदा नदी किनारबाट एम्बुलेन्सले उपचारका निम्ति लग्नु परेको थियो। साँझ ढल्किनै लाग्दा चिता निभ्दै गयो। केहीबेरमा शोकमग्न गाउँका बासिन्दा सडक पार गर्दै भग्नावशेष बनेको गाउँतर्फ उकालो लागे।

राहत पाउने आशामा रहेका हरिबहादुर चुनारा भन्छन्, “ओत लाग्ने ठाउँ छैन, राहत सामग्री आउँछ होला।”

भूकम्पबाट जाजरकोटको नलगाड नगरपालिका अति प्रभावितमध्ये पर्छ। त्यहाँ ५२ जनाको मृत्यु भएको नगरपालिकाकी सूचना अधिकारी जुना शाहीले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

जसअनुसार चिउरीका १३ जनासहित उक्त वडा नं १ मा २५ जनाको मृत्यु भएको छ।

तर चिन्ता अब बाँचेकालाई कसरी जोगाउने भन्ने छ। “साना बालबालिकालाई चिसोमा कसरी जोगाउने भन्ने पीर छ,” हात्तिराम महरको चिन्ता छ, “बाहिरै रात काट्नु परेको छ। टेन्ट भइदिए हुन्थ्यो।”

छोरीहरू गुमाएका बुवा अस्पतालमा छटपटाउँदै

ठूली भेरी नदीको पल्लो ढिकमा छ रुकुम पश्चिमको आठविसकोट नगरपालिका।

उक्त नगरपालिकाका बासिन्दा गणेश मल्ल अहिले सुर्खेत वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको शय्यामा उपचार गराइरहेका छन्।

“मेरा दुईजना छोरी रहेनन्” उनले छातीभरिको उकुसमुकुस अत्यास सुनाए, “श्रीमती र छोरा पनि घाइते छन्, कहाँ उपचार भइरहेको छ त्यो पनि थाहा छैन।”

उनलाई हेलिकप्टरमा उद्धार गरेर अस्पताल पुर्‍याइएको हो।

भूकम्प गएको बिहान सबेरैदेखि उक्त अस्पताल पुर्‍याइँदा घाइतेहरूको पहिचान थिएन।

“सुरुमा त हामीले केश-१, केश-२ भन्दै क्रमसङ्ख्या लेखेर उपचार सुरु गर्‍यौँ”, अस्पतालका अर्थोपेडिक सर्जन पदम गिरीले भने, “कतिपयलाई त कपडा नै नभएकाले हामीले नै उपलब्ध गरायौँ।”

उनका अनुसार त्यहाँ करिब ३० जना घाइतेको उपचार भइरहेको छ।

उक्त अस्पतालमा विरेन्द्रनगर वडा नं ५ का सदस्य वासु आचार्य राहत र सहयोगको निम्ति तैनाथ थिए।

उनी जस्तै अन्य राजनीतिक नेता कार्यकर्ताहरू पनि राहत वितरण र सहानुभूति प्रकट गर्न पुगेका भेटिए।

बीबीसी

 

 

Tags: