post-slider post-slider

५२५ को आँखा जाँच गर्दा ७० मा मोतियाविन्दु

Image

खजुरा। बाँकेको राप्तीसोनारी गाउँपालिकामा लागि सञ्चालित निःशुल्क आँखा शिविरमा ५२५ जनाको परिक्षण गर्दा ७० जनामा मोतियाविन्दु देखिएको छ । 

राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती –५, सिसहनिया दाङको प्राविधिक सहयोगमा बुधबार सञ्चालन गरिएको निःशुल्क मोतियाविन्दु छनौट तथा आँखा शिविरमा ५२५ को आँखा जाँच गरिएकोमध्ये ७० जनामा मोतियाविन्दु रोग देखिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए।

बुधबार वडा ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ५ सय २५ जना नागरिकको आँखा जाँच गरिएको छ । जसमध्ये ७० जनामा मोतियाविन्दु रोग पत्ता लागेको छ । 

वडा ८ पेरानी आधारभूत स्वास्थ्य केन्द्रमा २ सय ४५ जनाको आँखा जाँच गरिएको र जसमध्ये ४३ जनामा मोतियाविन्दु देखिएको स्वास्थ्य शाखाका कर्मचारी सुरेशकुमार शर्माले जानकारी दिए। उनका अनुसार वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा २ सय ८० जनाको आँखा जाँच गरिएकोमा २७ जनामा मोतियाविन्दु देखिएको छ ।

त्यसैगरी आज बिहीबार पनि वडा २ को कचनापुर स्वास्थ्य चौकी र वडा ५ को बिनौना स्वास्थ्य चौकीमा निःशुल्क मोतियाविन्दु छनौट तथा आँखा शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।

शिविरमा रोग पत्तालागि छनौट भएका मोतियाविन्दुका बिरामीलाई तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती –५, सिसहनिया दाङ लगेर निःशुल्क रूपमै त्यस्ता बिरामीको शल्यक्रिया गरी उपचार गरिने गाउँपालिकाले जनाएको छ ।

Tags: