post-slider post-slider

विश्वमै पहिलो पटक महिलाको मस्तिष्कमा जिउँदो जुका

Image

अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा विश्वमै पहिलो पटक जिउँदो जुका भेटिएको वैज्ञानिकहरूले बताएका छन्।

उक्त जुका ८ सेन्टिमिटर लामो छ। तार जस्तो देखिने उक्त जुका ती महिलाको टाउकोको शल्यक्रिया गरेर गत वर्ष निकालिएको हो।

मस्तिष्कमा जिउँदो जुका भएकी ती महिलामा अस्वाभाविक लक्षणहरू देखिएका थिए। उनलाई पेट दुख्ने, खोकी लाग्ने र रातको समयमा पसिना आउने जस्ता समस्या देखिएका थिए।

उनमा बिस्तारै बिर्सँदै जाने र डिप्रेसनका लक्षणहरू पनि देखिएका थिए।

रातो रङ्गको उक्त परजीवी ती महिलाको मस्तिष्कमा दुई महिनादेखि बसिरहेको हुन सक्ने चिकित्सकहरूले ठानेका छन्।

अनुसन्धानकर्ताहरूले यो घटनाले जनावरबाट मानिसहरूमा रोग र सङ्क्रमणहरू सर्ने खतरा बढेको सङ्केत गरेको बताएका छन्।

“चिकित्सकले एउटा अस्वाभाविक कुरा निकाल्न चिम्टा उठाउँदा र उनले हल्लिरहेको जिउँदो आठ सेन्टिमिटरको हलुका रातो रङ्गको जुका निकाल्दा शल्यक्रिया कक्षमा रहेका सबैजना झस्किएका थिए,” क्यानबरा अस्पतालका सङ्क्रामक रोगसम्बन्धी डा. सञ्जय सेनानायकले भने।

“यसलाई हामीले छ्या भन्नु एक ठाउँमा होला। यो नयाँ सङ्क्रमण यसअघि मानव जातिमा भेटिएको अभिलेख छैन,” उनले भने।

सागसब्जीबाट सरेको अनुमान
अस्ट्रेलियामा पाइने ‘कार्पेट पाइथन’ नामक एक प्रकारको सर्पमा यस्ता जुकाहरू प्रायःजसो पाइने चिकित्सकहरू बताउँछन्।

वैज्ञानिकहरूका अनुसार तालको छेउमा बस्ने ती महिलाले ताल वरपरको हरियो सागसब्जी खाने क्रममा जुका उनको मस्तिष्कमा पुगेको हुनसक्छ।

अस्ट्रेलियाका परजीवी विज्ञान विज्ञ मेहराब हुसेनले ‘इमर्जिङ इन्फेक्सियस डिजिजेज’ जर्नलमा प्रकाशित आफ्नो लेखमा यो घटनाबारे चर्चा गरेकी छिन्।

उनका अनुसार यस्तो परजीवी पाइने सर्पको बिस्टा वा जुकाको अण्डा भएको साग खाएका कारण महिलाको शरीरमा जुका पुगेको आकलन गरिएको छ।

ती महिला सन् २०२१ को ज्यानुअरी अन्तिममा अस्पतालमा भर्ना भएकी थिइन्।

अस्पतालमा गरिएको स्क्यानका क्रममा मस्तिष्कको अघिल्लो भागमा अस्वाभाविक घाउ देखिएको थियो।

उनी बिरामी पर्नुको रहस्य सन् २०२२ को जुनमा बायोप्सीका लागि चिकित्सकले छुरा चलाएपछि मात्रै खुलेको थियो।

पहिलो घटनाले देखाएको जोखिम
चिकित्सा विज्ञानमा नयाँ इतिहास बनाएकी उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताइएको छ।

“मानिसको मस्तिष्कमा जुकाको लार्भा यसरी सङ्क्रमण गरेको घटना यसअघि आएको थिएन,” डा. हुसेनले लेखेकी छिन्।

“मानिसको शरीरमा तेस्रो चरणसम्मको लार्भा विकसित भएको घटना उल्लेखनीय छ। किनभने यसअघिका परीक्षण अध्ययनहरूमा भेडा, कुकुर र बिराला जस्ता घरपालुवा जनावरमा लार्भाको विकास भएको पाइएको थिएन।”

अस्ट्रेलियन न्याश्नल विश्वविद्यालयमा चिकित्साका प्राध्यापक समेत रहेका डा. सेनानायकले उक्त घटना मानिसहरूका लागि चेतावनी भएको बताए।

उक्त विश्वविद्यालयका अनुसार पछिल्ला ३० वर्षमा ३० प्रकारमा नयाँ सङ्क्रमण देखापरेका छन्।

तीमध्ये तीन चौथाइ रोग जनावरबाट मानिसमा सरेका सङ्क्रमणका कारण भएका छन्।

“मानिसहरूको जनसङ्ख्या बढे जसरी नै यो देखा पर्ने क्रम पनि बढिरहेको छ। हामी जनावरहरूको वासस्थान नजिक मात्रै गएका छैनौँ त्यसलाई अतिक्रमण पनि गरिरहेका छौँ,” उनले भने।

“चाहे त्यो जङ्गली चमेराबाट सुँगुर हुँदै मानिसमा सरेको निपा भाइरस होस् वा सार्स वा मेर्स जस्तो चमेराबाट अर्को जनावरमा त्यसपछि मानिसमा सरेको हुनसक्ने ठानिएको कोरोनाभाइरस नै किन नहोस्।”

“कोभिड बिस्तारै कमजोर हुँदै गए पनि महामारी निम्त्याउने रोगसम्बन्धी विशेषज्ञहरू… र सरकारहरूले सङ्क्रामक रोग निगरानी बढाउनुपर्ने ठूलो जरुरी भएको छ।”

बीबीसी

 

Tags: